+
+
Shares

किशोरी डिम्ब तस्करी प्रकरण : डा. नुतन शर्मा बयान दिएर छुटिन्, आरोपबारे इन्कार

उनी बिहीबार सुटुक्क परिसरमा उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किशोरीको डिम्ब तस्करी प्रकरणमा मुछिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मासँग ललितपुर प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान लिएको छ।
  • बयानका क्रममा डा. शर्माले आफूले कानून विपरीत कुनै काम नगरेको र सबै प्रक्रिया मञ्जुरीपछि नै सम्पन्न भएको दाबी गरेकी छिन्।
  • प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नभएका कारण सरकारी वकिलको निर्देशनमा डा. शर्मालाई हाजिरी जमानीमा छाडेको छ।

२४ साउन, काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ ।

१७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई घटनाका सम्बन्धमा प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा शर्माको बयान लिइएको हो ।

उनी बिहीबार सुटुक्क परिसरमा उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएको थियो । त्यही उनको बयान भएको प्रहरीले बताएको छ । बयानमा शर्माले भने कानुन विपरीतको काम नगरेको भन्दै दाबी गरेको स्रोतले बतायो ।

‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा. शर्माले बयानमा भनेकी छिन् । बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि छाडिएको एसपी मिश्रले बताए ।

 डिम्ब तस्करी प्रकरणमा आरोप लागेपछि उनी विदेश गएकी थिइन् । विदेशबाट फर्केकी शर्मासँग प्रहरीले बयान लिएको हो ।

यता सरकारी वकिल कार्यालय भने अदालतले पक्राउ पुर्जी जारी गरेकाले छाड्न आदेश दिइएको बताएको छ । दुई पटकसम्म पक्राउ पुर्जीका लागि अदालतसँग अनुमति माग्दा पनि नपाएको प्रहरीको भनाइ छ ।

डा. शर्मासँगै डिम्ब तस्करी प्रकरणमै प्रहरीले राधिका गोतामे नाम गरेकी युवतीलाई पक्राउ गरेको थियो । उनै गोतामेलाई समेत सरकारी वकिल कार्यालयको निर्देशनअनुसार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको थियो ।

गोतामले पीडित युवती र आईभीएफ सेन्टरको बीचमा बसेर बिचौलियाको काम गरेको आरोप छ । बिचौलिया गोतामे र डा. शर्माबीच आर्थिक लेनदेन भएको प्रमाण समेत भेटिएको थियो ।

गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको थियो । गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङ मार्फत डा। शर्माले गोतामेलाई पठाएकी थिइन् ।

यो घटनाबाट अहिले मात्रै नभएर यसअघि पनि गोतामेले डिम्ब तस्करी गर्न डा. शर्माकोमा युवती पठाउने त्यस वापतले उनले रकम बुझ्ने गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा. शर्माले गोतामलेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन् ।

आर्थिक प्रलोभन देखाएर किशोरीको डिम्ब झिक्ने प्रकरणमा डा. शर्माको प्रत्यक्ष संलग्नता रहेको भन्दै पीडित १७ वर्षीया किशोरीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी नै दिएकी थिइन् । तर डा. शर्माविरुद्ध न पक्राउ पुर्जी नै जारी हुन सक्यो । पहिला विदेश रहेको कारण देखाइए उनै शर्मा अहिले भने सुटुक्क नेपाल आएर बयान दिएर पनि छुटिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?