+
+
Shares

डोटी छतिवन स्वास्थ्य चौकी :अब्बल संरचना बन्यो, उपकरणको पर्खाइ

संरचना राम्रो बनेको छ, अब उपकरणहरूको खाँचो छ । स्वास्थ्य उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ- स्वास्थ्य चौकीका इन्चार्ज शंकरदत्त जोशी

रामहरि ओझा रामहरि ओझा
२०८३ साउन २३ गते १९:३०

२१ साउन, डोटी । चारैतिर घेरबार, एउटा फलामे गेट, गेटभित्र प्रवेश गर्दा आकर्षक बगैँचा, बगैँचामा हरियो दुबो र अनेक प्रजातिका फुलहरू ।

त्यहीँ भित्र छन्, चिटिक्कका तीन भवन, पानीका धारा र सफासुग्घर प्रतीक्षालय ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा निर्माण भएको यो संरचना छतिवन स्वास्थ्य चौकीको हो । जर्मन सरकारको सहयोगमा निर्माण भएका यी संरचना करिब तीन रोपनीमा फैलिएका छन् ।

त्यहीँभित्र एम्बुलेन्स पार्किङको व्यवस्था, आपत्कालीन अवस्थामा भेला हुने ठाउँ, पम्प हाउससहितका संरचना पनि छन् ।

छतिवन स्वास्थ्य चौकीका इन्चार्ज शंकरदत्त जोशीका अनुसार यी संरचना माघ ९ गतेदेखि सञ्चालनमा आएका छन् ।

‘संरचना राम्रो बनेको छ, अब उपकरणहरूको खाँचो छ’, जोशी भन्छन् ‘स्वास्थ्य उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।’

इन्चार्ज जोशी ती संरचना मुख्य रूपमा प्रसुति सेवालाई गुणस्तरीय बनाउन निर्माण गरिएको बताउँछन् । ‘प्रसुति कक्ष, प्रसुतिपश्चात राख्ने वार्ड र स्टाफहरूका लागि निवास पनि निर्माण भएका छन्,’ उनले भने ।

छतिवन स्वास्थ्य चौकी जोरायल गाउँपालिका–२ बासीलाई लक्षित गरेर स्थापना भएपनि यहाँ भौगोलिक सहजताका कारण डडेलधुराको आलिताल गाउँपालिका, कैलालीको चुरे गाउँपालिका र जोरायल गाउँपालिका–१ का बासिन्दाहरू समेत सेवा लिन आउँछन् ।

भौतिक पूर्वाधार राम्रा बनेकाले अब त्यसअनुरूपका उपकरण र जनशक्ति पनि उपलब्ध भए स्वास्थ्य सेवा विस्तार गर्न सकिने र सेवाग्राहीलाई बढीभन्दा बढी लाभ दिन सकिने अवस्था रहेको इन्चार्ज जोशी बताउँछन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?