News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि उम्मेदवार छनोटका लागि \'क्यान्डिडेट क्लब\'मार्फत आवेदन खुला गरेको छ।
१ भदौ, काठमाडौं । ५ वर्षे कार्यकाल सकिएपछि नियमित रुपमै भयो भने स्थानीय तहको निर्वाचन आउन ९ महिना बाँकी छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधिमा संलग्न भइसकेको छ ।
एकातिर सोमबारबाटै रास्वपाले स्थानीय तह केन्द्रित उम्मेदवार क्लब सुरु गरेको छ । अर्कोतिर संघीय सरकारका मन्त्रीहरू जिल्ला भ्रमणमा छन् । र स्थानीय सँगको भेटमा उनीहरू स्थानीय तहको चुनावमा रास्वपालाई जिताउन आह्वान गरिरहेका छन् ।
३० साउनमा सिरहामा स्थानीयसँगको भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संघमा मात्रै रास्वपाको सरकार हुँदा काम असहज भएको बताइन् ।
संघ सरकारको स्पिरिट अनुसार काम गर्न स्थानीय तह र प्रदेशमा पनि रास्वपाको सरकार चाहिएको भनेर भोट मागिन् ।
‘तपाईंहरू युवाहरू सबै मिलेर जसरी संघमा जिताउनुभयो त्यसैगरी हजुरहरूले अझ एकचोटि मेहनत गर्नुपर्यो,’ उनले भनिन्, ‘लोकल र प्रदेशमा पनि हाम्रै सरकार चाहियो ।’
स्थानीय सरकार आउन धेरै समय नरहेको भनेर उनले चुनावमा रास्वपाको उम्मेदवारलाई भोट हाल्न अहिले नै आग्रह गरेकी हुन् । उनले भनेकी छन्, ‘कति छ समय अब (चुनाव आउन) ! ६ महिना, ९ महिना जति त छ नि ।’
यसअघि २०७९ साल वैशाखमा स्थानीय तहको चुनाव भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा सकिँदैछ ।
कार्यकाल सकिन ९ महिना बाँकी हुँदै रास्वपाका नेताहरूले स्थानीय तह चुनाव केन्द्रित गतिविधि र अभिव्यक्ति सुरु गरेका हुन् ।
गृहमन्त्री सुधन गुरुङ पनि गोरखा जिल्ला पुगेका छन् । त्यसक्रममा उनले पनि आगामी स्थानीय तहको चुनावमा रास्वपाका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरिरहेका छन् ।
३१ साउनमा गोरखाकै एक गाउँमा गृहमन्त्री गुरुङ बोलिरहेका थिए । त्यसक्रममा एक जनाले गृहमन्त्री गुरुङलाई मोबाइल देखाए ।
कुनै वडाका वडाध्यक्षले सामाजिक सञ्जालमा लेखेको विषय गृहमन्त्रीलाई देखाएका रहेछन् ।
अनि गृहमन्त्री गुरुङ भन्छन्, ‘ यस्तो बुद्दुहरू छन् । यस्तो बुद्दुहरू पनि हाम्रो समाजमा छन् ? गोरखाकै हो ? अर्कै ठाउँको होला !’
