+
+
Shares

एक महिनामै पौने २ अर्बको धानचामल आयात

साउनमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार बराबरको ४ हजार १ सय २५ टन बासमती चामल भित्रिएको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा नेपालले १ अर्ब ७८ करोड ८ लाख २९ हजार बराबरको २४ हजार ९ सय ३९ टन धानचामल आयात गरेको छ।
  • गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा यस वर्ष धानचामल आयातको रकम र परिमाण दुवै घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
  • साउनमा ८३ करोड ३३ लाख २४ हजार बराबरको ११ हजार ८ सय ५२ टन चामल, ५६ करोड ८५ लाख ९१ हजारको ४ हजार १ सय २५ टन बासमती चामल र ३६ करोड ५० लाख १७ हजारको ८ हजार ६ सय २८ टन धान आयात भएको छ।

७ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना  नेपालमा करिब पौने २ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार बराबरको २४ हजार ९ सय ३९ टन (२ करोड ४९ लाख ३९ हजार ३ सय ६६ किलो) धान तथा चामल आयात भएको हो ।

गत आवको तुलनामा यो वर्ष धानचामल आयातमा गिरावट आएको छ । गत आव २०८२/८३ साउनमा नेपालले २ अर्ब ९२ करोड ८३ लाख ६२ हजार बराबरको ५७ हजार ८३ टन धानचामल आयात गरेको थियो ।

तथ्यांक विश्लेषण गर्दा गत आवको तुलनामा चालु आव पहिलो महिना आयातित परिमाण र बाहिरिएको रकम दुवैमा गिरावट आएको छ ।

चालु आव साउनमा आयात भएका विभिन्न प्रकारका धान तथा चामलको विस्तृत विवरण हेर्दा सबैभन्दा बढी रकम चामल खरिदमा बाहिरिएको छ । यस अवधिमा ८३ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको ११ हजार ८ सय ५२ टन चामल आयात भएको छ ।

यसमध्ये करिब सम्पूर्ण हिस्सा अर्थात् ११ हजार ८ सय ५१ टन छिमेकी भारतबाट भित्रिएको छ भने नगन्य मात्रामा (शून्य दशमलव २४ टन अर्थात् २ सय ४० किलो) इटालीबाट आएको छ ।

धेरै आयात हुने दोस्रो सूचीमा बासमती चामल छ । साउनमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार बराबरको ४ हजार १ सय २५ टन बासमती चामल भित्रिएको छ, जुन पूर्णरूपमा भारतबाट मात्रै खरिद गरिएको हो ।

तयारी चामल बाहेक नेपालमा नकुटेको धान आयात पनि उल्लेख्य मात्रामा हुने गरेको छ । चालु आव पहिलो महिना ३६ करोड ५० लाख १७ हजार बराबरको ८ हजार ६ सय २८ टन धान आयात भएको छ । यो धान शतप्रतिशत भारतबाटै ल्याइएको हो ।

यसैगरी चामलको कनिका आयातमा पनि करोडौं रकम बाहिरिएको छ । साउनमा मात्रै भारतबाट १ करोड ३३ लाख ७ हजार बराबरको ३ सय ३२ टन कनिका भित्रिएको छ ।

ठूलो परिमाणमा आउने धान, चामल र कनिका बाहेक निकै कम परिमाणमा ब्राउन राइस र धानको बिउ आयात भएको भन्सार तथ्यांकले देखाउँछ ।

साउन महिनामा ८९ हजार रुपैयाँको ६ सय २५ किलो ब्राउन राइस आयात भएको छ । यसमध्ये ५ सय किलो थाइल्यान्ड र १ सय २५ किलो भारतबाट आएको छ ।

यसका साथै, चालु आव पहिलो महिना ५ लाख १ हजार रुपैयाँ बराबरको ६७ किलो धानको बिउसमेत आयात भएको छ । धानको बिउ भारतभन्दा बढी चीनबाट ल्याइएको छ ।

चीनबाट ४ लाख ९९ हजार रुपैयाँको ४७ किलो धानको बिउ भित्रिँदा भारतबाट भने जम्मा २ हजार रुपैयाँको २० किलोमात्र बिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?