News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म कार्यस्थल नछोड्न आग्रह गरेको छ ।
- मन्त्रालयले राहत सामग्री, लाभग्राही विवरण र थप जनशक्ति व्यवस्थापनका लागि प्राधिकरणसँग समन्वय गर्ने निर्णय गरेको छ ।
- बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई उद्धार र राहतमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न अनुरोध गरिएको छ ।
११ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीलाई कार्यस्थल नछोड्न आग्रह गरेको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले निर्णयमा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीले आफ्नो कार्यस्थल नछोड्ने र कार्यस्थल बाहिर रहेका सबै कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्ने ।’
यसबाहेक राहत सामग्री व्यवस्थापन गर्न, लाभग्राहीको विवरण तयार गर्न तथा अन्य कार्यका लागि थप जनशक्ति व्यवस्था गर्नुपर्ने भएमा मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी उपलब्ध गराउने निर्णय भएको छ ।
बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा परिचालित भई प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
मन्त्रालयका अनुसार विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्नेछ ।
मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरुमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने भनेको छ ।
नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कनको कार्य गर्नेछ ।
प्रतिक्रिया 4