News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आज बिहान आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेशी क्षेत्रका बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् संरचनामा क्षति पुर्याएको छ।
- परराष्ट्र मन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटतिर भूकम्प गएको र त्यसले हिमपहिरो झरेर बाढी आएको प्रारम्भिक सूचना आएको तर पुष्टि हुन बाँकी रहेको बताए।
- चीन पक्ष र नेपाली अधिकारीले बाढीको वास्तविक कारण र सुरु भएको स्थान पहिचान गर्न स्याटेलाइटसहितका माध्यमबाट अनुसन्धान गरिरहेका छन्।
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आज बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीबाट टिमुरे, रसुवागढी र स्याफ्रुबेशी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ ।
तर, बाढी आउनुको कारण यकिन भएको छैन । परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार बाढीको कारणबारे प्रारम्भिक सूचना आउन थालेका छन् । तर प्रारम्भिक सूचनाको आधिकारिक रूपमा पुष्टि गर्न आवश्यक छ ।
मन्त्री खनालका अनुसार बिहान अन्दाजी ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी आयो । बाढी आउनुअघि त्यस क्षेत्रमा भूकम्प गएको थियो ।
‘प्रारम्भिक सूचनाअनुसार ८ बजेर ३७ मिमेटमा त्यो क्षेत्रमा भूकम्प गएको, भूकम्पले हिम पहिरो झरेको र त्यसका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएका छन् । तर त्यसलाई थप भेरिफाइ गर्न आवश्यक छ,’ मन्त्री खनालले भने ।
सरकार विपद्पछि उद्धारमा लागेको छ । तर बाढीको कारण पत्ता नलाग्दा सरकार नै अलमलमा छ । सत्तारुढ दल रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले नै सरकार अलमलमा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘…सबैको मुटु हल्लिने घटना हाम्रो सामु भइराखेको छ । यो बाढी अझै कहाँसम्म पुग्ने हो र कति क्षति हुने हो । क्षतिको विवरण अझै आइसकेको छैन । हामी कसरी जाने हो । सरकार पनि एक प्रकारको आफ्नो तयारीमा छ । यति हुँदा हुँदै पनि हामी सबै जना अन्योलमै छौं जस्तो देखिन्छ ।’
परराष्ट्र मन्त्रालयका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको वास्तविक कारण र बाढी सुरु भएको स्थानबारे चीन पक्षसमेत स्पष्ट हुन बाँकी छ ।
चीनको छेन्दुमा रहेका अधिकारीले चिनियाँ विज्ञ तथा सम्बन्धित निकायसँग समन्वयमा रहेर बाढीको स्रोत र कारण पत्ता लगाउने प्रयास भइरहेको छ । तर बुधबार साँझसम्म बाढी कहाँबाट सुरु भयो भन्ने स्थानसमेत यकिन हुन सकेको छैन ।
बाढी उत्पन्न भएको अनुमान गरिएको क्षेत्रमा सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिनाइ भइरहेको छ । चिनियाँ पक्षले विभिन्न माध्यमबाट घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको जानकारी भने नेपाल पक्षलाई दिएको छ ।
बाढीको सम्भावित उत्पतिस्थल पहिचान गर्न स्याटेलाइट प्रविधिको समेत प्रयोग गरिएको छ ।
घटनास्थल नै यकिन हुन नसकेकाले बाढीको कारणबारे तत्काल निष्कर्षमा पुग्न नसकिए तापनि भूकम्पले हिमपहिरो झरेर भोटेकोशीमा बाढी आएको प्रारम्भिक सूचना आएपछि यसलाई नै सार्वजनिक रूपमा भन्ने निष्कर्षमा पुगिएको र यसका केही आधारसमेत रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
प्राप्त तथ्यका आधारमा प्रारम्भिक रूपमा हिमपहिरो वा ठूलो पहिरो खसेर नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा एक्कासि ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको मन्त्रालयले बताएको हो ।
तर, यसको विज्ञहरूबाट आधिकाकारिक रूपमा पुष्टि हुन बाँकी छ ।
प्रतिक्रिया 4