News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले नेकपा एमालेको नेतृत्वमा जबजको जनमुखी मर्मभन्दा पद, प्रभाव र राजनीतिक निरन्तरताको प्राथमिकता बढेको विश्लेषण गरेको छ।
- मदन भण्डारीको जनशैलीअनुसार नेतृत्व जनतासँग जोडिएको, आलोचना सहने र संस्थागत लोकतन्त्र बलियो बनाउने हुनुपर्ने लेखमा जोड दिइएको छ।
- लेखले अनुयायी होइन उत्तराधिकारी निर्माण, नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिनु एमालेको भविष्यका लागि आवश्यक भनेको छ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नेता र नेतृत्वको चरित्र तथा मनोविज्ञानबारे गम्भीर प्रश्नहरू छन्।
राजनीतिक नेतृत्व राष्ट्रिय हित, जनताको मुक्ति, सामाजिक रूपान्तरण , सामाजिक न्याय र राष्ट्र निर्माणका लागि हो कि सत्ता, पद र व्यक्तिगत प्रभावको निरन्तरताका लागि ?
इतिहासको अध्ययन गर्दा नेतृत्व पद र प्रतिष्ठाका लागि हो कि विचार र परिवर्तनका लागि भन्ने आजको प्रश्न हो ।
यो मनोविज्ञान आजसम्म आइपुग्दा नेपालको प्रायः सबै राजनीतिक दलको नेतृत्वमा देखिन्छ। मेरो लेख चाहिँ यसको केन्द्रबिन्दु जनताको बहुदलीय जनवादका उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्ने नेकपा एमालेको वरिपरि केन्द्रित छ। किनकि एमालेको वैचारिक आधार जबज हो।
यसको लक्ष्य सत्ता प्राप्त गर्नु मात्र थिएन। यसको राजनीतिक कार्यक्रम जनताको सार्वभौमसत्ता, सहभागिता, प्रतिस्पर्धात्मक लोकतन्त्र, जनउत्तरदायी नेतृत्व, सामाजिक न्याय र राष्ट्रहितमा आधारित समृद्धिसहितको राजनीतिक रूपान्तरणको सिद्धान्त हो।
मदन भण्डारीले विकास गर्नुभएको जबजको मूल मर्म अध्ययन गर्दा नेतृत्व कार्यकर्ता र जनताभन्दा माथि होइन, जनतासँग जोडिएको हुनुपर्छ भन्ने स्पष्ट हुन्छ।
पार्टीले समाजबाट शक्ति लिन्छ, त्यसैले समाजप्रति उत्तरदायी हुनुपर्छ। नेतृत्वको वैधता पदबाट होइन, विचार, आचरण, जनसम्बन्ध र जनविश्वासबाट निर्माण हुनुपदर्छ।
तर आजको राजनीतिमा एउटा गम्भीर विरोधाभास देखिन्छ। जनताको नाममा राजनीति गर्ने नेतृत्व नै कतिपय अवस्थामा आफूलाई केन्द्रमा राखेर जनता, संगठन र संस्थाभन्दा आफ्नो पद, प्रभाव र राजनीतिक निरन्तरतालाई प्राथमिकता दिन थालेको छ । त्यसैले यस विरोधाभासको दार्शनिक, वैचारिक, सांगठनिक, राजनीतिक मनोवैज्ञानिक विश्लेषण आवश्यक छ।
सत्ता : साधन कि जीवनको अन्तिम लक्ष्य
लोकतान्त्रिक राजनीतिमा सत्ता आफैँमा लक्ष्य होइन। सत्ता जनताको हितमा राज्य सञ्चालन गर्ने साधन हो।
तर जब सत्ता साधनबाट लक्ष्यमा रूपान्तरण हुन्छ, राजनीतिक चरित्रमा आधारभूत परिवर्तन आउँछ। राजनीति सेवाबाट स्वार्थमा बदलिन्छ, नेतृत्व जिम्मेवारीबाट विशेषाधिकारमा र संगठन विचारको माध्यमबाट व्यक्तिको संरक्षणतन्त्रमा रूपान्तरण हुन्छ।
