+
+
Shares
संगीत :

सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी 

भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ ८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ ७ गते भृकुटीमण्डपको महेन्द्र पुलिस क्लबस्थित द ब्लु प्याभेलिएन हलमा सत्यराज र स्वरुपराज आचार्यको ‘हजार सपना विथ सत्य-स्वरुप’ कार्यक्रम भयो।
  • करिब ३ घण्टा चलेको कार्यक्रममा उनीहरूले भजनदेखि आधुनिक गीतसम्म गाए र भक्तराज, दीपक जङ्गम तथा सरोज कार्थकलाई सम्झिए।

‘संगीतबाट दीर्घ हटाइदिँदा संगत हुन्छ । खासमा संगीत त्यही हो’

सत्यराज आचार्यले यसो भने लगत्तै हलमा ताली गगडगडाहट सुनियो ।  भदौ ७ गते आइतबार ।  सत्यराज र स्वरुपराज आचार्यले गाउँदा घरि दर्शकहरु भक्तराज आचार्य सम्झन्थे । घरि उनै दर्शकहरु सत्य र स्वरुपले गाउँदा भक्तराज बिर्सन्थे ।

पिता भक्तराजका वियोगान्त गीत सुनाउने उनै सत्यराज हुन् र जसले बीचमा जोकैजोकको बाणले हानेर दर्शकलाई हँसाइहरेका थिए । आइतबारको साँझ भृकुटीमण्डपमा अवस्थित महेन्द्र पुलिस क्लबको द ब्लु प्याभेलिएन हलको रोमाञ्चकता बेग्लै थियो । 

माहोल थियो, बुकहिल ब्यालेड्सको दोस्रो श्रङ्खला – हजार सपना विथ सत्य-स्वरुप को।

सत्य, स्वरुपको गीत सुन्न आएका आगन्तुकहरूले बाल्कोनीसम्म टम्म भरिएको थियो । 

दर्शकसँग अन्तरक्रिया गर्दै सत्य भन्दैथिए– पहिले कालजयी गीत हुन्थे । अचेल हालजयी गीतहरू हुन्छन् । एकछिन गायो । सक्कियो । 

यसरी नै घरि ठट्ठा गर्दै घरि गीतको प्रसङ्ग कोट्याउँदै करिब ३ घण्टासम्म दुई दाइभाइले गाइरहे । भजनदेखि आधुनिक गीतसम्म सुनेर दर्शक/श्रोताहरू मन्त्रमुग्ध भए । 

कार्यक्रमको प्रमुख सेतु पब्लिकेसन बुहकिल थियो । 

नेपाली संगीतको प्रवर्धन गर्ने उद्देश्यका साथ बुकहिल ब्यालेड्स नामक नयाँ इनिसियटिभ्स सुरु गरेको संस्थापक भुपेन्द्र खड्काले केही अघि रिहर्सलका क्रममा सुनाएका थिए । यस इनिसियटिभ्सको स्लोगन एभ्री नोट्स टेल्स अ स्टोरी भएको बताउँदै उनले यो कार्यक्रममा आउने दर्शकहरूले गायकी, प्रस्तुति गहिरोसँग महसुस गर्न सक्ने सुनाएका थिए । संगीतलाई भित्री मनदेखि महसुस गर्न सक्ने दर्शकहरूका लागि यो कार्यक्रम डिजाइन गरिएको खड्काले बताएका थिए । 

त्यस्तै, नेपालमा बैठकी अर्थात् बसेर गाउने शैली कम हुँदै गइरहेकोमा गायक/गायिका र वाद्यवादकबीचको सम्बन्धलाई पुन: जोड्न पनि यस प्रकारको कार्यक्रम अघि ल्याइएको उनको भनाइ छ । 

हुन पनि त्यस्तै भयो । सत्य-स्वरुप बैठकी बसेको कार्यक्रम सुमधुर संगीत सुन्नेका लागि यादगार बन्यो । उनीहरूले शान्त शैलीमा गाइरहे । यता सुन्नेहरूले गीतका हरेक शब्दको भाव बुजिरहे । भक्तराजलाई सम्झिरहे । आफ्नो कानलाई पवित्र पारिरहे । 

