+
+
Shares

क्षणभरमै बाढीमा बिलाए बस्ती (भिडियो रिपोर्ट)

हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती, विदुर क्षेत्रमा पुग्दा बस्तीहरू खण्डहर देखिए । कति मानिस हराए, त्यसको विवरण छैन ।

दिनेश गौतम कमल प्रसाईं दिनेश गौतम, कमल प्रसाईं
२०८३ भदौ १० गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती र विदुर क्षेत्रमा ठूलो क्षति गरेको छ।
  • बाढीमा धेरै मानिस हराएको आशंका छ र घाइतेहरूको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेलिकप्टरबाट उद्धार गरिरहेको छ।
  • रसुवागढी नाकामा नेपाल र चीन दुवैतर्फका भवन, सवारी साधन र हाइड्रोपावर संरचना बगाएको छ, तर धुन्चे सुरक्षित रहेको छ।

१० भदौ, रसुवा । उनीहरू हातको इसाराले उद्धारको याचना गरिरहेका थिए । जब आकाशमा हेलिकप्टर देख्थे- बाँच्ने आशाले हात र आँखा माथितिर तन्काउँथे । तर, हेलिकप्टर बस्ने ठाउँ थिएन । कुनै हेलिकोप्टर त्यसै फर्किन्थे त कुनै कान्ला-कान्लामा बसेर घाइतेको उद्धार गरिरहेका थिए ।

बुधबार बिहान अकस्मात रसुवाको भोटेकोशीमा बाढी आएपछि प्रभावित क्षेत्रमा देखिएको दृश्य हो यो ।

हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती, विदुर क्षेत्रमा पुग्दा बस्तीहरू खण्डहर देखिए । कति मानिस हराए, त्यसको विवरण छैन । तर धेरै मानिस बाढीमा परेको उद्धारमा खटिएका पाइलटहरूले बताए ।

‘कसैको हात भाँचिएको छ त कसैको खुट्टा । अवस्था एकदमै बिजोग छ । कोही माटोमा पुरिएका छन् । पहिले बाक्लो रहेको बस्तीमा अहिले एउटै घर छैन,’ बिहानैदेखि उद्धारमा खटिएका कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारीले सुनाए ।

खोलाको सतहदेखि २७० फिट माथिसम्मका बस्तीहरूमा बाढी पसेको छ । भागेर बाँच्न सफल भएकाहरू बस्तीभन्दा माथिमाथि डाँडामा पुगेका छन्, आश्रय लिन ।


कोही बाढी पसेको घरकै छतबाट उद्धारको याचना गरिरहेका छन् । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहारी र सशस्त्र प्रहरीको टोली खटिएको छ । तर रसुवा, नुवाकोट, धादिङ, गोरखाका यी प्रभावित क्षेत्रमा उद्धार गर्न कठिनाइ भएको छ ।

रसुवागढी नाकामा कुनै भवन देखिएन । अघिल्लो वर्षको बाढीले बगाएर फेरि लयमा फर्कन थालेको मात्र थियो, यो नाका । नेपाल र चीन दुवैतर्फका भवन बगेका छन् । कुनै पनि संरचना बाँकी छैन । बाढीले ठूला–ठूला भवन पनि बगाएको छ । बगेका घरका संरचना कतै खोलाको बीच भागमा देखिन्छन् ।

नाकामा राखिएका सवारी साधन पनि एउटै थिएनन् । भएका पनि हिलोमा पुरिएका छन् । बीचबीचमा बाटाहरू अवरुद्ध भएका छन् । कतिपय ठाउँमा बाटोको सिमानासमेत देखिँदैन ।

त्यस क्षेत्रमा हाइड्रोपावर बनिरहेका थिए । तर धेरै ठाउँका हाइड्रोपावर बगाएको छ । कति वटा बगे, त्यसको विवरण यकिन भएको छैन । हाइड्रोपावरमा काम गरिरहेका कर्मचारीहरू पनि फसेका छन् । उनीहरू अझै उद्धारको प्रतीक्षामा छन् । रसुवाको सदरमुकाम धुन्चे भने जोगिएको छ । र, घाइतेलाई उद्धार गरेर ल्याउने ठाउँ धुन्चे बनेको छ ।

‘अहिले कतै पनि बाटोको पहुँच छैन । धुन्चे चाहिँ सुरक्षित छ,’ प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने, ‘क्षति धेरै भएको छ । अहिले घाइतेहरूको उद्धार भइरहेको छ ।’

जटिल घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । ‘अब फेरि अर्को उद्धारका लागि जान लागेको छु,’ उद्धारका लागि खटिएका पाइलट अधिकारीले भने, ‘पहिला जाँदा बाक्लो बस्ती थियो । अहिले खण्डहर बनेको छ । गाउँहरू कतै पनि छैनन् ।’

१२ गते जनै पुर्णिमाको लागि रसुवाको गोसाइकुण्ड जान लागेकाहरू पनि बाटोमै फसेका छन् । कैलाश पर्वत जानेहरू पनि रोकिएका छन् ।

‘हेलिप्याड छैन । बारीका कान्ला–कान्लामा हेलिकप्टर अवतरण गरेर मानिसहरूको उद्धार गरिरहेका छौँ । अहिले यही प्रक्रिया चलिरहेको छ,’ पाइलट अधिकारीले भने ।

साँझ परेसँगै घरबारविहीन भएकाहरू खुला आकाशमुनि बस्न विवश छन् । बाँचेकाहरू गाँस र बासको प्रतीक्षामा छन् ।

क्षतिको पूरा विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउँछन् । ‘अकस्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेका छन् । घरहरू बगाएका छन् । धेरै घाइते भएका छन् ।’

नेपालतर्फ पानी नपरेकाले बाढी पारि (चीन)बाट आएको हुनसक्ने उनले बताए । ‘हाम्रो साइडमा ठूलो खालको ग्लेसर थिएन । पारिबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पानी परेको थिएन । हिजो राति धुन्चेतिर अलिअलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’ बाढीको कारणबारे अध्ययन भइरहेको उनले बताए ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?