अन्ततः सत्ताको निरन्तरता नै राजनीतिक सफलताको मापदण्ड बन्न पुग्छ। यही अवस्थालाई ‘सत्ताको अफिम’ भन्न सकिन्छ।
सत्ताको स्वादले मानिसलाई पदमा मात्र बाँध्दैन । त्यसले उसको मनोविज्ञानलाई समेत प्रभावित गर्न सक्छ। लामो समयसम्म शक्ति, पहुँच, निर्णय गर्ने अधिकार, सुरक्षा र प्रतिष्ठाको केन्द्रमा रहेको व्यक्ति सत्ताबाट बाहिरिनुलाई सामान्य लोकतान्त्रिक प्रक्रिया नभई आफ्नो अस्तित्वमाथिको चुनौती ठान्न सक्छ।
त्यसपछि आलोचना असहयोग हुन्छ, असहमति षड्यन्त्र, प्रश्न विद्रोह र उत्तराधिकारी प्रतिस्पर्धी बन्न पुग्छ।
संगठन नेतृत्वभन्दा ठूलो बन्न थालेपछि नेतृत्वलाई असहज लाग्न सक्छ। पार्टी संस्थागत हुँदै जाँदा त्यसलाई कमजोर बनाउने प्रवृत्तिबाट व्यक्तिवादी राजनीतिक संस्कृतिको जन्म हुन्छ।
मदन भण्डारीको राजनीतिक योगदानलाई जबजका प्रतिपादक भन्ने परिचयमा सीमित गर्नु पर्याप्त हुँदैन।
उहाँको नेतृत्वशैलीको महत्वपूर्ण विशेषता राजनीतिक विचारलाई जनजीवनसँग जोड्नु र संगठनलाई समाजसँग निरन्तर संवादमा राख्नु थियो। उहाँले जनआधारित संगठन र कार्यकर्ताको भूमिकालाई विशेष महत्त्व दिनुभयो।
त्यसैले जबजको मर्मलाई व्यवहारमा उतार्दा नेतृत्वका केही आधारभूत चरित्र देखिन्छ। जनतासँग सम्बन्ध, जनताप्रति उत्तरदायित्व, राजनीतिक प्रतिस्पर्धाको स्वीकार्यता, आलोचनाप्रति खुलापन, संगठनात्मक जीवनमा लोकतान्त्रिक अभ्यास तथा राष्ट्रहित, सामाजिक न्याय र विकासप्रतिको प्रतिबद्धता।
मदन भण्डारीको जनशैलीको सबैभन्दा महत्वपूर्ण पक्ष यही थियो । राजनीति पार्टी कार्यालयभित्रको शक्ति–व्यवहार मात्र होइन। जनताको जीवन, आकांक्षा, दुःख, प्रश्न र चेतनासँग जोडिएको सामाजिक प्रक्रिया हो।
त्यसैले जबजलाई केवल निर्वाचन जित्ने रणनीति वा सत्ता प्राप्त गर्ने सूत्रका रूपमा बुझियो भने यसको मूल राजनीतिक दर्शन नै संकुचित हुन्छ।
जननेता र शक्तिकेन्द्रित नेताबीचको अन्तर
जबजको वास्तविक शक्ति जनतालाई राजनीतिको केन्द्रमा राख्नुमा छ। जननेता र सत्ताकेन्द्रित नेताबीचको अन्तर छुट्याउन सक्नुपर्छ।
जननेताको शक्ति जनताबाट आउँछ; सत्ताकेन्द्रित नेताको शक्ति पदबाट आउँछ। जननेता जनताबीच गएर स्थापित हुन्छ ।
सत्ताकेन्द्रित नेता शक्तिकेन्द्र वरिपरि घेरा बनाएर आफूलाई सफल ठान्छ। जननेता आलोचना सुन्छ, सत्ताकेन्द्रित नेता प्रशंसा खोज्छ। जननेता उत्तराधिकारी निर्माण गर्छ, सत्ताकेन्द्रित नेता अनुयायी बनाउँछ। जननेता संस्था बलियो बनाउँछ , सत्ताकेन्द्रित नेता संस्थालाई आफूमा निर्भर बनाउँछ।यही अन्तरले राजनीतिक नेतृत्वको चरित्र निर्धारण गर्छ।
