+
+
Shares

आलु खेतीतर्फ भोजपुरका किसानको आकर्षण, बजार विस्तारसँगै बढ्यो व्यावसायिक उत्पादन

रासस रासस
२०८३ भदौ ४ गते ६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु सडक सञ्जाल विस्तारसँगै गाउँमै व्यापारी पुगेर खरिद गर्न थालेपछि बजारसम्म सहज रूपमा पुग्न थालेको छ।
  • टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टले गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको बताए।
  • किसान धनराज राईका अनुसार सडक सुविधा नहुँदा ढुवानी खर्च बढी पर्ने समस्या हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्।

४ भदौ, भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो ।

उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा राम्रो माग रहेको उनले बताए । गाउँबाट खरिद गरिएको आलु शहरमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

‘गाउँमा उत्पादन भएको आलु पहिले बिक्री गर्न निकै समस्या हुन्थ्यो,’ उनले भने, ‘उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो । सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन् । यसले उत्पादन बिक्री गर्न सहज भएको छ ।’

किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पुर्‍याउन निकै कठिन थियो । सडक सुविधा नहुँदा भरिया तथा अन्य साधनको प्रयोग गर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उनले बताए । अहिले गाउँसम्म सडक पुगेपछि व्यापारी घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ।

‘पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो,’ उनले भने, ‘बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो । अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ ।’

भोजपुरमा सडक सञ्जाल विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ । आलु, मकै, तरकारी, फलफूललगायतका कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको किसानको भनाइ छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने आलु स्थानीय बजारसँगै धरान, इटहरीलगायतका शहरी क्षेत्रमा पुग्ने गरेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढेको उनीहरू बताउँछन् । भोजपुरमा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?