+
+
Shares

नेपालमा बौद्ध धर्मको मूल्य–मान्यता र चेस खेलको विकासमा सहकार्य गर्न मंगोलिया इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।
  • मंगोलियाले बौद्ध धर्म, संस्कृति र चेस खेलको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।
  • परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा भूपरिवेष्टित मुलुकका हकहितमा मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

१८ साउन, काठमाडौं । नेपालमा बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति र चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलियाले इच्छुक रहेको बताएको छ ।

नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा यस्तो बताएका हुन् ।

उनीहरूबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।

छलफलमा पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मंगोलियाबीच रहेका भौगोलिक समानताहरूको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुकहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेपाल र मंगोलियाबीच साझा बौद्ध मूल्य–मान्यता तथा संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक–अर्काका आध्यात्मिक छिमेकी रहेको पनि बताएका छन् ।

यसक्रममा उनले बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलिया इच्छुक रहेको बताएका हुन् ।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट सिक्न सक्ने बताए ।

उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।

मन्त्री खनालले नेपाल र मंगोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए । उनले मंगोलियाले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै त्यसको प्रशंसा गरे ।

भेटवार्तामा नेपाल र मंगोलियाबीचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे समेत छलफल भएको थियो।

मन्त्री खनालले नेपालको नयाँ सरकार मंगोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध थप सुदृढ गर्न इच्छुक रहेको बताए । उनले दुई मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?