मदन भण्डारीको राजनीतिक शैलीबाट सिक्नुपर्ने मूल पाठ यही हो , नेता जनताभन्दा माथि उभिएर निर्देशन दिने व्यक्ति होइन, जनताको चेतना, आकांक्षा र संघर्षसँग जोडिएर नेतृत्व गर्ने राजनीतिक प्रतिनिधि हो।
जबज र आजको नेतृत्वबीचको वैचारिक दूरी
आज नेकपा एमालेको नेतृत्वबारे बहस गर्दा व्यक्ति विशेषको समर्थन वा विरोधमा सीमित हुनु हुँदैन।
आजको नेतृत्व व्यवहार जबजको मूल जनमुखी दर्शनसँग कति नजिक छ भन्ने हो । जबजले संस्थागत लोकतन्त्र, जनउत्तरदायित्व र राजनीतिक प्रतिस्पर्धालाई स्वीकार गर्छ।
त्यसैले पार्टीभित्र पनि स्वस्थ बहस, विचारको विविधता र आलोचनात्मक चेतनाको स्थान हुनुपर्छ।
जब पार्टीभित्र नेतृत्वको आलोचना नै नेतृत्वविरोधी अपराधजस्तो बन्न थाल्छ, असहमतिलाई वैचारिक बहसको सट्टा व्यक्तिगत निष्ठाको परीक्षण मानिन्छ र संगठनको सक्रियता जनताको प्रश्नभन्दा नेतृत्वको संरक्षणमा केन्द्रित हुन्छ, त्यहाँ जबजको आत्मासँग दूरी बढ्न थाल्छ।
राजनीतिक संस्कारबाट बाहिर गएर ‘आवारा’, ‘किर्ना’, ‘उरन्ठेउला’ र ‘सडकछाप’ जस्ता पदावली प्रतिशोधात्मक रूपमा प्रयोग हुनु त्यसैको संकेत हो। राजनीतिक बहसलाई गाली र अपमानको भाषामा झार्नु लोकतान्त्रिक तथा वैचारिक संस्कारको क्षय हो।
लोकतन्त्र : जबजको सदाबहार धुकधुकी
जबजको लोकतन्त्र बाहिर देखाउने नारा मात्र होइन, पार्टीको आन्तरिक जीवनमै लागू हुने मूल सिद्धान्त हो।
फरक मतको सम्मान, बहस, आलोचना–आत्मालोचना र लोकतान्त्रिक निर्णय प्रक्रिया यसको वास्तविक अभ्यास हो।लोकतन्त्र संसदमा मात्र होइन, पार्टीभित्र पनि चाहिन्छ। नेतृत्वको भाषामा पनि चाहिन्छ। असहमतिप्रतिको व्यवहारमा पनि देखिनुपर्छ। नेतृत्व हस्तान्तरणको संस्कृतिमा पनि अभिव्यक्त हुनुपर्छ।
जनतासँग भेट कि वास्तविक सम्बन्ध
आज राजनीतिमा जनसम्बन्ध शब्द धेरै प्रयोग हुन्छ। तर जनतासँग भेट्नु र जनतासँग सम्बन्ध निर्माण गर्नु एउटै कुरा होइन। जनसभामा भाषण गर्नु जनसम्बन्धको एउटा रूप हो।
तर जनताको कुरा सुन्नु, उनीहरूको आलोचना स्वीकार गर्नु, समस्या बुझ्नु, नीति सच्याउनु र संकटमा जनताको साथमा उभिनु वास्तविक जनसम्बन्ध हो।
मदन भण्डारीको राजनीतिक शैलीको महत्वपूर्ण पक्ष यही जनतासँग संवाद गर्ने क्षमता थियो।
आजको डिजिटल युगमा सामाजिक सञ्जालमा हजारौँ समर्थक देखिनु जनविश्वासको पूर्ण प्रमाण होइन। साँचो जनसम्बन्धको परीक्षा निर्वाचनमा मात्र हुँदैन।
त्यो गाउँको बाटोमा हुन्छ, किसानको खेतमा हुन्छ, युवाको बेरोजगारीमा हुन्छ, श्रमिकको जीवनमा हुन्छ, सीमान्तकृत नागरिकको पीडामा हुन्छ र राज्यप्रति जनताको निराशा सुन्ने क्षमतामा हुन्छ।
