News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको सिड्नी शहरमा पछिल्ला वर्षहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति बढेको छ र उनीहरू त्यहाँ आफ्नो सुनौलो भविष्य कोर्ने प्रयत्नमा छन् ।
- सिड्नीमा बसोबास गर्ने नेपालीहरू पढाइ, रोजगारी, स्थायी बसोबास र नागरिकता प्राप्त गर्नका लागि कठिन सङ्घर्ष र व्यस्त जीवन बिताइरहेका छन् ।
- व्यवस्तता र सङ्घर्षका बाबजुद पनि सिड्नीवासी नेपालीहरूले आफ्नो संस्कार, संस्कृति र आपसमा भाइचाराको सम्बन्धलाई निकै बलियो ढङ्गले जीवन्त राखेका छन् ।
अस्ट्रेलियाको सबैभन्दा ठूलो, व्यस्त र घनावस्ती भएको शहर हो सिड्नी । यहाँका गगनचुम्बी भवन, ओपेरा हाउस, हार्बर ब्रिज, व्यस्त बजार र चिल्ला गाडी गुडिरहेका फराकिला सडकहरूले सबैलाई लोभ्याउँछ । यहाँको आधुनिक तर तीव्र गतिको जीवनशैली देख्दा लाग्छ, मानिसलाई उभिने फुर्सद छैन । पढाइ, काम, मनोरञ्जन, आराम, परिवार, साथी आदिमा हिसाब गरी गरी समय व्यवस्थापन गर्नुपर्ने बाध्यता छ यहाँका बासिन्दालाई ।
आधुनिकता, अवसर र व्यस्तताको यो महासागरभित्र पछिल्ला वर्षहरूमा नेपाली समुदायको बलियो र जीवन्त उपस्थिति थपिएको पाएँ । र, मलाइ लाग्यो- सिड्नी अब नेपालीहरूका लागि विदेश र पराइ घर मात्र रहेन, यो त आफ्नै सन्तानको कर्मभूमि र भविष्य हुन पुग्यो ।
मेरा छोरा-बुहारी करिब ५ वर्षदेखि उतै छन् । गएको असारमा नातिनीको पास्नीमा भाग लिन म अस्ट्रेलिया गएको थिएँ । १५ दिनको बसाइमा सिड्नीका सडकदेखि क्यानबेराका थकाली होटेलसम्म पुग्न भ्याएँ । त्यही अवधिमा मैले देखेका, भोगेका, सुनेका र अनुभूत गरेका नेपालीहरूको अस्ट्रेलियन जीवनको बारेमा लेख्दैछु ।
करिब ११ वर्ष अगाडि अस्ट्रेलिया जाँदा नेपालीको उपस्थिति यो मात्रामा पाएको थिइनँ । सिड्नीको दौडने भिडमा अस्ट्रेलियनपछि भारतीयहरू बढी भेटेको थिएँ । तर यो पटक सडकमा गुड्ने मेट्रोमा होस् या बसमा, तरकारी पसलमा होस् या सुपरमार्केटमा, आराम गर्ने पार्कमा होस् या सडकका भिडमा मैले नेपाली अनुहार बाक्लै देखेँ ।
ती अनुहारहरू केवल म जस्ता छोटो अवधिको समय लिएर आएका अधबैँसे आगन्तुक थिएनन् । तिनीहरू त सिड्नीको माटोमा आफ्नै पसिनाको रङ भर्दै सुनौलो भविष्य कोर्न आइपुगेका नेपाली युवायुवतीहरू थिए ।

