News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बततर्फबाट बुधबार बिहान आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली तल्लो तटीय क्षेत्रसम्म बस्ती, सडक, पुल र व्यापारिक पूर्वाधारमा क्षति पुर्याएको छ।
- रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा घर, पसल, सवारीसाधन र भन्सार संरचना बगेकाले उद्धार, क्षति संकलन र आवागमनमा कठिनाइ भएको छ।
- चिलिमे, रसुवागढी, त्रिशूली–३ ‘ए’ र त्रिशूली थ्रीबी सबस्टेशनसहित १३ देखि १५ जलविद्युत् आयोजनामा असर परेपछि विद्युत् उत्पादन र आपूर्ति अवरुद्ध भएको छ।
१० भदौ, काठमाडौं । बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म क्षति पुर्यायो । बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना र सीमावर्ती व्यापारिक पूर्वाधारमा क्षति पुर्याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन् ।
बाढीको पूर्ण क्षति र मानवीय क्षतिको यकिन विवरण अझै आइसकेको छैन । प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, चितवन हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।
रसुवा नाका
रसुवा नाकाको रसुवागढी क्षेत्रमा बाढीले सीमा व्यापारसँग जोडिएका संरचना, सडक, पुल र आसपासका पूर्वाधारमा ठूलो असर पारेको प्रारम्भिक विवरण छ । चीनसँगको व्यापारिक आवागमनको मुख्य मार्गसमेत प्रभावित भएपछि नाका क्षेत्रको अवस्था थप जटिल बनेको छ ।
अर्थ मन्त्रालयका अनुसार बाढी आएपछि कर्मचारीहरुसँग सम्पर्क गर्ने प्रयास भएको थियो । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका थिए । यसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् । रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृह र सबस्टेसनमा गम्भीर क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
टिमुरे
नेपाल–चीन सीमा नजिकको टिमुरे बजार बाढीको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो । भोटेकोशीको बहावले घर, पसल, सवारीसाधन, व्यापारिक सामान र सडक संरचना बगाएको प्रारम्भिक विवरण छ ।
टिमुरे भन्सार कार्यालय आसपासको क्षेत्रसमेत प्रभावित बनेको छ । बाढी सडकसम्मै आइपुगेका कारण भन्सार क्षेत्रभित्रको वास्तविक क्षति तत्कालै निरीक्षण गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । सुरक्षा जोखिमका कारण उद्धार तथा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भएको छ ।
टिमुरेमा रहेको सुरक्षा निकायको संरचनामा पनि क्षति पुगेको छ । केही सुरक्षाकर्मी सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी कार्य जारी रहेको अनौपचारिक विवरण आइरहेका छन् । तर, मानवीय क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन ।
चिलिमे
टिमुरे र स्याफ्रुबेँसी हुँदै आएको बाढीले चिलिमे क्षेत्रका जलविद्युत् संरचनामा पनि असर पारेको छ । चिलिमे जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएको स्थानीयवासी र प्रारम्भिक सरकारी विवरणमा उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चिलिमे जलविद्युत् केन्द्रसँगै रसुवागढी र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा पनि क्षति पुगेको छ । उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