नेता जनताबाट टाढिँदै गएपछि उसका वरिपरिका मानिसहरूले वास्तविक राजनीतिक अवस्था लुकाउन थाल्छन्। त्यसपछि नेता जनताको आवाज होइन, आफ्नै घेराको आवाज सुन्न थाल्छ।
व्यक्तिवादको मनोविज्ञान : ‘म नै पार्टी हुँ’
राजनीतिक नेतृत्वमा व्यक्तित्व हुनु स्वाभाविक हो। नेतृत्व निर्णय, दृष्टि र उत्तरदायित्वको केन्द्र पनि हो। तर व्यक्तित्व र व्यक्तिवाद एउटै कुरा होइन ।
व्यक्तित्वले संस्थालाई नेतृत्व गर्छ , व्यक्तिवादले संस्थालाई आफूभित्र समाहित गर्छ।जब नेताले आफूलाई पार्टीभन्दा माथि, संस्थाभन्दा ठूलो र विचारभन्दा अपरिहार्य ठान्न थाल्छ, त्यहाँ व्यक्तिपूजाको राजनीति जन्मिन्छ।
म नभए पार्टी चल्दैन, मेरो विकल्प छैन, ममाथिको आलोचना पार्टीमाथिको हमला हो भन्ने मनोविज्ञान विकसित भएपछि योग्यताभन्दा नजिकपन महत्वपूर्ण हुन्छ, विचारभन्दा व्यक्तिगत सम्बन्ध बलियो हुन्छ र आलोचनाभन्दा प्रशंसा सुरक्षित ठानिन्छ।
यसले बिस्तारै पार्टीको राजनीतिक चरित्र परिवर्तन गर्छ। पार्टी जनताको संस्था नभई नेतृत्वको शक्ति संरचना बन्न थाल्छ।
यस सन्दर्भमा राजनीतिक समाजशास्त्री रोबर्ट मिचेल्सको ‘आइरन ल अफ ओलीगार्की’ अहिलेको एमालेका लागि पनि चेतावनी बन्न सक्छ।
उनले लोकतान्त्रिक उद्देश्यबाट जन्मिएको संगठनसमेत समयसँगै सीमित नेतृत्व समूहको नियन्त्रणमा पुग्न सक्ने खतरा औँल्याएका थिए। नेपालको राजनीतिक दलको विकास बुझ्न पनि यो सिद्धान्त उपयोगी छ।
आन्दोलनबाट पार्टीको निर्माण
क्रान्तिकारी आन्दोलनको संघर्ष, त्याग र बलिदानबाट पार्टी निर्माण हुन्छ। पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन । सामूहिक संघर्षको उपलब्धि हो।
यसको शक्ति विचार, संगठन र जनसम्बन्धमा निहित हुन्छ। त्यसैले नेतृत्वले इतिहास र कार्यकर्ताको योगदानको सम्मान गर्नुपर्छ।
पार्टीबाट संगठन निर्माण हुन्छ, संगठनबाट नेतृत्व निर्माण हुन्छ र नेतृत्वबाट शक्ति निर्माण हुन्छ। तर शक्ति क्रमशः नेतृत्वको वरिपरि केन्द्रित हुँदै गएपछि संस्था व्यक्तिभन्दा कमजोर र व्यक्ति संस्थाभन्दा शक्तिशाली बन्न सक्छ। यही अवस्था कुनै पनि कम्युनिस्ट पार्टीका लागि वैचारिक खतरा हो।
किनकि कम्युनिस्ट पार्टीको मूल दाबी हो । व्यक्तिभन्दा विचार ठूलो, व्यक्तिभन्दा संगठन ठूलो र संगठनभन्दा जनता ठूलो।यदि व्यवहार उल्टो भयो भने सिद्धान्त र व्यवहारबीचको अन्तर असह्य बन्छ।
नेपालका पुराना नेताहरूको ऐतिहासिक योगदानलाई अस्वीकार गर्नु न्यायसंगत हुँदैन। उनीहरूले लोकतान्त्रिक संघर्ष, राजनीतिक परिवर्तन र राज्य निर्माणका विभिन्न चरणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
