News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले साउन २६ गते गणपूरक सङ्ख्या नपुगेर रोकिएको खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सोमबार स्वीकृत गरेको छ ।
- सभामुख डोल प्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित भएसँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न पाउने भएका छन् ।
- गत साउन २६ गतेको बैठकमा २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ जना मात्र उपस्थित हुँदा गणपूरक सङ्ख्याको अभावमा विधेयकको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
१ भदौ, काठमाडौं । गत साउन २६ गते प्रतिनिधिसभामा गणपूरक संख्या (कोरम) नपुगेर अड्किएको खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्याल ले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे ।
जसलाई सभाले स्वीकृत गर्यो । योसँगै यो विधेयकमाथि सांसदहरूका लागि ७२ घण्टाभित्र संशोधन राख्ने समय सुरु भएको छ ।
यो कार्यसूची गत साउन २६ गतेको बैठकमै थियो । तर सभामुखले ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका निश्कल राईले सदनमा गणपूरक सङ्ख्या नपुग भएको भनेर प्रश्न उठाएका थिए ।
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
यसअनुसार सभामुखले गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देश गरे । ३ मिनेटको जनाउ घण्टी बजाएर उपस्थित सदस्यहरूको संख्या गणना गरियो ।
संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा गणपूरक संख्या ६९ हुनुपर्नेमा त्यसदन सभामा जम्मा ६१ जना मात्रै थिए ।
त्यसपछि प्रस्तुत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय हुन सकेको थिएन। यसरी रोकिएको विधेयक सोमबार प्रतिनिधिसभाले अगाडि बढाएको हो ।
प्रतिक्रिया 4