News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासी र संघर्ष समितिले मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।
- स्वास्थ्यमन्त्री निशा मेहताले लाहानमा ट्रमा सेन्टर बन्ने बताएपछि स्थानीय आन्दोलित भएका हुन् भने भोलिबाट राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
- मेयर महेन्द्र महतोले जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको बताउँदै सरकारसँग ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्ने आधिकारिक निर्णयको माग गरेका छन् ।
२४ साउन, जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै मसाल जुलुस निकालेर विरोध जनाइएको छ । ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको सहभागितामा ढल्केबर बजारमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
जुलुसमा सहभागीले ढल्केबरमै ट्रमा सेन्टर कायम गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
गत शुक्रबार प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरिएको थियो । बुधबार सदनमा स्वास्थ्यमन्त्री निशा मेहताले लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको हो।
आन्दोलनको कार्यक्रमअन्तर्गत भोलि ढल्केबरमा पूर्व-पश्चिम राजमार्ग आधा घण्टा चक्काजाम गर्ने बताइएको छ। यस्तै साउन २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको कार्यक्रम रहेको संघर्ष समितिका संयोजकसमेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मेयर महतोले बताए ।
बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो फेसबुक पेजमार्फत ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारिसकेकी छन् । स्थानीयले यसबारे सरकारको आधिकारिक धारणाको माग गरेका छन् ।
प्रतिक्रिया 4