तर योगदान सम्मानयोग्य हुन्छ, आजीवन राजनीतिक अधिकारको प्रमाणपत्र होइन। नेतृत्वको मूल्यांकन वर्तमान क्षमता, विचार र कार्यसम्पादनबाट पनि हुनुपर्छ।
विगतको योगदानको सम्मानसँगै नयाँ पुस्तालाई अवसर दिनुपर्छ। पार्टीमा नेतृत्व नवीकरण लोकतान्त्रिक संस्कार बन्नुपर्छ।
इतिहासको सम्मान गर्दै भविष्यका लागि बाटो खोल्नु नै सही राजनीति हो। इतिहासले सम्मान दिन्छ, तर इतिहासले वर्तमानको जवाफदेहिता समाप्त गर्दैन।प्रश्न यो होइन।
पुराना नेता किन हट्ने प्रश्न होईन कुन समयमा नेतृत्व हस्तान्तरण गर्दा पार्टी, विचार र राष्ट्र अझ बलियो हुन्छ। उत्तर खोजिनु पर्छ । नेतृत्वबाट बाहिरिनु पराजय होइन। आफूभन्दा सक्षम पुस्तालाई अगाडि ल्याउनु नेतृत्वको परिपक्वता हो।
अनुयायी होइन, उत्तराधिकारी निर्माण गरौँ
आज नेपाली राजनीतिक दलहरूको एउटा गम्भीर कमजोरी हो नेतृत्वले उत्तराधिकारी भन्दा अनुयायी उत्पादन गर्न खोज्नु। यो नेतृत्वको कमजोरी हो।
कम्युनिस्ट पार्टीमा अनुयायी मात्र पर्याप्त हुँदैनन्। विचार र नेतृत्वलाई विकास गर्न सक्ने उत्तराधिकारी तयार गर्नुपर्छ। उत्तराधिकारी व्यक्तिको निकटताबाट होइन, विचार, क्षमता, संघर्ष र योगदानबाट निर्माण हुनुपर्छ।
अनुयायीले नेताको आदेश पालना गर्छ; उत्तराधिकारीले नेताको विचारलाई आलोचनात्मक रूपमा विकास गर्छ।
अनुयायीले नेताको बचाउ गर्छ; उत्तराधिकारीले आवश्यकता पर्दा नेताको निर्णयलाई चुनौती दिन्छ। अनुयायी नेतृत्वसँग सुरक्षित रहन्छ; उत्तराधिकारी संस्थाको भविष्य सुरक्षित गर्छ।
त्यसैले आलोचना गर्न सक्ने कार्यकर्ता उत्पादन नगर्ने पार्टी अन्ततः विचारहीन बन्न सक्छ। जब पार्टीभित्र प्रश्न गर्ने मानिस घट्छन्, पार्टी बाहिर जनताले प्रश्न गर्न थाल्छन्। र जब पार्टीले जनताको प्रश्न सुन्न छोड्छ, निर्वाचनले त्यसको उत्तर दिनुपर्छ ।
एमालेका मूल प्रश्न
आज एमालेका सामु मुख्य चुनौती आगामी निर्वाचन जित्नु होइन। मुख्य चुनौती आफ्नो वैचारिक पहिचान र जनसम्बन्धलाई पुनर्जीवित गर्नु हो।
जबजलाई भाषणको उद्धरणबाट व्यवहारको राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नु हो।
मदन भण्डारीको जनशैलीलाई स्मृतिको विषयबाट वर्तमान नेतृत्वको आचरणमा रूपान्तरण गर्न आवश्यक छ।
कार्यकर्तालाई केवल चुनावी परिचालनको साधन होइन, विचार निर्माणको सहभागी बनाउनुपर्छ। असहमतिलाई दुश्मनी होइन, सुधारको स्रोत मान्नुपर्छ।
नेतृत्वलाई व्यक्तिको स्थायी सम्पत्ति होइन, पुस्तान्तरण हुने सार्वजनिक जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्छ।
एमालेको भविष्य कुनै एक नेताको लोकप्रियता वा राजनीतिक शक्तिले मात्र निर्धारण गर्ने होइन। एमालेले आफूलाई कति लोकतान्त्रिक, जनमुखी, वैचारिक र संस्थागत बनाउन सक्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ।
