News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसकाे देउवा समूहले राष्ट्रिय सम्मेलनबाट पारित गरेका विभिन्न प्रस्तावप्रति संस्थापन पक्षका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
- सभापति गगनकुमार थापाले देउवा समूहको सम्मेलनबाट पारित दस्तावेजलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने स्पष्ट पारेका छन् ।
- महामन्त्री प्रदीप पौडेलले देउवा समूहका गतिविधि संविधान, विधि र पार्टीको संस्थागत निर्णयविपरीत रहेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
२ भदौ, काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सम्मेलनबाट पारित गरेका विभिन्न प्रस्तावप्रति संस्थापन पक्षका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
उनीहरूले सम्मेलनबाट पारित दस्तावेजलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने भन्दै संविधान, विधि र पार्टीको संस्थागत निर्णयविपरीत जाने प्रयास स्वीकार्य नहुने बताएका छन् ।
राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्तावबारे कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा नेतृत्वमा लामो समय राजनीति गरेका नेताहरू आफ्नै राजनीतिक मान्यता र संवैधानिक उपलब्धिबाट पछि हटेको देखिएको टिप्पणी गरे ।
‘उहाँहरूले जीवनभर जुन कुराका लागि संघर्ष गर्नुभयो, त्यसबाट स्खलित भएको देखियो,’ उनले अनलाइनखबरसँग भने, ‘स्वतन्त्रता, व्यक्तिगत मूल्य–मान्यता र नेपाली समाजलाई सचेत बनाउन उहाँहरूले जुन ढंगबाट वकालत र पैरवी गर्दै आउनुभएको थियो, त्यसबाट स्खलित भएको देखियो ।’

संविधान जारी गर्न प्रमुख भूमिका निर्वाह गरेका नेताहरू नै संवैधानिक उपलब्धिबाट पछाडि हटेजस्तो देखिनु उचित नभएको महामन्त्री पौडेलको भनाइ छ ।
‘हिजो स्वतन्त्रताका लागि लडेको भन्ने, तर आज संस्थाको पैरवी गर्ने एउटा उचाइ बोकेको नेतृत्वले गर्ने कुरा उपयुक्त थिएन,’ उनले भने ।
महामन्त्री पौडेलले देउवा समूहको सम्मेलनबाट पारित दस्तावेजलाई कांग्रेसको आधिकारिक दस्तावेज मान्न नसकिने स्पष्ट पारे ।
कुनै समूहले भेला भएर छलफल गर्ने, भेलाबाट निष्कर्ष निकाल्ने अधिकार भए पनि त्यसलाई पार्टीको आधिकारिक धारणा बनाउन पार्टीको विधिसम्मत फोरमबाट अनुमोदन हुनुपर्ने उनले जिकिर गरे ।
‘ती डकुमेन्टहरू कुनै पनि आधिकारिक होइनन् । पार्टीको आधिकारिक फोरमबाट पास भएको विषय होइन । त्यो भेलामा सहभागीहरूको विचार हो,’ महामन्त्री पौडेलले भने ।
सुकेधारामा तीन दिनसम्म चलेको देउवा समूहको भेलाले आइतबार ‘राजनीतिक प्रस्ताव’, ‘नेपाली कांग्रेसको आर्थिक नीति’, ‘सांगठानिक प्रस्ताव’, ‘मुलुकको समसामयिक विषयको प्रस्ताव’, र ‘कानून तथा विधानसम्बन्धी प्रस्ताव’ पारित गरेको थियो ।

