News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने विषयले प्रवेश पाएको छ ।
- पार्टीको विशेष महाधिवेशनबाट संशोधित विधानमा उक्त व्यवस्था हटाइएकाले अहिले केही केन्द्रीय सदस्यहरूले यसमा आपत्ति जनाएका छन् ।
- महामन्त्री प्रदीप पौडेलका अनुसार जारी बैठकमा मंगलबारसम्म ६२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय उठेको छ ।
२४ साउनबाट सानेपामा जारी बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय राखेका हुन् ।
तर, विशेष महाधिवेशनबाट संशोधित कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छैन ।
विशेष महाधिवेशनबाट संशोधन हुनुअघिको विधानको धारा १५(१)(ग) मा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो ।
उक्त धारामा भनिएको थियो, ‘निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि ।’
संशोधित विधानमा धारा १५(१) अन्तर्गतको उपधारा (ग) हटाएको छ । यही हटाइएको व्यवस्थामा विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिमा रहेका केही नेताहरूले आपत्ति जनाइरहेका छन् ।
‘विशेष अधिवेशनमा सबैभन्दा बढी ताली बजेको विषय स्वत: प्रतिनिधि आउने व्यवस्था हटाउनु थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर साथीहरू अहिले त्यसमा आपत्ति जनाइरहनु भएको छ ।’

ती नेताले बैठकमा स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने केन्द्रीय सदस्यहरूको नाम भने खुलाएनन् । अर्का एक केन्द्रीय सदस्यले पनि जारी बैठकमा विधानबाट हटाइएको विषय उठेको जानकारी दिए ।
कांग्रेस उच्च स्रोतले पनि बैठकमा स्वत: महाधिवेशन प्रतिनिधि आउने विषय उठेको पुष्टि गरे । ‘स्वत: प्रतिनिधि भएर आउनु पाउनु पर्छ भनेर केही साथीहरूले आफ्नो कुरा राख्नुभएको छ,’ ती नेताले भने ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले पेस गरेका विभिन्न ८ एजेन्डामा छलफल भइरहेको छ । छलफलका लागि पार्टीले हरेक सदस्यलाई ७ मिनेटको समय छुट्याएको छ ।
बैठकका एजेन्डा
१. पार्टीको १५औं महाधिवेशन सम्बन्धमा :
– १५औं महाधिवेशन तयारीका सम्बन्धमा ।
– नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा ।
– सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा ।
– महाधिवेशन तयारी समिति गठन सम्बन्धमा ।
– विधान मस्यौदा समिति गठन सम्बन्धमा ।
– प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा ।
– केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा ।
२. पछिल्लो समयमा तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा ।
३. सरकारका १०० दिन, त्यसपछिका गतिविधि र प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर पार्टीको भूमिकाका सम्बन्धमा ।
४. प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा ।
५. सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा ।
६. नेपाली जनसम्पर्क समिति सम्बन्धमा ।
७. समसामयिक विषय ।
८. भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा ।
कांग्रेस महामन्त्री पौडेलले जारी केन्द्रीय कार्यसमिति अझै केही दिन लम्बिने जानकारी दिएका छन् । उनका अनुसार मंगलबारसम्म ६२ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति हाल १५३ सदस्यीय छ ।
‘हरेक केन्द्रीय सदस्यलाई अधिवेशनसँग जोडेर पार्टीले एउटा न एउटा जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पूरा गरेर आउनु भएका केन्द्रीय सदस्यहरूले अनुभव, फिल्डको अवस्था, र महाधिवेशनसँग जोडिएका विषय राखिरहनुभएको छ,’ उनले भने, ‘मंगलबारसम्म ६२ जनाले बोलेका छन् । १५३ जनाको मौजुदा केन्द्रीय कार्यसमिति छ । सबैले बोल्ने क्रममा समय लम्बिने देखिन्छ, केही दिन अझै चल्छ ।’
महामन्त्री पौडेलका अनुसार गत पुसमा सम्पन्न विशेष महाधिवेशन भएपछि कांग्रेसको यो तेस्रो बैठक हो । सभापति गगनकुमार थापाले मनोनीत गरेका १९ जना केन्द्रीय सदस्यहरू पहिलो पटक बैठकमा सहभागी भएका छन् ।

कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरेले पनि बैठक केही दिन लम्बिने बताए । उनले पनि बैठकमा महाधिवेशन केन्द्रित छलफल चलिरहेको बताए । ‘मूलत: महाधिवेशनकै विषयमा छलफल भइरहेको छ,’ महामन्त्री घिमिरेले अनलाइनखबरसँग भने, ‘अरू केही महाधिवेशनसँग सम्बन्धित विषयहरूसँग छलफल सम्बन्धित छ ।’
प्रतिक्रिया 4