News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा, एमाले, कांग्रेस र नेकपाका नेता तथा सांसदहरूले एनडीआईको समन्वयमा संसदीय लोकतन्त्र, संविधान, संघीयता र एआईसम्बन्धी प्रशिक्षण लिएका छन्।
- रास्वपाले काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा दुई दिने आन्तरिक कार्यशाला आयोजना गरी अर्को साता सांसदहरूका लागि छुट्टै प्रशिक्षण गर्ने तयारी गरेको छ।
- प्रशिक्षणमा सांसदको आचारसंहिता, स्वार्थको द्वन्द्व, भ्रष्टाचारविरुद्धको संरचना, सामाजिक सञ्जाल व्यवस्थापन र साइबर सुरक्षाबारे पनि कक्षा सञ्चालन गरिएको छ।
८ भदौ, काठमाडौं । संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप–प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने प्रशिक्षण लिइरहेका छन् ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि पुराना पार्टीहरू कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसम्मका नेता तथा सांसदहरूलाई अमेरिकी संस्था ‘नेसनल डेमोक्रेटिक इन्स्टिच्युट’ (एनडीआई) को समवन्यमा प्रशिक्षण दिएको छ।
रास्वपाले काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ विषयक दुई दिने आन्तरिक कार्यशाला आयोजना गरेको थियो ।
त्यहाँ सभापति रवि लामिछानेदेखि पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यशालाको दोस्रो दिन एनडीआईका प्रतिनिधिले प्रशिक्षण दिएका थिए । प्राप्त विवरणअनुसार, रास्वपाको उक्त बन्द कार्यशालामा एक्काइसौँ शताब्दीमा राजनीतिक पार्टीको निर्माण कसरी गर्ने, राजनीतिज्ञका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग कसरी गर्ने र मिडिया तथा सामाजिक सञ्जालको व्यवस्थापन कसरी गर्ने भन्नेजस्ता समसामयिक विषयमा विज्ञहरूले प्रस्तुति दिएका थिए।
अर्को साता रास्वपाका सांसदहरूमा मात्र केन्द्रित गरी अर्को प्रशिक्षण दिने तयारी छ ।
कांग्रेसलाई पार्टी कार्यालयमै प्रशिक्षण
कांग्रेसका सांसद तथा नेताहरूलाई गत साता पार्टी कार्यालयमै प्रशिक्षण दिइएको थियो । पार्टीको हलमा नेताहरूलाई पार्टीका नेताहरूसहित एनडीआइका प्रतिनिधिले लोकतन्त्र र पार्टी निर्माण लगायतका विषयमा जानकारी दिएका थिए । कांग्रेसका लागि एक दिनको मात्र प्रशिक्षण दिइएको थियो ।

एमाले र नेकपाका सांसदलाई पालैपालो कक्षा
रास्वपाका नेताहरूले मात्र होइन, संसद्का दुई ठूला वामपन्थी दल एमाले र नेकपाका सांसदहरूले पनि बुढानीलकण्ठकै अर्को होटेल (होलिडे इन) मा साढे दुई दिनसम्म एनडीआईकै समन्वयमा प्रशिक्षण लिएका थिए ।
सांसद एवं निर्वाचन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप सिकाउने उद्देश्यले एमालेका सांसदहरूलाई शुक्रबारदेखि आइतबारसम्म र नेकपाका सांसदहरूलाई शनिबारदेखि सोमबारसम्म प्रशिक्षणको लागि सहजीकरण गरिएको हो ।