सिड्नीको सेन्ट्रल स्टेसन वा नेपालीहरूको मुख्य केन्द्र मानिने रकडेल, ऐसफिल्ड, र बर्नवुड जस्ता क्षेत्रका सडकमा हिँड्दा लाग्थ्यो, म अस्ट्रेलियामा होइन, नेपालकै कुनै आधुनिक शहरमा हिँडिरहेको छु । सडकको पेटीमा हिँड्दा वा रातो बत्तीमा उभिँदा सुनिने नेपाली भाषाका मिठा शब्दहरू, चोकचोकका नेपाली रेस्टुरेन्टबाट आउने म:म र थकाली खानाको सुगन्धले सात समुद्रपारिको भूगोललाई पनि क्षणभरमै आत्मीय बनाइदिँदो रहेछ ।
सिड्नीका रेस्टुरेन्टहरूमा कतै खुकुरी, कतै लालीगुराँस, कतै हिमाल, कतै डाँफे त कतै फहराइरहेको नेपाली झन्डाको तस्वीर अंकित देखिए । रेस्टुरेन्टमा चिया-कफी पिउँदै गर्दा मलाई एकाएक आफ्नो देशको हिमाली काखमा पुगेझैँ शीतल महसुस भयो । छाती गर्वले चौँडा भयो । सिड्नीका यी क्याफेहरूमा नेपाललाई जीवन्त राख्ने ती सञ्चालकहरूप्रति नमन । पढाइ र रोजगारीका लागि विदेशिएका नेपालीले राष्ट्र र राष्ट्रियतालाई छातीमा टाँसेको त्यो दृश्य अविस्मरणीय भएर मभित्र बसेको छ ।
सिड्नीका सडकहरूमा भेटिने नेपाली मनहरूका विविध रूप र कथाहरू छन् । कतै पिठ्युँमा गरुङ्गो झोला बोकेर हातमा कफी समाउँदै कलेजतिर दौडिरहेका विद्यार्थी भेटिन्छन् । कतै लञ्चको लागि झोलामा खाना राखेर काममा हिँडेका तन्नेरीहरू भेटिन्छन् । कोही जीउ तन्काउन हिँडेका म जस्ता अधबैँसेहरू नाति-नातिनीको हेरचाह गर्न छोटो समयका लागि अस्ट्रेलिया आएका अभिभावक हुन्छन् ।
ती सबैका आँखामा सुन्दर भविष्यको सपना देखेँ मैले । भरखर पढ्न आएकाहरूको सपना हुँदो रहेछ- समयमा पढाइ सक्ने, त्यसपछिको अस्थायी भिसामा मज्जाले काम गर्ने र कमाउने साथै स्थायी बसोबासको लागि प्रयास गर्ने । पढाइ सकेर अस्थायी बासिन्दाको भिसामा बसेकाहरू सकेसम्म चाँडो स्थायी बसोबासको प्रमाण लिने सोचमा हुँदारहेछन् । जसले स्थायी बसोबासको अधिकार पाइसकेको छ, ऊ अस्ट्रेलियन नागरिक हुन लालयित हुँदो रहेछ । म जस्ता नातिनीको धरालो लाग्न आउनेको सपना छोरा-बुहारीको खुसी तथा नातिनीको छुनुमुनु र मुस्कान हेर्ने हुँदोरहेछ ।

भरखर जानेहरूमा पढाइ, स्थायी बसोबास र नागरिक हुने सपना छ भने नागरिक भइसकेकाहरूको सपना भिन्नै छ । उनीहरूमा घर-घडेरी जोड्दा, गाडी किन्दा, सन्तान पढाउँदा बैंकबाट लिएको ऋणको किस्ता चुक्ता गरेर निर्धक्कसँग अस्ट्रेलियन नागरिक भएर बस्ने सपना छ । एकाध व्यक्ति यस्तो पनि भेटेँ कि, सन्तान आफ्नै कमाइमा उभिने भएपछि नेपाल फर्कने भन्छन् उनीहरू । मलाइ विश्वास कम छ- बुढेसकालमा एक्लो जीवन बिताउन को नेपाल फर्केला र ?
