News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन २६ हजारभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् ।
- मेलामा सहभागी कम्पनीहरूले विभिन्न अफरसहित नयाँ मोडलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेका छन् भने अवलोकनकर्ताको कार बुकिङमा आकर्षण देखिएको छ ।
- नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसनद्वारा आयोजित यो प्रदर्शनी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
२८ साउन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ता भव्य सहभागिता रहेको थियो ।
मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मन परेका कार छानी–छानी बुक गरिरहेका छन् । एक्स्पोमा सहभागी कम्पनीहरूका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुची देखिएको छ ।
काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्वपूर्ण अवसर भएको बताए । ‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ दिउँसो ३ बजे मेला स्थलमा भेटिएका उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडी चढिसकेँ होला ।’

मेलामा ठूलो संख्याले कयौं ब्रान्डका गाडी चढेर सुविधा हेरिरहेका र बुझिरहेका देखिन्थे । अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।
दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै दोस्रो दिन २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
प्रतिक्रिया 4