स्याफ्रुबेंसी
स्याफ्रुबेंसी बजार टिमुरेपछि सबैभन्दा धेरै क्षति भएको ठाउँ हो । बजारका घर, होटल, पसल, प्रहरी चौकी र सडक पूर्ण रूपमा बगे । स्याफ्रुबेसीदेखि टिमुरे जाने सडक पूर्ण अवरुद्ध छ । यो क्षेत्रमा ठूलो जनधन क्षति भएको छ । पर्यटक बस र सवारीसाधन पनि बगेका छन् । बजार क्षेत्रमा ठूलो क्षति भएको स्थानीयहरूले बताएका छन् । कुनै ड्याम फुटेर आएजस्तो देखिएको उनीहरूको भनाइ छ ।
त्यहाँबाट उद्धार गरिएका केही घाइतेहरूलाई त्रिशूली लगिएको छ । स्याफ्रुबेसीका होटलहरूमा बसेका पर्यटकहरू अलपत्र परेका छन् । बाढीले बजारको मुख्य सडक नै बगाएको छ । पसलका सामान सबै हराएका छन् । स्थानीय व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोरेका छन् ।
त्रिशुली जलविद्युत्
२१६ मेगावाट क्षमताको यो ठूलो आयोजना बाढीबाट गम्भीर रूपमा प्रभावित भयो । बाँध र संरचनामा क्षति पुगेको छ । केही स्रोतहरूले बाँध नै टुटेको बताएका छन्, जसले तल्लो तटीय क्षेत्रमा अझ ठूलो बाढी ल्याएको हुन सक्ने अनुमान गरिएको छ । यो आयोजना राष्ट्रिय विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान दिन्थ्यो । बाढीले यसको उत्पादन पूर्ण रूपमा रोकिदियो।
मैलुङ
मैलुङ खोला र आसपासका बस्तीमा बाढीले ठूलो क्षति पुर्यायो । मैलुङ खोला जलविद्युत आयोजना प्रभावित भए । बस्तीका घरहरू बगे । सेनाले मैलुङबाट केही जनालाई उद्धार गरेर काठमाडौं लगेको छ । सडक कटान भएको छ र पहुँच कठिन छ । मैलुङ क्षेत्रमा बाढीले खेतीयोग्य जमिन पनि बगाएको छ । स्थानीय किसानहरूको बाली नोक्सान भएको छ । बाढीपछि त्यहाँको बाटो हिँड्नै नसकिने भएको बताइएको छ ।
त्रिशुली थ्रीबी सबस्टेशन
त्रिशूली ३ बी हब २२० केभी सबस्टेशनमा ठूलो क्षति पुगेको छ । प्रसारण लाइनहरू क्षतिग्रस्त भएपछि विद्युत् आपूर्ति अवरुद्ध भयो । यसले आसपासका क्षेत्रमा अँध्यारो छाएको छ । मर्मतका लागि टोली पठाउने तयारी भए पनि पहुँच समस्या छ । सबस्टेशन आसपासका संरचना पनि बाढीले बिगारेको छ ।
बेत्रावती
बेत्रावती बस्ती र आसपासका क्षेत्रमा बाढीले घर, सडक र पुल क्षतिग्रस्त बनायो । सेनाले यहाँबाट केही जनालाई उद्धार गरेको छ । सडक पूर्ण रूपमा अवरुद्ध भएकाले यातायात ठप्प छ । बाढीको जोखिम अझै रहेकाले स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गर्न आग्रह गरेको छ । बेत्रावतीका घरहरूमा पनि निकै क्षति पुगेको देखिन्छ । बाढीले ल्याएको लेदोले खेत ढाकेको छ।
त्रिशूली बजार
नुवाकोटको त्रिशूली बजारमा बाढीले व्यापक विनाश मच्चायो । करिब ६० घर बगेको प्रारम्भिक विवरण छ । दुई पक्की पुल ध्वस्त भए । बजार क्षेत्रमा पानी र लेदोले संरचनाहरू बिगारेको छ । त्रिशूली बजार पनि डुबानमा परेको छ । त्यही रहेका त्रिभुवन त्रिशूली बहुमुखी स्कुल लगायतका संरचना पनि सबै बगाएको छ । अन्य भौतिक क्षति पनि ठूलो देखिन्छ । बजारका पसल र घरहरू बाढीले बगाएको छ ।
देवीघाट हाइड्रोपावर