नेतादेखि अमेरिकी पूर्वसांसदसम्म प्रशिक्षक
सांसदहरूलाई संसदीय लोकतन्त्र, संविधान र संघीयताको आधारभूत सिद्धान्त बुझाउन पार्टीका शीर्ष नेताहरू नै प्रशिक्षकका भूमिकामा थिए । रास्वपाका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतमसम्मले प्रशिक्षण दिएका थिए ।
संघीयता कार्यान्वयन र निर्वाचन क्षेत्रको प्राथमिकतालाई नीतिगत तहमा लैजाने विषयमा नेकपाको सत्रमा पूर्वमन्त्री वर्षमान पुन र एमालेको सत्रमा महासचिव शंकर पोखरेलले प्रशिक्षण दिएका थिए । त्यस्तै, विधेयक कसरी बन्छ र पास हुन्छ भन्ने कानुनी प्रक्रियाबारे डा. खिमलाल देवकोटा र माधव पौडेलले पढाएका थिए।
कार्यक्रममा सांसदहरूले संसदीय निगरानी र नैतिकताको अन्तर्राष्ट्रिय अभ्यासबारे पनि ज्ञान लिएका छन्। पूर्व अमेरिकी सांसद स्टिभ ड्रिहाउसले सरकारको कार्यसम्पादनमाथि निगरानी कसरी राख्ने भन्नेबारे आफ्ना अनुभव सुनाएका थिए।
स्टिभले सांसदहरूलाई चुनावमा मात्र नभई सधैंभरि युवासँग कसरी जोडिने, स्वार्थको द्वन्द्वबाट कसरी बच्ने र भ्रष्टाचारविरुद्ध कसरी उभिने भन्ने विषयमा समेत अभिमुखीकरण गराएका थिए।
स्टिभले संसद्को नैतिकता नामक सत्रमा प्रभावकारी विधायिकाका विशेषता, संसदीय मापदण्डको सुधार, लोकतान्त्रिक संसद्का सूचक, सांसदको आचारसंहिता, स्वार्थको द्वन्द्व, भ्रष्टाचारविरुद्धको संरचना तथा सूचनादाताको संरक्षणजस्ता विषयमा अभिमुखिकरण गरेका थिए ।

एमालेलाई दिइएको प्रशिक्षणमा जनसांख्यिकीय परिवर्तन तथा जनसंख्याको प्रवृत्तिले नीतिमा पार्ने प्रभावबारे पनि छलफल गरिएको थियो।
एमालेको प्रशिक्षणमा लेखक तथा अध्येता चेतन अधिकारीले यस क्रममा नेपालको जनसंख्याको संरचना, बढ्दो युवा जनसंख्या, आन्तरिक बसाइँसराइ तथा सहरीकरण, वैदेशिक रोजगारीका कारण निर्वाचन क्षेत्रमा पर्ने प्रभाव र जनसंख्या वृद्धितर्फ देखिन थालेका संकेतबारे जानकारी गराउँदै निर्वाचन क्षेत्रको योजना तथा बजेट निर्माणमा जनसांख्यिकीय तथ्यांकको प्रभावकारी प्रयोग गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
कार्यपत्र माथी धारणा राख्दै सांसद एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका सांसद डा.पुष्प कँडेलले एउटा भूगोलतिर मात्र केन्द्रित हुँदै गएको जनसंख्यिक बहावलाई व्यवस्थापन गर्न राज्यले ढिला गर्नुनहुने बताएका थिए । एमाले राष्ट्रिय सभा दलका नेता डा.प्रेम दंगालले समाजलाई विभिन्न ढंगले अध्ययन गरिए पनि अंकमा ढालेर हेर्दा चित्र नै फरक आएको बताएका थिए ।

सबैलाई एआई र साइबर सुरक्षाको चासो
प्रमुख दलका नेताहरूको प्रशिक्षणमा एउटा साझा विषय थियो– प्रविधिको प्रयोग। एमाले र नेकपाका सांसदहरूलाई पनि संसदीय कार्यमा एआईको सुरक्षित प्रयोग कसरी गर्ने भनेर प्रत्यक्ष प्रदर्शन नै गरेर देखाइएको थियो।
सामाजिक सञ्जालको एल्गोरिदमले कसरी काम गर्छ, गलत सूचना कसरी चिन्ने र सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो आधिकारिक खाता कसरी सुरक्षित राख्ने भन्नेबारे उनीहरूलाई सिकाइएको संस्थाले जनाएको छ।
अढाई दिने प्रशिक्षणको समापन समारोहमा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव पद्मा अर्याल पुगेका थिए।
उनीहरूले सांसदहरूको क्षमता विकास र लोकतन्त्रलाई बलियो बनाउन एनडीआईले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया 4