त्यहाँ उपस्थित स्थानीयले भन्छन्, ‘यो लेखेको ४ नम्बरको वडा अध्यक्ष हो ।’
वडा अध्यक्ष सुन्ने बित्तिकै गुरूङले भने, ‘स्थानीय चुनाव आउँदै छ है । तपाईंहरूले अब विचार गर्नुस् ।’
यहाँनेर गृहमन्त्री गुरुड्डले अब आउने स्थानीय तहको चुनावका निम्ति भोट मागे ।
‘अब स्थानीय चुनाव सुरु भइसकेको छ’ उनले भनेका छन्, ‘स्थानीय चुनावमा देखाइदिनु होला । तपाईंहरू आफैंले देखाइदिनु होला ।’
अन्य दलका नेता तथा उम्मेदवार आए विगतमा भोट दिएको भनेर सम्झाउन आग्रह गर्दै उनले रास्वपाले एकपटक मात्रै संघीय चुनाव जितेको बताए । अब स्थानीय चुनावमा पनि रास्वपालाई जिताउनुपर्ने आग्रह गरे ।
‘अहिले त हामीलाई एकचोटी पहिलो चोटी जिताएको हो । हामीलाई पहिलो चोटी जिताउँदा हामीले आफ्नो बाचा पुरा गरेका छौ हैँ । तपाईंहरूको घर दैलोमा आएका छौं, फर्केर आएको छौं’, उनले भनेका छन्, ‘गाउँ–गाउँ घरको समस्या सुन्न आएको छौँ । आफ्नो भोटरहरु, आफ्नो मतदाताहरु संग भेट्न आएको छौं । सानो कुरा होला तर यो पनि इतिहासै भैदियो ।’
सानो कुरा गर्न नसक्ने मान्छेहरूले ठूलो कुरा गर्न नमिल्ने भन्दै उनले अन्य दलहरूले वाचा पूरा नगरेको तर आफूहरूले वाचा पूरा गर्दै आएको बताएका हुन् ।
यहाँनेर उनले थपेका छन्, ‘भ्रम फैलाउने मान्छेहरुलाई चुनावमा तपाईंहरूले आफैँ देखाइदिनु होला ।’
अर्थात्, गृहमन्त्री गुरुङ पनि जिल्ला भ्रमणका क्रममा आगाम स्थनीय तहको चुनावमा भोट मागिरहेका छन्।
निर्वाचन आयोगका अनुसार स्थानीय तह केन्द्रित भएर औपचारिक रुपमा आयोगले कुनै गतिविधि गरेको छैन।
तर चुनाव प्रभावकारी बनाउन आन्तरिक स्ट्रेन्थ, बढाउने, व्यवस्थापकीय क्षमता बढाउने कामहरू सुरु भएको बताउँछन् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई।
उनका अनुसार निर्वाचनको मिति घोषणा नहुँदै गर्नुपर्ने र गर्न सकिने कामहरू हुन्छन्। सूचना प्रविधिको प्रयोग आदिको विषय पनि यसमा पर्छन् ।
उनी भन्छन्, ‘चुनावको तयारीको औपचारिक काम निर्वाचनको मिति घोषणा भएपछि मात्रै हुन्छ। तर आयोगको व्यवस्थापकीय क्षमता बढाउने विषयहरू सुरु भएको छ ।’
सामान्यतया निर्वाचन हुनु भन्दा १२० दिन अगाडि मिति घोषणा गर्ने अभ्यास छ । निर्वाचन आयोगले पनि चुनावको तयारीका लागि दुई महिना समय चाहिने भनेर सरकारलाई भन्ने गरेको छ।
यसहिसाबमा सरकारले आगामी पुस महिनामा स्थानीय तहको निर्वाचनको मिति तोक्न सक्दछ। तर रास्वपाले भने अहिलेदेखि नै चुनाव केन्द्रित गतिविधि र अभिव्यक्ति सुरु गरिसकेको छ।
नेताहरूका अनुसार स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको हो।
सोमबारदेखि नै आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने छन्। उम्मेदवार हुन इच्छुकको आवेदनको चरणलाई रास्वपाले उम्मेदवार छनोटको पहिलो बिन्दु भनेको छ।
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गर्न भन्दै क्यान्डिडेट क्लबमा आवेदन खुला गर्ने निर्णय यसअघि केन्द्रीय समितिले गरेको थियो।
उम्मेदवार हुन इच्छुकले आवेदनपश्चात् लिडरसिप एकेडेमीको कक्षा लिएको हुनु पर्छ। लिडरसिप एकेडेमीअन्तर्गत व्यक्तिको राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा लगायतका विषयलाई पार्टीले मूल्यांकन गर्नेछ।
पालिका क्यान्डिेडेट क्लबमा पालिकाका प्रमुख–मेयर, उपप्रमुख–उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरूले आवेदन पेस गर्न सक्ने छन्।
वडाध्यक्ष र सदस्यका लागि ‘वडा क्यान्डिडेट क्लब’मा आवेदन पेस गर्न सक्ने छन् । आवेदकले आफ्नो वैयक्तिक चारित्रिक अवस्था खुलाउनु पर्ने हुन्छ। शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, दुर्व्यवहार तथा डिजिटल अपराध, वित्तीय तथा आर्थिक शुद्धता, स्वार्थ बाझिने अवस्था, विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता लगायतका विषय पनि खुलाउनु पर्छ।
प्रतिक्रिया 4