प्रत्यक्ष वाद्यवादन प्रयोग गरिएको हुँदा त्यो साँझ आफैंमा खास बन्यो । भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिएला ।

कार्यक्रममा सत्य-स्वरुपको दायाँबायाँमा ४-४ जना वाद्यवादकहरू सन्तुलन मिलाएझैं बसेका थिए । ती वाद्यवादकको परिचय सत्य र स्वरुपले पालैपालो दिए । 

तबलामा कुमार सिंह महाराज, बेस गितारमा अनुप दास, माँदलमा सुनिल अर्याल, गितारमा सञ्जीव बराइली, ढोलक/अक्टो प्याडमा भुपेन्द्र रसाइली, किबोर्डमा राहुल भुजेल र बासुरीमा नगेन्द्र राई थिए ।

कुनै पनि औपचारिक मन्तव्यबिना कार्यक्रम सोझैं सुरु गर्नु राम्रो पक्ष बन्न गयो । अर्कोतर्फ बीचबीचमा गीतसँगै जोक्स मार्दै अघि बढेको सुन्दर सुनियो । यो काम घरि सत्यले गरिरहेका थिए घरि स्वरुपले त कहिले उनीहरू दुवैका बीचमा बसेका भूपेन्द्रले ।

उनीहरूले कार्यक्रमको टाइटल हजार सपनाहरूको माया लागेर आउँछ सहित न धन त्यागेर त्यागी हुन्छ, तन र वचनले प्रभुको, एक दिन मैले प्रभुसँग सोधें, कति लिन्छौ परीक्षा मेरो भगवान, मुटु जलिरहेछ, बल गरेर त्यो मन, सायद मायामा फसेँ कि, मैसाबले, लोलाएका ती ठूला… देखि २० वर्षअघि सङ्गीत गरिएको भूपेन्द्रको रचनाका दुई नयाँ गीत आँसु नै मात्र रहेछ क्यारेबस्ती छोड्नुभन्दा अघि सम्म गाए ।

लोलाएका ती ठूला… गाइरहँदा उनीहरूले यसका संगीतकार दिपक जङ्गमलाई ट्रिब्युट पनि दिए । जो यस कार्यक्रममा श्रोता बनेर आएका थिए।

त्यस्तै म कहीँ कतै गाइरहँदा यसका रचनाकार/संगीतकार सरोज कार्थकसँगको आफ्नो अनुभव सुनाए । जस अनुसार उनीहरूले सानोमा कार्थकलाई फाइभ स्टार चकलेट दिने अङ्कलका रूपमा चिन्थे । कारण – कार्थक जहिल्यै उनीहरूको घर आउँदा सोही चकलेट लिएर आउँथे ।

दाजुभाइले  बुबासँगको स्मृति पनि सुनाएका थिए । 

जस्तो, 

स्वरुपले जीवनको उत्तरार्धमा बुबाले गरेको ईश्वरप्रतिको गुनासो सुनाए । उनका अनुसार भगवानको नाम जपिएको भजनहरू शुद्ध उच्चारणसहित गाउँदा पनि  भगवानले आफूलाई परीक्षा लिइरहे भन्ने कुरामा बुबाको धेरै गुनासो रहन्थ्यो । त्यसमा उनीहरूले सक्दो बुबालाई सम्झनाउन कोसिस गरेको सुनाए । 

यस्तै गफहरू गर्दै उनीहरूको प्रस्तुति अघि बढिरह्यो ।  यद्यपि कार्यक्रमको सुरुतिर अडियोमा केही समस्या थियो । यो कुरा सत्य-स्वरुप दुवैले स्विकारिका थिए । साउन्ड गार्डेनमा लामो समयसम्म रिहर्सल गरेता पनि साउन्ड इन्जिनियरसँग बसेर अभ्यास गर्न नपाएकोमा त्यो अभाव खड्किएको सत्यको भनाइ थियो । 

अब सम्भव भए यहीँ टिमलाई लिएर केही गीतहरूको एनालग रेकर्डिङ गरिने बताइएको छ । 

 यसअघि बुकहिल ब्यालेड्समा दीप श्रेष्ठ गुञ्जिएका थिए ।

फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर, बुकहिल

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?