विभिन्न सात वटा प्रदेशगत समूह बनाएर गरिएको विस्तृत छलफलमा सहभागीहरूले प्रस्तुत गर्नुभएको उचित धारणा, परामर्श, राय र सुझावलाई प्रस्तावमा समावेश गरेर आवश्यक परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित गरिएको देउवा समूहले जनाएको छ ।
देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने पनि निर्णय गरेको छ । त्यसबारे महामन्त्री पौडेलले विगतमा देउवा नेतृत्वमा कांग्रेसले अघि सारेका विचार र मान्यतामै पार्टी अहिले पनि अडिग रहेको दाबी गरे ।
‘उहाँहरूले सिकाउनुभएको, उहाँहरूले बोक्नुभएको विचारलाई हामी निरन्तर लिएर अगाडि बढ्नेछौं,” उनले भने ।
‘इतर, भितर वा उपर पक्षसँग मतलब छैन’
सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने कांग्रेसको वर्तमान नेतृत्वबारे कुनै भ्रम नरहेको बताए । उनले कांग्रेसका सभापति गगनकुमार थापा भएकाले पार्टी पनि उनकै नेतृत्वमा अघि बढिरहेको जिकिर गरे ।
‘नेपाली कांग्रेस पार्टीको सभापति गगनकुमार थापा हो । पार्टी उनको नेतृत्वको पार्टी हो,’ देउवा समूहले राष्ट्रिय सम्मेलनबाट १५ औं महाधिवेशनका लागि गरेको निर्णयबारे आपत्ति जनाउँदै मन्सुरले भने ।
सम्मेलनबाट देउवा समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । उक्त समूहले महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलापहरू देउवाको निर्देशनमा सम्मेलनका संयोजक डा. शशांक कोइरालाले संयोजन गर्ने पनि भनेको छ ।

सहमहामन्त्री मन्सुरले कुनै कालखण्डमा पार्टीको नेतृत्व गरेका व्यक्तिहरूले आफूलाई ‘इतर पक्ष’, ‘भितर पक्ष’ वा ‘उपर पक्ष’ भनेर छुट्टै भेला गरे पनि त्यसले आफूहरूलाई प्रभावित नगर्ने जिकिर पनि गरे ।
देउवा समूहको सम्मेलनप्रति व्यंग्य गर्दै मन्सुरले चौराहमा मदारीले बाँदर खेलाएजस्तो भएको टिप्पणीसमेत गरे ।
‘बजारमा हिँड्दा चौराह र हट बजारमा मदारीहरू बाँदर खेलाएर दुईचार पैसा उठाउने जोहो गर्छन् । राम्रा मान्छे पनि के हो भनेर एकछिन रोकिन्छन्,’ उनले भने, ‘त्यस्तै कोही मान्छे गएर उभिए, कसैका लागि त्यो हेर्न लायक होला । मैले त नोटिसमा लिने लायकको विषय मानेको छैन ।’
सहमहामन्त्री डा. डिला संग्रौलाले देउवा समूहले राष्ट्रिय भेलाबाट पारित गरेका कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने बताइन् । उनले सम्मेलनबाट पारित प्रस्तावहरू आधिकारिक नभएको पनि प्रतिक्रया दिइन् ।
‘राष्ट्रिय सम्मेलनबाट पारित प्रस्तावहरू आधिकारिक होइनन् । यसबारे हिजो नै सभापतिजीले भनिसक्नुभएको छ,’ सहमहामन्त्री संग्रौलाले अनलाइनखबरसँग भनिन्, ‘ती कुनै पनि प्रस्तावलाई नेपाली कांग्रेसले स्वीकार गर्दैन ।’
‘पार्टी कार्यालय आउँछु भनेको भए स्वागत गर्न जान्थ्यौं’
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले पूर्वसभापति देउवा नेपाल फर्किएपछि पार्टीसँगको दूरी बढाउनेभन्दा संस्थागत सम्बन्ध बलियो बनाउने अपेक्षा आफूहरूको रहेको बताए ।
