News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगतप्रसाद जोशीले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- उनले शिक्षा ऐनमा गरिब तथा निमुखा जनताका छोराछोरीले सहजै विद्यालय प्रवेश पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
- शिक्षकहरूलाई उचित सम्मान र पारिश्रमिक दिनुपर्नेमा जोड दिँदै उनले सरकारलाई नवउदारवादी नीति त्यागेर शिक्षा क्षेत्रको सुधारमा लाग्न खबरदारी गरेका छन् ।
२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगतप्रसाद जोशीले संविधानको धारा ३१ मा शिक्षाको हक भनेर राखिएको सरकारलाई स्मरण गराएका छन् ।
‘यो मौलिक हकका रूपमा नेपाली जनताले प्राप्त गर्न सक्नेछन् भनेर भनिएको छ मौलिक हकको कार्यान्वयन गर्दै गर्दा सम्पूर्ण नेपाली जनताले सम्पूर्ण नेपाली जनताका छोराछोरीले आज सार्वजनिक विद्यालयमा त्यो हक प्राप्त गरिरहेका छन् कि छैनन् ?’ सरकारलाई उनको प्रश्न छ ।
प्रतिनिधिसभामा बोल्दै उनले यो कुरामा सरकारले हेक्का दिन जरुरी रहेको बताए ।
नेपालको पूर्वदेखि पश्चिमसम्म शिक्षासँग सरोकार राख्ने विभिन्न निकायहरूसँग शिक्षा मन्त्रालयले शिक्षा ऐनको सन्दर्भमा परामर्श गरिरहेको आफूले देखिरहेको भनेर उनले सरकारको प्रयास पनि स्मरण गरेका छन् ।
‘यसै सन्दर्भमा अबको आउने शिक्षा ऐनमा जनताका इच्छा आकांक्षाहरू र जनताका छोराछोरीहरू गरिब जनताका छोराछोरीहरू निमुखा जनताका छोराछोरीहरूले विद्यालय भित्र सहजै रूपमा प्रवेश गर्न पाउने व्यवस्था होस्,’ उनले भने ।
विद्यालय भित्र भएका शिक्षकहरूलाई जुन खालको अवस्था छ त्यसमा आवश्यक सुधार आवश्यक रहेको उनले औंल्याए ।
संविधान कार्यान्वयन हुन नसकेको उनले दोहोर्याए ।
संविधानमा जुन सुकै व्यवस्था गरेता पनि व्यावहारिक रूपमा सम्भ्रान्त वर्गले नेपाली जनतामाथि शासन गरिरहेको प्रत्यक्ष शिक्षाको मौलिक हक कार्यान्वयन हुन नसक्नु रहेको बताए ।
‘आज केही प्रतिनिधि पात्रको रूपमा निम्न वर्गका मान्छेहरू सरकारमा रहेको देखिएता पनि वास्तविक रूपमा सम्भ्रान्त वर्ग र हुने खाने वर्गहरूले नेपालमा शासन व्यवस्थामा कब्जा जमाइरहेका छन्,’ उनले भनेका छन्, ‘यसरी पनि नेपालको शिक्षामा पनि आज जुन वर्ग जसले वास्तविक रूपमा शिक्षाको हक प्राप्त गर्नुपर्ने हो उनीहरू सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् त ?’
संस्कृतमा एउटा श्लोक गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर भन्ने श्लोक रहेको भन्दै उनले यसअनुसार शिक्षकहरूको उचित सम्मान हुन सकिरहेको दोहोर्याए ।
शिक्षकहरूले उचित पारिश्रमिक पाउन नसकिरहेको र यसको बदलामा सरकारले नवउदारवादी नीति लागु गर्दै शिक्षा क्षेत्रबाट पन्छिने दुस्साहस गरिरहेको भनेर उनले सरकारलाई खबरदारी गरे ।
जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गर्नको निमित्त सहज वातावरण बनाउनुपर्ने उनको आग्रह छ । सरकारले गरिब जनताको निमित्त पनि यो देशमा सरकार छ भन्ने महसुस गराउन सक्नुपर्ने उनको आग्रह छ ।
शिक्षकहरूलाई सडकमा जानको निमित्त बाध्य नपार्न पनि उनले सरोकारवाला सबै निकायहरूको ध्यानाकर्षण गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले सडकमा शिक्षकको आन्दोलन हैन शिक्षकहरूलाई उचित रुपमा उहाँहरूलाई सम्मान दिएर अगाडि बढ्नको निमित्त नेपाल सरकारलाई आग्रह गर्दै मेरा भनाइहरू अन्त्य गर्दछु ।’
प्रतिक्रिया 4