+
+
Shares

बागमतीमा मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर नेकपाभित्र किचलो

बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ८:२६
क्रमश : शालिकराम जम्कट्टेल, गंगानारायण श्रेष्ठ र कृष्ण शर्मा खनाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमतीका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिने तयारी गर्दा नेकपाभित्र मन्त्री छनोट र शक्ति बाँडफाँटका कारण विवाद चर्किएको छ ।
  • नेकपाका असन्तुष्ट सांसदहरू प्रदेशसभा बैठकमा अनुपस्थित हुँदा सोमबारको बैठक बस्न सकेन, र उपसभामुख अप्सरा चापागाईंले मंगलबार ४ बजेका लागि बैठक बोलाएकी छन् ।
  • १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत चाहिने भएकाले नेकपा र राप्रपाभित्रको विवादले मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा परेको छ ।

९ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिने तयारी गर्दा नेकपा संसदीय दलका उपनेता कृष्णशर्मा खनाल, गंगानारायण श्रेष्ठ लगायतका सांसदहरू प्रदेश सभा बैठकमै उपस्थित भएनन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र जसरी नै एकलौटी निर्णय गरेको, पूर्वमाओवादी पृष्ठभूमिका नेता मात्रै निर्णयकर्ता बनेको,  दलभित्र पर्याप्त छलफल नगरेको र शक्ति बाँडफाँटमा न्यायोचित व्यवहार नभएको भन्दै नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल स्वयं असन्तुष्ट छन् ।

दलभित्रको असन्तुष्टकै कारण प्रदेश सभा बैठकमा सांसदहरू उपस्थित नभएको दलका नेता शालिकराम जम्कट्टेल स्वीकार गर्छन् ।

‘दलबाट निर्वाचित उहाँहरूको काम सरकार बनाउने, मन्त्री बनाउने र आफू पनि मन्त्री बन्ने हो । साथीहरूका आफ्ना केही कुराहरू हुन सक्छन्, त्यो अन्यथा भएन,’ सोमबार अनुपस्थित भएका सांसदहरूबारे जम्कट्टेले भने ।

तर, सोमबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म प्रदेश सभा बैठक सारिएको थियो । तर नेकपाभित्रको शक्ति संघर्ष र मन्त्री छनोट किचलोले प्रदेशसभा बैठक बस्न सकेन ।

उपसभामुख अप्सरा चापागाईंले मंगलबार ४ बजेका लागि बैठक बोलाएकी छन् ।

नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण पनि सोमबारको प्रदेश सभा बैठक बस्न नसकेको एमालेका एक सांसद बताउँछन् । एमालेका ती सांसदका अनुसार नेकपाका सांसदहरू कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईं असन्तुष्ट छन् ।

रिक्त सभामुख पद र नियुक्त हुन बाँकी एक मन्त्रीका लागि नेकपाभित्र हानथाप चल्दा र राप्रपाभित्र विभाजनका कारण मुख्यमन्त्री थापालाई विश्वासको मत लिन संकट आइपरेको हो ।

राप्रपाका भुवनकुमार पाठकले जेनजी आन्दोलनका बेला राजीनामा दिएपछि बागमती प्रदेश सभा करिब एक वर्षदेखि सभामुख विहीन छ ।

प्रदेशको सत्ता गठबन्धनमा एमाले र नेकपाबीच भएको भागबण्डाअनुसार सभामुख नेकपाको भागमा परेको छ । सभामुखका लागि नेकपाबाट कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठलगायत दाबेदार छन् । यसअघि सभामुखमा नेकपाका रत्नप्रसाद ढकालको नाम चर्चामा थियो । ढकाल जम्कट्टेल पक्षका मानिन्छन् । जम्कट्टेलले छलफल नै नगरी जिम्मेवारी बाँडेपछि उनीहरू रुष्ट बनेको सांसदहरूको भनाइ छ ।

यसैगरी, ४ भदौमा गठित किरण थापा नेतृत्वको सरकारमा नेकपाले भागबण्डाअनुसार पाएको दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई पठाएको छ । थप एक मन्त्रीको नाम पठाउन बाँकी छ । तर नेकपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै छन् । पूर्व माओवादी पृष्ठभूमिबाट पौडेल मन्त्री भइसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका एक जनालाई मन्त्री बनाउनुपर्ने दबाबमा नेता जम्कट्टेल छन् । जसमा जम्कट्टेलले रमा आले मगरलाई अगाडि सारेका छन् ।

`समाजवादीबाटै रमा माननीयलाई मन्त्री बनाउने, कृष्ण शर्मा माननीयको पनि सभामुखमा दाबी हुनु र मन्त्रीका आकांक्षीहरू धेरै हुनुले समस्या देखिएको हो,’ नेकपाका एक सांसद भन्छन् ।

नेकपा संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकमा पनि असन्तुष्ट सांसदहरू उपस्थित थिएनन् ।

नेकपाबाट कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठ मुख्यमन्त्रीका दाबेदार थिए । भागबण्डामा एमालेलाई सरकारको नेतृत्व परेपछि श्रेष्ठले सार्वजिनक रूपमै असन्तुष्टि जनाएका थिए । खनाल र श्रेष्ठ दुवै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भइसकेका छन् ।

नेकपामा पूर्वमाओवादी पृष्ठभूमिका सांसद प्रेमबहादुर पुलामी पनि पार्टीबाट पटक-पटक अन्यायमा परेको भन्दै असन्तुष्ट छन् । पुलामी भने सोमबार प्रदेशसभा बैठकका लागि उपस्थित भएका थिए । संविधानसभा सदस्यसमेत रहेका उनी दुई पटक प्रदेशसभा सदस्य निर्वाचित हुन । प्रदेशसभाको ९ वर्षे अवधिमा उनी संलग्न दल करिब ७ वर्ष सत्तामा रहँदा पनि मन्त्री बन्न बञ्चित रहे । अनलाइनखबरसँगको संवादमा सोमबार उनले मन्त्री बनेर जनताको काम गर्छु भन्दा अन्यायमा परेको भन्दै दुःख पोखे । पुलामी पार्टीको निर्णय कार्यान्वयनमा भने प्रतिबद्ध रहेको बताउँछन् ।

यस्तै, सरकारलाई समर्थन गरेको राप्रपाभित्रको विवाद थप चर्किँदै जानु र सत्तारुढ गठबन्धनभित्र सांसदहरूको असन्तुष्टिका कारण मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा परेको छ ।

१०४ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न बहुमत अर्थात ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा १०४ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?