+
+
Shares

हायर पर्चेज कम्पनीका संस्थापकको ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य, लाइसेन्स अवधि १० वर्ष

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका संस्थापक तथा सञ्चालकका लागि फिट एन्ड प्रपर टेस्ट अनिवार्य गरेको छ ।
  • केन्द्रीय बैंकले हायर पर्चेज कर्जासम्बन्धी नीतिमा छैटौं पटक संशोधन गर्दै ब्याजदर निर्धारणमा कोषको लागतलाई आधार मान्ने व्यवस्था गरेको छ ।
  • संशोधित व्यवस्थाअनुसार कम्पनीहरूले अब वासिङ मेसिन र भ्याकुम क्लिनरजस्ता विद्युतीय उपकरणमा पनि किस्ताबन्दी कर्जा प्रवाह गर्न सक्नेछन् ।

२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका संस्थापक तथा सञ्चालकको पनि ‘फिट एन्ड प्रपर टेस्ट’ अर्थात् उपयुक्तता र योग्यता परीक्षण सुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाका संस्थापकका लागि गर्दै आएको परीक्षण चालु आर्थिक वर्ष देखि हायर पर्चेज कम्पनीको हकमा पनि लागु भएको हो ।

बैंकले यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाका संस्थापक/सञ्चालकका लागि ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य गरेको थियो । चालु आवदेखि हायर पर्चेज कम्पनीका संस्थापक तथा सञ्चालकको फिट एन्ड प्रपर टेस्ट नगरेसम्म अनुमतिपत्र नवीकरण नहुने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई छैठौं पटक संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार ऋण लिने र कर्जा दिने ब्याज अन्तर ४ प्रतिशतसम्म मात्र हुन पाउने व्यवस्था हटाइ फन्डको लागतमा २ प्रतिशत थप लिन सकिने व्यवस्था गरिएको छ । त्यसैगरी हायर पर्चेज अन्तर्गत वासिङ मेसिन, भ्याकुम क्लिनर र डिस वासरलाई पनि समेटिएको छ ।

हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यावसायिक वा घरायसी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिस वासर जस्ता विद्युतीय उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता लिने गरी ऋण उपलब्ध गराउनु हो । सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि मात्रै स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी सम्झनु पर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति प्रदान गर्दा सो संस्थाका प्रस्तावित संस्थापक सेयरधनी/सञ्चालकहरुको फिट एन्ड प्रपर टेस्टपछि मात्र स्वीकृति प्रदान गरिनेछ,’ व्यवस्थामा उल्लेख छ, ‘हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक दश आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्तसम्म नवीकरण गरी सक्नु पर्नेछ ।’ नवीकरणको लागि २ लाख दस्तुर लाग्नेछ । अनुमतिपत्र नवीकरण गर्दा समेत फिट एन्ड प्रपर टेस्ट अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने संशोधति व्यवस्थामा उल्लेख छ । तर सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनको ऋण मूल्यको अनुपात बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशन अनुरूप नै हुनेछ ।

हायर पर्चेज कर्जा दिने कम्पनीले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्दा कोषको लागतलाई आधारको रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ । स्वपूँजीको लागत र ऋणबाट प्राप्त कोषको भारित लागतलाई आधारको रुपमा लिनुपर्नेछ । कम्पनीले ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्नुपर्नेछ । यसरी ब्याजदर निर्धारण गर्दा सो को जानकारी ३ दिनभित्र केन्द्रीय बैंक सुपरिवेक्षण विभागलाई जानकारी दिनु पर्नेछ । ग्राहकहरुलाई प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा प्रकाशित ब्याजदरमा २ प्रतिशतभन्दा बढी थपघट गर्न पाइने छैन ।

यसभन्दा अघि कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था थियो । यो व्यवस्था छैटौं संशोधनबाट हटाइएको केन्द्रीय बैंकले जनाएको छ ।

हायर पर्चेज कम्पनीले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत स्वीकृत कर्जाको अधिकतम १ प्रतिशत रकमसम्म मात्र ग्राहकसँग लिन पाउनेछन् । तर, कम्पनीले आफ्ना ग्राहकलाई आवश्यकता अनुसार अन्य संस्था/निकाय मार्फत सेवा लिने सन्दर्भमा लागत भन्दा बढी नहुने गरी सेवा शुल्क असुल गर्न बाधा पर्ने छैन । यो व्यवस्था जारी भएपछि प्रवाह भएका कर्जामा यस्तो ब्याजदर लागु हुनेछ ।