नेपालबाट अस्ट्रेलिया आउँदै गर्दा देखेको सपना साकार पार्न कम संघर्ष गरेका छैनन् यी नेपालीले । दिनभरिको पढाइ अनि रातभरिको काम, कहिले त सुत्ने समयसम्म नभएर कयौं दिन रेलमा निद्रा मारेको छु भन्ने युवा पनि भेटेँ मैले । सडकमा हिँडिरहँदा प्रशस्तै अनुभव गरेँ, पढाइ वा काम सकेर घर फर्किरहेका नेपालीहरू जब सडकमा एकअर्कालाई देख्छन्, तब अपरिचित नै भए पनि आत्मीय मुस्कान साटासाट गर्दारहेछन् । मलाइ लाग्यो- त्यो मधुर मुस्कानमा म पनि नेपाली हुँ, मैले तिम्रो सपना र सङ्घर्ष बुझेको छु भन्ने गहिरो ऐक्यबद्धता पक्कै लुकेको छ ।

नातिनीको पास्नीको तयारीको क्रममा छोरा-बुहारीलाई नेपाली समुदायले गरेको सहयोगबाट मैले थाहा पाएँ- नेपालीपनको सुन्दरता केवल अनुहार, भाषा वा मुस्कानमा मात्र सीमित छैन । यो त उनीहरूको आत्मीय भावनामा झल्किन्छ र सहयोगी हातहरूमा देखिन्छ । यहाँको नेपाली समुदाय दुःखसुखमा एकजुट रहेको पाएँ ।
व्यस्तताका बाबजुद पनि दुःखमा साथ दिन नेपालीहरू तँछाडमछाड नै गर्दा रहेछन् । कोही दुर्घटनामा परोस् वा बिरामी भएर अस्पताल भर्ना होस् त्यहाँ नेपालीको भिड नै लाग्छ रे । छोरो भन्दै थियो, ‘त्यति मात्र होइन बुबा, नयाँ आउने नेपाली विद्यार्थीलाई काम खोज्न र शहरसँग घुलमिल हुन हामी अनुभवी नेपालीहरू सधैँ तत्पर रहन्छौँ ।’
नातिनीको पास्नीमा छोरा-बुहारीले हाम्रो कुलको संस्कार, मूल्य र मान्यतालाई जीवन्त राखेको पाउँदा साह्रै खुसी लाग्यो । भोजमा सहभागी कतिपय नेपाली चेलीहरूले चौबन्दी चोलो र सारीमा सजिएको देख्दा लाग्यो- म कतै काठमाडौंकै भोजमा सरिक छु ।

सिड्नीको व्यस्त र पाश्चात्य जीवनशैलीका बाबजुद पनि नेपालीले आफ्नो संस्कार, संस्कृति र चाडपर्वलाई बिर्सिएका रहेनछन् । सिड्नीका रेस्टुरेन्ट, सडक र हलहरूमा उत्तिकै जीवन्त राखेका छन् । दशैँ, तिहार र तीजका बेला नेपाली पोसाकमा सजिएर सिड्नीका सडकमा हिँड्ने नेपालीले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई साँच्चै सप्तरङ्गी बनाइदिएका छन् ।
तर, नेपाली युवा-युवतीसँग सघन र अन्तरङ्ग गफ र छलफल हुँदै गर्दा थाहा पाएँ, सिड्नीका सडक, रेस्टुरेन्ट र क्याफेहरू नेपालीका लागि सधैँ रमाइला मात्र हुँदैनन्, कहिलेकाहीँ सिड्नीको चिसो सिरेटो चल्दा सडकको भिडमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी र कोही आफन्त नभेट्दा एक्लोपनको महसुस गर्छन् उनीहरू ।
काम वा पढाइबाट थकित भई घर फर्किएर पनि भान्सा आफैँले सम्हाल्नु पर्दा नेपालमा पढाइबाट फर्केर ढोकाभित्र पस्न नपाउँदै आमाले खाजा दिएको सम्झेर भक्कानो फुट्ने कुरा सुन्दा कताकता नरमाइलो लाग्यो । चाडबाडका बेला घरको यादले सताउँदा वा कामको थकाइले लखेट्दा यिनै सडकका किनारामा बसेर गहभरि आँसु पारी आमाबुबालाई भिडियो कल गरिरहेका नेपालीहरू प्रसस्तै भेटिन्छन् अस्ट्रेलियामा ।
