News Summary
Generated by OK AI. Editorially reviewed.- टिमुरे भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले बुधबार बिहान साढे ८ देखि पौने ९ बजेतिर एकाएक बाढी आएको बताए ।
- उनका अनुसार बाढी अफिस नजिकै आइपुगेपछि कर्मचारी र बजारका मानिसहरू चिच्याउँदै भागाभाग गरेका थिए ।
- उनले टिमुरे बजार तहसनहस भएको, करिब १५/२० जना मात्रै सम्पर्कमा रहेको र उद्धार टोली नदेखिएको बताए ।
१० भदौ, काठमाडौं । बुधबार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा हुनुपर्छ । हामी टिमुरे भन्सार कार्यालयमा थियौं । म कार्यालय गइसकेको थिएँ ।
एकाएक भुइँचालो आएजस्तो महसुस भयो, सबैजना आत्तियौं । अनि बाहिर निस्किएको त गड्याङ र गुडुङ गर्दै ठूलो आवाज आयो । केही सोच्न पनि नपाउँदै ज्वालामुखी विस्फोटको शैलीमा माथिबाट बाढी आएको देख्यौं ।
त्यो बाढी अफिसको नजिक आइसकेका थियो, हामी चिच्याउदै भागाभाग गर्यौं । हामी निकै चिच्याउदै सबैलाई निस्कन भन्यौं । त्यसक्रममा कोही साथी निस्कनुभयो, कोही साथीहरू निस्कन भ्याउनुभएन । बजारका प्राय: मानिसहरू निस्कन भ्याउनुभएन ।
हाम्रो अफिस भएको ठाँउ नै टिमुरे बजार हो । अहिले केही पनि बाँकी छैन । हाम्रो कार्यालयमा ३०/४० जना साथीहरू थियौं । कोही सम्पर्कमा हुनुहुन्छ, कोही सम्पर्कमा आउनुभएको छैन । अहिले कसैको पनि फोन लागेको छैन ।
मैले सम्पर्क गर्दा अर्को साथीको फोन लागेको छैन, उहाँले गर्दा मेरो पनि नलागेको होला । हामी करिव १५/२० जना मात्रै आपसमा सम्पर्कमा छौं, अरू कता हुनुहुन्छ, थाह छैन । सम्पर्कको प्रयास गर्दा बारम्बार अन्तबाट फोन आएर ‘डिस्टर्ब’ भएको छ ।
अहिले हामी बजारबाट माथि जंगलतिर बसेर सुरक्षित रूपमा बसेका छौं । कोही उद्धार टोलीलाई भेटेका छैनौं । अहिले खोलामा पानीको मात्रा घटेको छ । हामी फेरि तल बजारमा झर्न र अरुलाई खोज्न सम्भव नै छैन, किनभने सबै तहसनहस भएको छ ।
हामीहरू मध्येबाट कोही रेस्क्यू गर्न जाने र खोज्ने सम्भावना नै छैन । हामी भेटिएका कर्मचारीहरू, यहाँका केही गाँउलेहरू एकै ठाँउमा छौं । करिब ४०/५० जनाको समूह छ ।
टिमुरे बजार केही पनि जोगिएको छैन । माथितिर के भयो, तर के हाल छ ? हामीलाई केही पनि थाह छैन । आफू जोगिने र अरू साथीहरूको खोजी गर्ने ध्यानमात्रै छ ।
(टिमुरे भन्सारका प्रमुख राजेन्द्र ढुंगानासँगको कुराकानीमा आधारित )
प्रतिक्रिया 4