‘बुढेसकालमा परिवारसँगै आएर देशमा बस्ने परिस्थिति बनिदिएको भए अत्यन्त सुखद हुने थियो,’ उनले भने, ‘हाम्रो त्यो अपेक्षा थियो ।’
देउवा नेपाल आउँदा पार्टी कार्यालय आउने जानकारी गराएको भए सभापति गगन थापासहित आफूहरू विमानस्थलमै स्वागत गर्न जाने उनको भनाइ थियो । ‘यसरी गरेको भए पार्टीलाई थप मजबुत गर्ने परिस्थिति निर्माण हुन्थ्यो,’ चौधरीले भने ।
पूर्वसभापति देउवा पार्टी कार्यालय नआएर चुनदेवीस्थित सम्पर्क कार्यालयमा गएको विषयमा सहमहामन्त्री चौधरीले असन्तुष्टि जनाए । चुनदेवी केही नेताहरूको सम्पर्क कार्यालय भएको उल्लेख गर्दै उनले देउवालाई आवश्यक परेको भए कांग्रेसले सानेपामै पूर्वप्रधानमन्त्री तथा पूर्वसभापतिको हैसियतमा सम्मानजनक स्थान उपलब्ध गराउन सक्ने बताए ।
‘उहाँलाई साँच्चिकै कोठा चाहिएको भए हामी यस्तो भव्य कोठा सजाएर पूर्वप्रधानमन्त्री, पूर्वसभापति भनेर कोठा दिन्थ्यौं, उनले भने, ‘त्यो गरेको भए उहाँको सम्मान पनि हुन्थ्यो ।’
पछिल्ला गतिविधिले पूर्वसभापति देउवा एउटा समूहको मात्रै नेता बन्न खोजेको सन्देश गएको सहमहामन्त्री चौधरीको निष्कर्ष छ । ‘उहाँ एउटा गुटको मात्रै नेता बन्ने परिदृश्य देखियो,’ उनले भने, ‘यो नेपालको राजनीतिक इतिहासमा फरक इतिहास बन्ने हो कि भन्ने चिन्ता लागेको छ ।’
‘विधि नमाने भोलि हतियार भएका मान्छे आएर घेरे के गर्ने ?’
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले देउवा समूहको गतिविधिलाई संविधान र विधिको प्रश्नसँग जोडेर हेर्नुपर्ने बताए ।
उनले कांग्रेसकै नेतृत्वमा संविधान बनेको र संविधानले व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाबीच शक्ति पृथकीकरणको व्यवस्था गरेको स्मरण गराउँदै संवैधानिक प्रक्रियालाई चुनौती दिने काम नेताहरूबाटै हुन नहुनेमा जोड दिए ।
‘यति पाका मान्छेहरूले, यति धेरै अनुभव प्राप्त नेताहरूले संवैधानिक कुरालाई मान्ने मान्यतालाई स्वीकार गर्नुपर्छ,’ नेता भण्डारीले भने ।
विशेष महाधिवेशन, निर्वाचन आयोगको मान्यता र कानुनी प्रक्रिया उल्लेख गर्दै उनले अहिलेको अवस्थाबारे प्रश्न उठाउनु उचित नभएको बताए ।
‘संविधानअनुसार विशेष महाधिवेशन भएर, निर्वाचन आयोगले स्वीकृति दिएर, उहाँहरूले स्वयं चुनावमा भाग लिएर, फेरि उहाँहरूले दिएको निवेदन (रिट) अदालतले खारेज गरेर आधिकारिकता दिइसकेपछि उहाँहरूजस्ता नेताहरूले भन्न मिल्छ कि मिल्दैन ?,’ भण्डारीले प्रश्न गरे ।

नेता भण्डारीले विधि, कानून र संविधानलाई कमजोर बनाउने अभ्यासले भोलि थप गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनीसमेत दिए ।
‘यदि विधि मानिएन, कानून मानिएन, संविधान मानिएन भने भोलि हतियार भएका मान्छे आएर घेर्यो भने के गर्ने ?,’ उनले प्रश्न गरे ।
जेनजी आन्दोलनको प्रसंग जोड्दै भण्डारीले कुनै पनि घटना विधि, कानून र प्रक्रियाअनुसार सही–गलत छुट्याउनु पर्ने बताए । ‘कहिले को तल पर्छ, कहिले को माथि पर्छ । विधिलाई मान्नुपर्छ उहाँहरूले,’ भण्डारीले भने ।