हायर पर्चेज कम्पनीहरूले केन्द्रीय बैंकमा रिपोर्टिङ गर्नु पर्ने व्यवस्था समेत परिवर्तन भएको छ । हायर पर्चेज कम्पनीले कारोबारको विवरण त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेश गर्नुपर्छ । उपभोग भएको कर्जाको विवरण, प्रवाह गर्ने संस्था र ब्याजदर समेत केन्द्रीय बैंकमा बुझाउनु पर्ने हुन्छ । त्यसैगरी कुल प्रवाह भएको ऋण, संख्या र कर्जा नोक्सानी व्यवस्थाको विवरण पनि केन्द्रीय बैंकमा पेश गर्नु पर्छ । साथै ठूला ३० ऋणीको विवरण सहित कुल संख्या र रकम, बहु–ब्राण्डमा लगानी भएको रकम र संख्या, वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण र वित्तीय परिसूचक सम्बन्धी विवरण केन्द्रीय बैंकमा पेश गर्नु पर्नेछ ।

हायर पर्चेज कम्पनीले एकभन्दा बढी कम्पनी (बहु–ब्रान्ड) बाट उत्पादित सवारी साधन, मेसिनरी, औजार, उपकरणमा अनिवार्य रुपमा लगानी गर्नुपर्नेछ । सो सम्बन्धी जानकारी आफ्नो वेबसाइटमा समेत प्रकाशन गर्नुपर्नेछ ।

यस्ता कम्पनीले सम्पर्क कार्यालय आवश्यकताअनुसार खोल्न सक्छन् । यसरी सम्पर्क कार्यालय खोलेको १५ दिनभित्र सोको जानकारी राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागलाई दिनुपर्छ । कम्पनीले सम्पर्क कार्यालयहरुको विवरण आफ्नो वेबसाइटमा समेत अद्यावधिक गर्नुपर्छ ।

हायर पर्चेज कम्पनीको २५ प्रतिशतभन्दा बढी सेयर लिएका व्यक्तिको मृत्यु भएमा वा प्रचलित कानुनबमोजिम पारिवारिक अंशबण्डा भएमा प्रचलित कानुनको रित पुर्‍याइ निजहरुको हकदार वा निजहरुले इच्छाएको व्यक्तिको नाममा नामसारी गरी १५ दिनभित्र सम्बन्धित सुपरीवेक्षण विभागलाई जानकारी दिनुपर्नेछ । कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको सेयर खरिद/बिक्री वा नामसारी गरेको १५ दिनभित्र सम्बन्धित सुपरीवेक्षण विभागलाई जानकारी दिनुपर्नेछ ।

२१ वर्ष उमेर पूरा नभएको, बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको, ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको, प्रचलित कानून बमोजिम कर तिर्नुपर्ने दायित्व भई त्यस्तो कर चुक्ता नगरेको परीक्षण संस्थापक/सञ्चालकको फिट एन्ड प्रपर टेस्टमा हुनेछ ।

नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाई त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष नपुगेको, भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको विषयमा पनि परिक्षण गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले निलम्वन गरेको व्यक्तिको हकमा निलम्वन अवधिभर र कारबाहीको हकमा कारबाही भएको मितिले ३ वर्ष नपुगेको तथा व्यवस्थापन केन्द्रीय बैंकले नियन्त्रणमा लिई निलम्वन वा विघटनमा परेको संस्थाको हकमा त्यस्ता संस्था/सदस्यहरु त्यस्तो निलम्वन/विघटन परेको मितिले ३ वर्ष नपुगेको व्यक्ति संस्थापक र सञ्चालक बन्न योग्य हँुदैन । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरी असुलीको क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्ति हायर पर्चेज कर्जा दिने कम्पनीको संस्थापक/सञ्चालक हुन पाउने छैन ।

त्यसैगरी जालसाजी, बैंक तथा वित्तीय संस्थाको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित भएमा त्यस्तो व्यक्ति हायर पर्चेज कर्जा दिने कम्पनीको संस्थापक/सञ्चालक हुन सक्ने छैन । प्रचलित कानुन बमोजिम दामासाहिमा परेको व्यक्ति संस्थापक/सञ्चालक हुन सक्ने छैन ।

संस्थापकहरूले कम्पनीमा लगानी गर्न प्रस्ताव गरेको रकमलाई मूल्याङ्कन गर्दा निजको वित्तीय अवस्थाले कम्पनी सञ्चालनको लागि आवश्यक परेमा निजले गरेको लगानीको अनुपातमा थप पूँजी लगाउन सक्ने क्षमता हुनुपर्छ । प्रस्तावित संस्थाको संस्थापकमा नेपाल धितोपत्र बजारको बजार निर्माता वा धितोपत्र दलाल हुन सक्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?