+
+
Shares

बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा बागमती प्रदेश संसदीय दलमा मुख्यमन्त्री किरण थापाको विश्वासको मतबारे दुई समूहले विपरीत ह्विप जारी गर्दा विवाद थप चर्किएको छ।
  • कुमारी तामाङले विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी थिइन् भने डम्बर तामाङले पक्षमा मतदान गर्न अर्को ह्विप जारी गरेका छन्।
  • मुख्यमन्त्री थापाले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन्, र उनलाई बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक छ।

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ ।

मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट सोमबार लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले आ-आफ्ना प्रदेश सभा सदस्यलाई फरक-फरक निर्देशनसहित ह्विप जारी गरेका छन् ।

यसअघि आइतबार राप्रपा बागमती प्रदेश सभाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी थिइन् । उक्त ह्विप प्रदेश सभाका राप्रपा सांसदहरूलाई पठाइएको थियो ।

सोही विषयमा आइतबार नै राप्रपा संसदीय दलको प्रमुख सचेतकका रूपमा डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भएको छ ।

डम्बर तामाङले जारी गरेको पत्रमा प्रदेश सभाको बैठकमा अनिवार्य सहभागी भई मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको उल्लेख छ ।

पत्रमा उक्त ह्विप दलको बैठकको निर्णय तथा राप्रपा संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले तामाङलाई सरकार गठन हुनु अगावै प्रमुख सचेतकबाट हटाएका थिए ।

यससँगै बागमती प्रदेश सभामा राप्रपाका सांसदहरूलाई एउटै विषयमा दुई समूहबाट विपरीत निर्देशन पुगेको छ ।

एक समूहले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न भनेको छ भने अर्को समूहले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेपछि अन्यौलता सिर्जना भएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलमा यसअघि नै मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा विवाद देखिएको थियो ।

प्रदेश संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी एक पक्षले गर्दै आएको छ भने राप्रपा केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयविपरीत भएको बताउँदै आएको छ ।

यही विवादका कारण प्रदेश सभामा राप्रपाको आधिकारिक संसदीय दलको निर्णय र ह्विप कसको मान्य हुने भन्ने प्रश्नसमेत थप पेचिलो बनेको छ ।

मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका बेला राप्रपाभित्र देखिएको दुई थरी ह्विपले प्रदेश सरकारको पक्षमा र विपक्षमा रहने सांसदहरूको समीकरणलाई थप अन्योलपूर्ण बनाएको छ ।

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि अनिवार्य उपस्थितको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

थापाले विश्वासको मत पाउन प्रदेश सभाको बहुमत ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपाको २६ र एमालेको २५ गरेर ५१ जना मात्रै सांसद छन् । उपसभामुख अप्सरा चापागाईं रहेकाले उनले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ । जस कारण मुख्यमन्त्री थापालाई प्रदेश सभाको चौथो ठूलो दल राप्रपाको साथ अनिवार्य बनेको हो ।

राप्रपा दुई समूहमा विभाजित भएकाले थापाले विश्वासकाे मत प्राप्त गर्ने प्रदेश सभा सदस्यकाे यकिन संख्यामा अझै अन्याैल छ । हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ  । यहाँ नेपाली कांग्रेसको ३६ सिट, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?