News Summary
Generated by OK AI. Editorially reviewed.- महाराष्ट्रको लातुरमा सरकारी विद्यालयको अवस्था सुधारको अभियान चलाइरहेका कक्रोच जनता पार्टीका संयोजक अभिजित दीपकेविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
- दीपकेले अनुमति नलिई विद्यालयमा प्रवेश गरी शैक्षिक तथा सरकारी काममा अवरोध पुर्याएको र शिक्षकलाई धम्की दिएको आरोपमा एफआईआर दर्ता भएको छ।
- जिल्ला परिषद् उर्दू विद्यालयकी शिक्षिका सैयद शमशादबानोको उजुरीका आधारमा भारतीय न्याय संहिता अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
७ भदौ, काठमाडौं । भारत महाराष्ट्रको लातुर जिल्लामा सरकारी विद्यालयको अवस्था सुधारको माग गर्दै अभियान चलाइरहेका कक्रोच जनता पार्टी (सीजेपी)का संयोजक अभिजित दीपके र उनका सहयोगीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
दीपकेमाथि अनुमति नलिई सरकारी विद्यालयमा प्रवेश गरेको, शैक्षिक तथा सरकारी काममा अवरोध पुर्याएको र शिक्षकलाई धम्की दिएको आरोप लागेको छ ।
औसा प्रहरी थानामा जिल्ला परिषद् उर्दू विद्यालयकी शिक्षिका सैयद शमशादबानोले दिएको उजुरीका आधारमा दीपकेसहित उनका सहयोगीविरुद्ध एफआईआर दर्ता गरिएको हो ।
‘स्कुल ठिक गर’ अभियान चलाउँदै थिए दीपके
दीपकेले पछिल्लो समय लातुर जिल्लाका विभिन्न सरकारी विद्यालयको निरीक्षण गर्दै त्यहाँका समस्या सार्वजनिक गर्न ‘स्कुल ठिक गर’ अभियान सञ्चालन गर्दै आएका छन् ।
यसैक्रममा औसास्थित जावलीको जिल्ला परिषद् उर्दू विद्यालयको कक्षाकोठामा उनी प्रवेश गरेका थिए । त्यसक्रममा उनले केही विद्यार्थीहरुलाई विद्यालयका पढाइ लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
त्यसपछि एक शिक्षिकाले दीपके आफ्ना सहयोगीसहित अनुमति नलिई विद्यालय परिसरमा प्रवेश गरेको र विद्यार्थीहरूसँग विभिन्न प्रश्न गर्न थालेपछि शैक्षिक गतिविधि तथा सरकारी काममा अवरोध भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
दीपकेले उक्त गतिविधिको भिडियोसमेत खिचेर पछि सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीमा उल्लेख छ । प्रहरीले सो उजुरी दर्ता गरेको भारतीय मिडियाहरूले जनाएका छन् ।
विद्यालयलाई बदनाम गर्न खोजेको आरोप
उजुरीमा दीपकेले विद्यालयलाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाइएको छ । उनले आफ्नो निरीक्षणका क्रममा अर्को विद्यालयका विद्यार्थीलाई ल्याएर कक्षामा राखिएको दाबी गरेको बताइएको छ ।
त्यस्तै, शिक्षकहरूलाई निलम्बन गराउने धम्की दिएको आरोपसमेत उनीमाथि लगाइएको छ ।
प्रहरीले उजुरीका आधारमा भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ । यी धाराहरू सरकारी कर्मचारीलाई कर्तव्य निर्वाहबाट रोक्न बल प्रयोग वा आक्रमण, अनधिकृत प्रवेश, आपराधिक धम्की तथा मानहानिसँग सम्बन्धित छन् ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रहरीले घटनासँग सम्बन्धित भिडियो तथा अन्य तथ्यसमेत जाँच गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4