+
+
Shares

सर्वोच्च भन्छ- डिम्ब ननिकाल्नू, तर निरन्तर झिकिँदैछ किशोरीको डिम्ब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डेद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतको आदेशलाई उद्धृत गर्दै डिम्ब निकाल्ने काम नगर्न भनिएको छ । तर मन्त्रालय अहिले आफैंले गरेको पत्राचारमा बेखबर छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ साउन २८ गते ७:०९
प्रतिकात्मक तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतको आदेश र स्वास्थ्य मन्त्रालयको परिपत्रविपरीत आईभीएफ सेन्टरहरूले महिला तथा किशोरीको डिम्ब निकाल्ने र भण्डारण गर्ने कार्य जारी राखेका छन् ।
  • किशोरीको डिम्ब तस्करी प्रकरणमा मुछिएकी डा. नुतन शर्मा जिल्ला प्रहरी परिसर ललितपुरमा बयान दिएपछि हाजिरी जमानीमा रिहा भएकी छिन् ।
  • पीडित युवती र आईभीएफ सेन्टरबीच बिचौलियाको भूमिका निभाउने राधिका गोतामे र डा. शर्माबीच आर्थिक लेनदेन भएको प्रमाणसमेत फेला परेको छ ।

२७ साउन, काठमाडौं । ‘प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म महिला तथा बालिकाबाट डिम्ब निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाउन अन्तिरम आदेश प्राप्त भएकाले सोहीअनुसार गर्नू/गराउनू हुन आदेशानुसार जानकारी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ फागुनमा ‘निर्णय कार्यान्वयनका सम्बन्धमा’ भन्दै सबै आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पठाएको पत्रमा प्रष्ट रूपमा डिम्ब निकाल्ने तथा भण्डारण गर्ने काम नगर्न भनेको छ ।

मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डेद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतको आदेशलाई उद्धृत गर्दै डिम्ब निकाल्ने काम नगर्न भनिएको छ ।

किशोरीको डिम्ब निकालेको पाइएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटको सन्दर्भमा अन्तरिम आदेश दिँदै सर्वोच्चले किशोरीको मात्रै नभएर उमेर पुगेका महिलाको समेत डिम्ब ननिकाल्न भनेको थियो । त्यसपछि उक्त रिटको अन्तिम टुंगो नलागेसम्म बालिका तथा महिलाको डिम्ब निकाल्ने काम नगर्न भन्दै आईभीएफ सेन्टरहरूलाई पत्राचार भएको थियो ।

पत्राचारमा उल्लेख भए जस्तै अहिले यो रिटको अन्तिम फैसला भएर डिम्ब निकाल्ने काम आईभीएफ सेन्टरहरूले गरेका भने होइनन् ।

डिम्बको विषयमा परेको रिटमा अहिलेसम्म १२ पटक पेसी तोकिएको छ । तर फैसला भने भएको छैन । पछिल्लो पटक १८ जेठ २०८३ मा पेसी परेको थियो । अर्को पेसी अब १५ भदौका लागि तोकिएको छ । यो मुद्दाको फैसला हुन बाँकी रहेको अवस्थामा आईभीएफ सेन्टरले भने सर्वोच्च अदालत र मन्त्रालयको निर्देशनविपरीत अवैध रूपमा डिम्ब निकाल्ने, भण्डारण गर्ने काम गरेको पाइएको छ ।

डिम्बमा अहिले प्रत्यक्ष जोडिएकी पात्र हुन् डा. नुतन शर्मा । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ डा. शर्माले अहिले उमेर पुगेका महिलाको मात्रै होइन, किशोरीको समेत डिम्ब निकालेको पीडितले बताएकी छिन् । जबकि, सर्वोच्चको आदेशअनुसार अहिले कोशोरीको मात्रै होइन उमेर पुगेका महिलाको समेत डिम्ब निकाल्न मिल्दैन ।