परदेशको जीवन कति सङ्घर्षपूर्ण छ भन्ने कुरा गफका दौरान सिड्नीवासीले सुनाएका तीन सन्दर्भबाट प्रष्ट हुन्छ ।
पहिलो- मैले छोरालाई भनें, नातिनी ६ महिनाकी भइहालिन् । अब एक वर्षपछि प्रारम्भिक बालविकासमा भर्ना गरे भइहाल्यो नि । उसको उत्तर थियो- त्यति सजिलो कहाँ छ र । दिनको १८० अस्ट्रेलियन डलर तिर्नु पर्छ ।

दोस्रो- म एक जना साथीको घर गएको थिएँ । उसका २ वटा घर देखेर भनें- तिमी त धेरै धनL भएछौ । उसले तुरुन्तै जवाफ फर्कायो- यी मेरा घर होइनन्, दुइटै घर बैङ्कका हुन् ।
तेस्रो- एक जना विद्यार्थीको गुनासो थियो, सिड्नीमा कोठको भाडा तिर्न नसकिने भयो । अब अलि पर गाउँतिर सर्ने विचारमा छु । उनले थपे- कलेजको शुल्क पनि तिर्ने बेला भयो । पुग्ने रकम जम्मा गर्न सकेको छैन । घरमा कसरी भन्ने, बुबाले पहिलेकै सापटी तिर्न सक्नु भएको छैन । दोधारमा परेको छु ।
सिड्नी निवासी धेरै नेपालीका मनका बेथा र कथा हुन् यी । तर पनि उनीहरू सहासी सुनिन्थे र हिम्मत हारेका छैनौँ भन्थे । मलाई लाग्यो, भविष्यप्रति आशावादी रहेर परिस्थितिअनुसार सङ्घर्ष गर्दै अगाडि बढेका छन् सिड्नीवासी नेपाली ।
अपवादका रूपमा जीवनदेखि बिरक्तिएर, घरपरिवारबाट आश मारेर अब भविश्य छैन भन्दै काम पढाइ र नियमित कर्म सबै छोडेर सडकका पेटीहरूमा टहलिएका नेपाली पनि भेटिए । उनीहरू नेपालमा आमाबुवासँग पनि सम्पर्क गर्दैनन् रे । यस्ता व्यक्तिलाई सकेसम्म उद्धार र सहयोग गर्ने परम्परा रहेछ सिड्नीवासी नेपालीमा ।
मैले भेटेका सिड्नीवासी नेपाली कसैलाई पनि ढुक्क र निश्चिन्त भने पाइनँ । कसैमा स्थायी बसोबास वा अस्ट्रेलियन नागरिक हुने चिन्ता छ भने कसैलाई पढाइ, काम र कमाइको चिन्ता छ । राम्रो काम कमाइ र स्थायी बसोबासको निस्सा वा अस्ट्रेलियन नागरिक भइसकेकाहरू पनि ढुक्क भने सुनिएनन् । उनीहरूको मनमा कयौँ युरोपियन देशमा आप्रवासीविरुद्ध जनअन्दोलनका कारण ती देशले कडा आप्रवासन नीति अपनाएझैँ अस्ट्रेलियामा यस्तै केही भयो भने के गर्ने होला भन्ने चिन्ता छ ।
अन्त्यमा,
मलाइ लाग्यो- सिड्नीका सडकहरूमा भेटिने नेपाली मनहरू नेपाल र अस्ट्रेलिया जोड्ने बलियो पुल हुन् । उनीहरूले अस्ट्रेलियाको विकास र समृद्धिमा आफ्नो ज्ञान, सिप र श्रम त खर्च गरेकै छन् । साथै नेपालीपनको आत्मीयता, इमानदारिता तथा नेपाली मूल्य, मान्यता र संस्कारलाई पनि फैलाइरहेका छन् ।
सिड्नीको भिड र व्यस्तताभित्र ढुकढुक गरिरहेका सङ्घर्षशील तर कोमल यी मनहरू नेपाली अवैतनिक राजदूतहरू हुन्, जसले आफ्नो देशलाई मुटुमा सजाएका मात्र छैनन् अस्ट्रेलियनलगायत विभिन्न देशका नागरिकलाई नेपाल र नेपालीको चिनारी पनि त्यत्तिकै मात्रामा गराइरहेका छन् ।
प्रतिक्रिया 4