News Summary
Generated by OK AI. Editorially reviewed.- भाटभटेनी सुपरस्टोरले आजबाट भक्तपुरको राधेराधेस्थित आफ्नो स्टोर चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ।
- भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले आम उपभोक्तालाई सपिङमा सहज बनाउन यो सेवा सुरु गरिएको बताए।
- सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले रात्रिकालीन अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै भाटभटेनीको यो अभ्यासको प्रशंसा गरेका छन्।
१ भदौ, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ आजबाट चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर आजबाट चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो ।
राधेराधेस्थित सुपरस्टोरमा अनलाइनखबरसँग कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आम उपभोक्तालाई सपिङका लागि सहज होस् भनेर खुला गरिएको जानकारी दिए ।
‘यो कन्सेप्ट नेपालमा नयाँ हो, तर अन्तर्राष्ट्रिय रुपमा यो चलनचल्तीमै आएको पाइन्छ,’ पौडेलले भने ।
उनका अनुसार, काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

आजबाट भक्तपुरमा सुरु भएको यो सेवा ललितपुरमा पाटनस्थित कृष्णगल्लीस्थित स्टोर र काठमाडौंको टंगालस्थित स्टोरमा रहेको सुपर स्टोरमा पनि चाँडै सञ्चालनमा आउन उनले बताए ।
टंगाल स्टोर भदौ २४ गतेबाट सुरु गर्ने तयारी रहेको उनले बताए । सकेसम्म सोही दिनबाट उपभोक्तालाई सेवा दिने तयारी रहेको उनले बताए । पहिलो दिनको अनुभव अनुसार, यो अभ्यास विस्तार गर्नुपर्ने देखिएको अनुभव उनले सुनाए ।
राति हुने भएकाले परिआएको खण्डमा सुरक्षाका लागि पनि स्थानीय सरकार र प्रशासनलाई पनि जानकारी गराइएको उनले बताए । ‘हामीले सम्बन्धित ठाउँमा पनि जानकारी गराएका छौं,’ उनले भने, ‘सुरक्षाका दृष्टिले कुनै समस्या छैन ।’

सरकारका प्रवक्ताले भने – यो साह्रै राम्रो काम हो
रिपोर्टिङकै क्रममा राधेराधेस्थित स्टोरमा भेटिए, शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेल । उनले पनि भाटभटेनी सुपरस्टोरमा थालिएको यो अभ्यासको प्रशंसा गरे ।
‘यो काठमाडौं उपत्यकामा रात्रिकालिन जीवनका लागि आवश्यक थियो । आर्थिक हिसाबले पनि यो राम्रो छ,’ मन्त्री पोखरेलले भने ।
उनका अनुसार, भाटभटेनीले गरेको यो कार्य सकारात्मक रहेकाले सरकारले पनि सहयोग गर्नपर्ने ठाउँमा गर्ने उनले बताए ।

उपभोक्ता भन्छन्– दिनभर भ्याइँदैन, अब सजिलो भो
भाटभटेनीले थालेको यो सेवाबाट उपभोक्ताहरू पनि खुसी देखिएका छन् । हामीले राधेराधेस्थित स्टोरमा भेटेकामध्ये धेरैजसोले दिनभर काममा व्यस्त हुँदा आवश्यक सपिङ गर्न समय नमिल्ने गरेको थियो ।
तर, आजबाट सुरु भएको यो सेवाका कारण डिनरपछिको केही समय सपिङका लागि उपयुक्त भएको उनीहरू बताउँछन् ।
बौद्धबाट सपिङ गर्न भाटभटेनी पुगेका एक उपभोक्ताले अनुभव सेयर गर्दै भने, ‘दिउँसो कामले भ्याइएको थिएन । अब चाहिँ सजिलो भयो ।’

सुरक्षा लगायतका कुराहरूको थप व्यवस्थापन गरेर अझै राम्रोसँग सञ्चालनमा आएको खण्डमा आफूहरू खुसी हुने उनले बताए ।
भाटभटेनी प्रशासनका अनुसार, चौबिसै घण्टा सञ्चालनमा आउन लागेका सुपरस्टोरका पहिलो तलामात्र खुला हुनेछन् । पहिलो तलामा ग्रोसरी सामानमात्र उपलब्ध हुन्छन् ।
‘काठमाडौं उपत्यकाका तीन स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि हामी पोखराको एक स्टोर पनि यसैगरी सञ्चालन गर्ने योजना छ,’ प्रमुख सञ्चालन अधिकृत पौडेलले भने, ‘यसले ग्राहक सुविधा थप बढ्ने विश्वास छ ।’
देशभर छन् २७ स्टोर
४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।
त्यति ठूला क्षति हुँदाहुँदै भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुन: लगानी गरेर लगभग सबै स्टोर पुन: सञ्चालनमा ल्याइसकेको छ ।







प्रतिक्रिया 4