News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले विकसित भइरहेको ‘सुपर एल निनो’ इतिहासकै शक्तिशाली बन्न सक्ने सम्भावना ७० प्रतिशत रहेको जनाएको छ ।
- वैज्ञानिकहरूका अनुसार यसपटकको शक्तिशाली एल निनोका कारण सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना लगभग निश्चितजस्तै रहेको छ ।
- क्यालिफोर्निया विश्वविद्यालयका जलवायु वैज्ञानिक ड्यानियल स्वेनले यो घटना असाधारण रहेको र आगामी महिनामा यसको तीव्रता अझ बढ्ने बताएका छन् ।
२९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (ल्इब्ब्) ले विकसित भइरहेको ‘सुपर एल निनो’ अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ ।
बिहीबार सार्वजनिक पूर्वानुमानअनुसार यो एल निनो इतिहासकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना करिब ७० प्रतिशत छ । यसअघि यसलाई ‘ऐतिहासिक रेकर्डमा सबैभन्दा ठूला एल निनोमध्ये एक’ हुने अनुमान गरिएको थियो ।
पछिल्लो पूर्वानुमान परिवर्तन हुनुको मुख्य कारण एल निनोको तीव्र गतिमा भइरहेको विकास र विभिन्न कम्प्युटर मोडलले यसको उत्कर्ष यसअघि अनुमान गरिएभन्दा बलियो हुने देखाउनु हो ।
एनओएएका अनुसार यो घटना शरद ऋतुको अन्त्यदेखि जाडोको सुरुवातसम्म उत्कर्षमा पुग्नेछ ।
एनओएएले एल निनोको तीव्रताको अभिलेख सन् १९५० देखि राख्दै आएको छ । पछिल्लो प्रक्षेपणअनुसार यसपटकको एल निनोले सन् १९८२–८३ मा बनेको शक्तिशाली एल निनोको रेकर्डसमेत तोड्न सक्छ ।
एल निनो हुँदा मध्य तथा पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम औसतभन्दा असामान्य रूपमा बढ्छ । समुद्रको तातो पानीका कारण ठूलो मात्रामा ताप वायुमण्डलमा पुग्छ र यसले विश्वभरका मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ ।
एनओएएका अनुसार यसपटक प्रशान्त महासागर क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा २.५ डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्ने अनुमान छ । यस्तो तापक्रम तीन महिनाको औसतका आधारमा मापन गरिन्छ, जसले छोटो अवधिका उतारचढावलाई कम गर्छ ।
एल निनोका कारण इन्डोनेसिया र अस्ट्रेलियामा खडेरी तथा दक्षिण अमेरिकाका केही क्षेत्रमा अत्यधिक वर्षा र बाढीको जोखिम बढ्ने गर्छ । यसको प्रभाव विश्वका अन्य क्षेत्रमा पनि फरक–फरक रूपमा देखिन सक्छ ।
जलवायु परिवर्तनले थप जटिल बनाउँदै
जलवायु परिवर्तनका कारण पछिल्ला दशकमा उष्णकटिबन्धीय महासागरको औसत तापक्रम नै बढिरहेको छ । यसले एल निनोको परम्परागत प्रभावलाई केही हदसम्म फरक ढंगले देखाउन सक्छ ।
यसलाई ध्यानमा राख्दै एनओएएले ‘रिलेटिभ ओसियानिक निनो इन्डेक्स’ (रोनी) नामक नयाँ सूचकसमेत प्रयोग गर्दै आएको छ । समग्र समुद्री तापक्रममा भइरहेको दीर्घकालीन वृद्धिलाई समेटेर एल निनोको वास्तविक तीव्रता मापन गर्ने उद्देश्यले यो सूचक प्रयोग गरिन्छ ।
तर यो सूचक प्रयोग गर्दा पनि अहिले विकसित भइरहेको एल निनो अभूतपूर्व स्तरमा पुग्ने क्रममा रहेको वैज्ञानिकहरूको भनाइ छ ।
क्यालिफोर्निया विश्वविद्यालयका जलवायु वैज्ञानिक ड्यानियल स्वेनले यो घटना असाधारण रहेको बताएका छन् । उनका अनुसार एल निनो अहिले नै रेकर्ड वा रेकर्डसँग बराबरी गर्ने स्तरमा पुगिसकेको छ र आगामी महिनामा यसको तीव्रता अझ तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना
एल निनोको तीव्रता र त्यसबाट हुने प्रभावबीच सधैं सोझो सम्बन्ध नहुने वैज्ञानिकहरू बताउँछन् । त्यसैले इतिहासकै शक्तिशाली एल निनो हुँदैमा यसपटक सबै प्रभावित क्षेत्रमा विगतभन्दा चरम मौसम हुने निश्चित भने छैन ।
तर एल निनोका सामान्य प्रभाव देखिने सम्भावना भने बढ्नेछ । विशेषगरी उत्तरी गोलार्धमा यसको प्रभाव शरद र जाडो महिनामा बढी देखिने गर्छ ।
अमेरिकामा क्यालिफोर्नियादेखि दक्षिणी राज्य हुँदै फ्लोरिडासम्म असामान्य रूपमा बढी वर्षा हुन सक्ने सम्भावना हुन्छ । मध्यपश्चिमी क्षेत्रमा भने एल निनोका कारण जाडो सामान्यभन्दा न्यानो र सुख्खा हुने प्रवृत्ति देखिन्छ ।
एल निनोले विश्वको औसत तापक्रमसमेत बढाउने गर्छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण दीर्घकालीन रूपमा बढिरहेको तापक्रममाथि एल निनोले थप ताप थप्ने भएकाले आगामी वर्षको तापक्रममा यसको प्रभाव महत्वपूर्ण हुन सक्छ ।
वैज्ञानिकहरूका अनुसार यसपटकको शक्तिशाली एल निनोका कारण सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना लगभग निश्चितजस्तै छ । सन् २०२६ पनि अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना रहेको एनओएएको पूर्वानुमान छ ।
प्रतिक्रिया 4