उनले कांग्रेसलाई राजनीतिक दलमात्र नभएर राजनीतिक संस्कार र लोकतान्त्रिक अभ्यास सिकाउने पाठशालाका रूपमा चित्रित गरे । ‘कांग्रेस एउटा पार्टीमात्रै होइन, यो त एउटा पाठशाला हो,’ उनले भने, ‘यसले त अरूलाई सिकाउने हो नि ।’
व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टीको ठूलो उद्देश्य कमजोर पार्न नहुने भण्डारीको भनाइ छ । ‘सानो स्वार्थको निम्ति, सानो इगोको निम्ति आफ्नो ठूलो उद्देश्य–लक्ष्यलाई बिगार्नु हुँदैन,’ उनले भने ।
यसअघि सोमबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवा समूहको राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव तथा निर्णयहरूलाई पार्टीको आधिकारिक नीति र निर्णयका रूपमा स्वीकार गर्न नसकिने बताइसकेका थिए ।
उनले पार्टीको महासमिति, महाधिवेशन, विशेष महाधिवेशन तथा पार्टीले निर्वाचनका लागि तयार गर्ने घोषणापत्र कांग्रेसका आधिकारिक नीति र निर्णयहरू निर्माण गर्ने अधिकारसम्पन्न निकायहरू भएको पनि प्रष्ट्याए ।
‘नेपाली कांग्रेसको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आधारहरूलाई हाम्रो विधानले स्पष्ट बनाएको छ । हाम्रा केही अधिकार सम्पन्न निकायहरू छन् । पार्टीको महासमिति, पार्टीको महाधिवेशन, पार्टीको विशेष महाधिवेशन । पार्टीले चुनावका लागि तयार गर्ने घोषणा पत्र । यी हाम्रा अधिकार सम्पन्न निकायहरू हुन्,’ सभापति थापाले भने, ‘जसमा लेखिएका कुराहरू, जसले पारित गरेका कुराहरू पार्टीका आधिकारिक विषय बन्दछन् ।’
कांग्रेसका आधिकारिक नीति र निर्णयहरू निर्माण गर्ने अधिकारसम्पन्न निकायहरूबाहेकका भेला–सम्मेलनमा प्रस्तुत भएको विचार र गर्ने निर्णय पार्टीको नीति र विधानको अंश नबन्ने उनको जिकिर थियो । ‘कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णयहरू पार्टीको नीति वा विधानको अंश बन्दैन,’ सभापति थापाले भने ।

सभापति थापाले सम्मेलनबाट पारित देउवा समूहका प्रस्तावहरूलाई पार्टीको निर्णयका रूपमा स्वीकार गर्न नसकिने बताए । ‘त्यो पार्टीका निम्ति स्वीकार्य हुँदैन । जनु कुरा स्वीकार्य हुँदैन, त्यसका बारेमा धेरै नै छलफल गरिराख्ने कुरा आफैंमा उपयुक्त हुँदैन,’ उनले भने ।
यद्यपि, सभापति थापाले पार्टीभित्र स्वतन्त्र रूपमा भेला हुने र आफ्ना धारणा राख्ने अधिकारको भने सम्मान गर्नुपर्ने बताए । संविधानले समेत स्वतन्त्र रूपमा भेला हुने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र पनि यस्तो परम्परा रहँदै आएको बताए ।
‘हामी स्वतन्त्रतापूर्वक भेला हुने अधिकारको सम्मान गर्छौं । हाम्रो संविधानले पनि त्यही कुरा सिकाएको छ । हाम्रो पार्टीको परम्परा पनि छ,’ सभापति थापाले भने, ‘रचनात्मक बहस गर्न हामी खुला छौं, छलफल गर्ने कुरामा ।’
प्रतिक्रिया 4