+
+
Shares

वडा कार्यालय बनाउन एक करोड मूल्यबराबरको जग्गा दान 

स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब एक करोडभन्दा बढी मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्तिपछि भवन निर्माण हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १३:३७

३ असार, भक्तपुर । सूर्यविनायक नगरपालिकाले नौवटा वडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं १ सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ ।

स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब रु एक करोडभन्दा बढी मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्तिपछि भवन निर्माण हुन लागेको हो ।

सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त चार आना जग्गामा अन्डरग्राउन्डसहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिए ।

नगरपालिकाले रु तीन करोड ४० लाखको बजेटमा ठेक्का आह्वान गरेसँगै भवन निर्माण अघि बढेको उनले जानकारी दिए । उनले कलात्मकता झल्किने गरी भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनिक कार्यसँगै विभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधायुक्त हलसहितको भवन निर्माण हुने उनले बताए ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले वडा नं २ देखि वडा नं १० सम्म आफ्नै भवन निर्माण गरिसकेको बताउँदै अब बाँकी रहेको वडा नं १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताए ।

उनले वडा नं १ को भवन कलात्मक हुने बताउँदै नयाँ बनेका भवनमध्ये वडा नं ५, ६, ९ र वडा नं १० को भवन कलात्मक शैलीमा निर्माण गरेको र वडाका पुराना भवनलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताए ।

वडा नं १ सिरुटारको भवन निर्माणसँगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाले आफ्नै भवनबाट नागरिकलाई सेवाप्रवाह गर्ने उनले बताए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?