अब नेपालको राजनीतिमा, विशेषतः कम्युनिस्ट पार्टीमा, नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक चरित्र चाहिएको छ। भावी एमाले नेतृत्वमा कम्तीमा यी आठ गुण आवश्यक छन।
विचारप्रति निष्ठा ,जनसम्बन्ध ,आलोचना सहने क्षमता ,संस्थागत लोकतन्त्र, उत्तराधिकारी निर्माण,सत्तासंयम, राष्ट्र प्रथम, जनशैली यो गुण हुन आवश्यक छ ।
नेतृत्वको अन्तिम परीक्षा
मदन भण्डारीको राजनीतिक विरासतलाई साँचो अर्थमा सम्मान गर्ने हो भने उहाँको तस्वीरमा माला लगाएर मात्र पुग्दैन। उहाँले उठाएको जनमुखी राजनीतिक दर्शनलाई नेतृत्वको व्यवहारमा उतार्नुपर्छ।
जबजलाई निर्वाचनको घोषणापत्रमा मात्र होइन, पार्टीको आन्तरिक जीवनमा लागू गर्नुपर्छ। जनताको बहुदलीय जनवादको अर्थ जनताको नाम उच्चारण गर्नु मात्र होइन ।
जनताको आलोचना सुन्न सक्ने लोकतान्त्रिक संस्कार निर्माण गर्नु पनि हो। आजको एमाले नेतृत्वले आफूलाई एउटा ऐतिहासिक प्रश्न सोध्नुपर्ने समय आएको छ ।
विचारका उत्तराधिकारी हौँ कि होइनौं ? यदि हामी मदन भण्डारीका विचारका उत्तराधिकारी हौँ भने नेतृत्व जनतासँग अझ नजिक हुनुपर्छ। पार्टीभित्र लोकतन्त्र अझ गहिरो हुनुपर्छ।
असहमतिप्रति सहिष्णुता बढ्नुपर्छ। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ र सत्ता तथा पदप्रतिको मोहलाई राजनीतिक संस्कारले नियन्त्रण गर्नुपर्छ।
राजनीतिक नेतृत्वको महानता उसले कति लामो समय पदमा रह्यो भन्नेमा हुँदैन। उसले कति बलियो संस्था निर्माण गर्यो, कति सक्षम नयाँ पुस्ता तयार गर्यो, कति जनविश्वास निर्माण गर्यो र आफ्नो अनुपस्थितिमा पनि पार्टीलाई कति सबल बनाएर छोड्यो, त्यसमा हुन्छ।
मदन भण्डारीको राजनीतिक दर्शनलाई वर्तमान सन्दर्भमा पुनः अध्ययन गर्दा केही आधारभूत छ शिक्षा हामीले प्राप्त गरेका छौं । नेता जनताभन्दा माथि होइन, जनताको बीचमा हुनुपर्छ। पार्टी नेता होइन, विचार र जनताको संस्था हुनुपर्छ। पद अधिकार होइन, जिम्मेवारी हुनुपर्छ। आलोचना दुश्मनी होइन, सुधारको आधार हुनुपर्छ। उत्तराधिकारी प्रतिस्पर्धी होइन, संस्थाको भविष्य हुनुपर्छ। सत्ता जीवनको अन्तिम गन्तव्य होइन ,राष्ट्र र जनताको सेवाको अस्थायी साधन हुनुपर्छ।
यदि एमालेले जबजलाई पुनः जनताको जीवनसँग जोड्न चाहन्छ भने मदन भण्डारीको जनशैलीलाई व्यवहारमा उतार्नुपर्छ, पार्टीभित्र संस्थागत लोकतन्त्र बलियो बनाउनुपर्छ र नेतृत्व हस्तान्तरणलाई स्वाभाविक राजनीतिक संस्कार बनाउनुपर्छ। त्यसो गर्न सके एमालेले राजनीतिक पुनर्जागरणको बाटो खोल्न सक्छ।
(पोखरेल एमाले नेता हुन्)
प्रतिक्रिया 4