डिम्ब निकाल्ने जस्तो संवेदनशील घटनामा जोडिएकी उनै डा. शर्मा भने बयान दिएर सुटुक्क छुटेकी छिन् । १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरले गत बिहीबार बयान लिएको थियो ।

परिसरका एसपी गौतम मिश्रका अनुसार गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा शर्माको बयान भएको थियो । उनी बिहीबार सुटुक्क परिसरमा उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरीले सरकारी वकिल कार्यालय पु‍र्‍याएको थियो । त्यहीं उनको बयान भएको प्रहरीले बताएको छ । बयानमा शर्माले कानुन विपरीतको काम नगरेको दाबी गरेकी थिइन् ।

फाइल तस्वीर

‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा. शर्माको दाबी थियो । बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि प्रहरीले उनलाई छाडेको थियो ।

जबकि, डा. शर्माले कानुनअनुसार नै काम भएको बताए पनि त्यो काम भने कानुनअनुसारको थिएन । अहिले किशोरीको मात्रै नभएर कोही कसैको पनि डिम्ब निकाल्न पाइँदैन ।

डिम्ब ननिकाल्न भन्दै स्वास्थ्य मन्त्रालय पत्राचार गरे पनि डिम्ब निकाल्ने क्रम भने नरोकिएको यो घटनाले पनि पुष्टि भएको छ । यस विषयमा अनलाइनखबरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीसँग सम्पर्क गर्दा उनले स्पष्ट उत्तर दिएनन् ।

डिम्ब दानका बारेमा मन्त्रालय अहिले कानुन निर्माणको काममा लागेको बताएका अधिकारीले मन्त्रालयकै निर्देशनविपरीत डिम्ब निकालिँदा किन कारबाही गरिएन भन्ने प्रश्नमा भन्दै उनी पन्छिए ।

‘हामी कानुन बनाउने काममा छौं । कानुनविपरीत देखिए कारबाही हुन्छ,’ प्रवक्त अधिकारीले रेडिमेट जवाफ दिए ।

जबकि, अहिले डिम्ब निकाल्नै नपाइने मन्त्रालयकै परिपत्र छ । त्यसपछि डीएण्डबी अस्पतालको आईभीएफमा डा. नुतन शर्माले डिम्ब निकालेको भन्ने विषयमा प्रश्न गर्दा उनले फेरि दोहोर्‍याए, ‘कानुन नहुँदा समस्या भएको हो । कानुन निर्माणको काममा छौं ।’

डा. शर्मासँगै डिम्ब तस्करी प्रकरणमै प्रहरीले राधिका गोतामे नाम गरेकी युवतीलाई पक्राउ गरेको थियो । उनै गोतामेलाई समेत सरकारी वकिल कार्यालयको निर्देशनअनुसार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको थियो ।

गोतामले पीडित युवती र आईभीएफ सेन्टरको बीचमा बसेर बिचौलियाको काम गरेको आरोप छ । बिचौलिया गोतामे र डा. शर्माबीच आर्थिक लेनदेन भएको प्रमाणसमेत भेटिएको थियो ।

गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको थियो । गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङमार्फत डा. शर्माले गोतामेलाई पठाएकी थिइन् ।

यो घटनाबाट अहिले मात्रै नभएर यसअघि पनि गोतामेले डिम्ब तस्करी गर्न डा. शर्माकोमा युवती पठाउने र त्यस वापत रकम बुझ्ने गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा. शर्माले गोतामेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन् ।

आर्थिक प्रलोभन देखाएर किशोरीको डिम्ब झिक्ने प्रकरणमा डा. शर्माको प्रत्यक्ष संलग्नता रहेको भन्दै पीडित १७ वर्षीया किशोरीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी नै दिएकी थिइन् । तर डा. शर्माविरुद्ध पक्राउ पुर्जीसमेत जारी हुन सकेन । पहिला विदेश रहेको कारण देखाइए पनि शर्मा अहिले सुटुक्क नेपाल आएर बयान दिएर पनि छुटिसकेकी छिन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?