देवीघाट जलविद्युत केन्द्रमा ठूलो क्षति पुगेको छ । आसपासका बस्तीहरूमा पनि घर बगेका छन् । यो आयोजना पुरानो र महत्त्वपूर्ण हो । बाढीले यसको उत्पादन रोकिदियो । देवीघाट क्षेत्रमा बाढीले जमिन कटान गरेर थप जोखिम बढाएको छ ।
कोहरपुर टार
त्रिशूली तटीय क्षेत्र भएकाले बाढीको प्रभाव परेको छ । घरहरू भत्काएको छ भने खेतीयोग्य जमिन कटान भएको छ । स्थानीयका अनुसार निकै क्षति पुगेको बताइए पनि यसको विस्तृत विवरण भने अझै आइसकेको छैन । स्थानीय किसानहरूको बाली नोक्सान भएको छ । बाढीले ल्याएको ढुङ्गा र माटाले खेतीयोग्य जमिन कामै नलाग्ने बनाएको छ ।
गल्छी
धादिङको गल्छीमा पनि बाढी प्रभाव निकै देखिन्छ । पक्की पुल बगेको छ । त्रिशूली नदीको जलस्तर बढेपछि तटीय बस्ती जोखिममा परे । सडक प्रभावित भएको छ । स्थानीय प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । गल्छीका घरहरू डुबेका छन् । बाढीले ल्याएको लेदोले सडक पुरिएको छ ।
अन्यत्रका बजार झैं यो क्षेत्रमा पनि निकै क्षति पुगेको बताइए पनि यकिन र आधिकारिक विवरण भने आइसकेको छैन ।
गजुरी
गजुरी करिडोरमा सडक प्रभावित बनेको छ । बाढी आउनासाथ तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिए पनि क्षतिलाई रोक्न सकिएन । घर र खेतीमा क्षति पुगेको स्थानीयहरूले बताएका छन् । स्थानीयहरू सुरक्षित स्थानमा सरे पनि त्यहाँ कतिजना परेका छन् वा छैनन् भन्ने यकिन विवरण छैन । यो क्षेत्रमा पनि धेरै क्षति पुगेको देखिन्छ ।
मलेखु
मलेखुस्थित जल मापन केन्द्रमा त्रिशूली नदीको जलस्तर खतराको तह पार गर्यो । अन्यत्रजस्तो यो क्षेत्र पनि रसुवा बाढीबाट जोखिम सकेन । बाढीको प्रभाव निकै देखियो । सडक र पुल क्षतिग्रस्त भए । मलेखु बजार आसपासका घरहरू डुबे ।
रुवाकोट
तटीय क्षेत्र भएकाले रुवाकोटले पनि क्षति भोग्यो । घर र खेत कटान भए । मानवीय क्षतिको कुनै विवरण हालसम्म प्राप्त छैन । विस्तृत विवरण आउन बाँकी छ । अन्यत्र जस्तै पहिलोपटक यो क्षेत्रले बाढीको यो तहको वितण्डा देखेको स्थानीय बताउँछन् ।।
मझिमटार
त्रिशूली आसपासका बस्तीमा क्षति भएको छ । घर र सडक प्रभावित भएका छन् । क्षतिको पुरा विवरण हालसम्म आइसकेका छैनन् । यो क्षेत्रमा पनि अन्यत्रजस्तै रसुवा बाढीले क्षति पुर्याएको देखिन्छ ।
मुग्लिन
रसुवा बाढीले मुग्लिङसम्म क्षति पुर्याउने प्रारम्भिक अनुमान थियो । समय पाएकाले पनि यस क्षेत्रका मानिस सुरुमै सुरक्षित ठाउँमा पुग्न भ्याएको देखिन्छ । पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरियो । मुग्लिङ बजार आसपासका तटीय क्षेत्र खाली गर्न भनियो । यद्यपि, यो क्षेत्रले अन्यत्रजस्तो त्यति क्षति भोग्नुपरेन ।
समग्रमा बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा असर पुर्याएको छ । विद्युत् उत्पादन ठप्प भएको छ । यी जिल्लाभित्रका सडक पूर्ण रूपमा अवरुद्ध छन् । व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोरेका छन् । किसानहरूको बाली नोक्सान भएको छ । भौतिक संरचनासँगै मानवीय क्षति पनि निकै भएको भन्दै अहिले उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
प्रतिक्रिया 4