+
+
Shares

बाढीपछि जलविद्युत् आयोजनाको पुनर्निर्माण जटिल, हिउँदमा विद्युत् अभाव हुने जोखिम

रसुवा बाढीका कारण त्रिशूली करिडोरमा रहेका विभिन्न आयोजनाको ४ सय ३१ मेगावाटभन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत् अभाव हुने जोखिम बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीले त्रिशूली करिडोरका ९ सय मेगावाटसम्मका आयोजनामा क्षति पुर्‍याएर करिब ४ सय ३१ मेगावाट उत्पादन प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणका अनुसार तत्काल पुनर्निर्माण सम्भव छैन र साइट क्लियर गर्न समय लाग्ने भएकाले आउँदो हिउँदमा करिब १ सय ५० मेगावाट विद्युत् अभाव हुन सक्छ।
  • बाढीले ११ जलविद्युत् र १ सोलार आयोजना, त्रिशूलीको २२० केभी ३ बीहब सबस्टेसन र केही प्रसारण लाइन पनि पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

११ भदौ, काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली करिडोरमा रहेका विभिन्न आयोजनाको ४ सय ३१ मेगावाटभन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत् अभाव हुने जोखिम बढाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, सो करिडोरमा सञ्चालनमा रहेका ४ सय ३१ मेगावाटका आयोजनामा बाढीले गम्भीर क्षति पुर्‍याएको छ, जुन तत्काल पुनर्निर्माण हुन सक्ने अवस्था नहरेको प्रवक्ता राजन ढकाल बताउँछन् ।

‘यस करिडोरमा रहेका आयोजनाहरू कुन अवस्थामा क्षतिग्रस्त छन्, यकिन गर्न सकिएको छैन, आयोजना पुनर्निर्माणका लागि साइट क्लियर गर्नै समय लाग्ने देखिन्छ,’ उनले भने । यस्तो अवस्थामा आउने हिउँदमा विद्युत् अभाव हुन सक्ने जोखिम छ ।

प्राधिकरणका अनुसार निर्माणको क्रममा रहेका थप ४ सय ७० मेगावाटका आयोजनामा क्षति पुगेको छ । यस हिसाबले कुल ९ सय मेगावाटका आयोजनामा बाढीले क्षति पुर्‍याएको छ ।

‘कति मूल्य बराबरको क्षति भयो भन्ने अहिल्यै आँकलन त गर्न सकिन्न तर, करिडोरमा खर्बौं लगानीका आयोजना छन्, तिनमा सामान्य होइन, निकै गम्भीर क्षति भएको छ, पुनर्निर्माणलाई पनि ठूलो लागत र समय लाग्न सक्छ,’ उनले भने ।

अहिलेसम्मको आँकलनअनुसार यो करिडोरका आयोजनामा भएको क्षतिले हिउँदमा करिब १ सय ५० मेगावाट विद्युत् कम हुने उनले बताए ।

बाढीका कारण विद्युत् प्राधिकरण मातहतका कम्पनी र निजी क्षेत्रले निर्माण गरेका ११ जलविद्युत् र एक सोलार आयोजना बन्द भएका छन् । १११ मेगावाटको रसुवागढी जलविद्युत्, ७८ मेगावाटको सालासुंगी (सान्जेन) आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजना, ४२ मेगावाटको साञ्जेन, माथिल्लो त्रिशूली–१, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनालगायतको उत्पादन बन्द भएको छ ।

साथै, नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना पनि बाढीले क्षतिग्रस्त बनाएको छ । त्यस्तै त्रिशूली स्थित २२० केभी ३ बीहब सबस्टेसनमा पूर्णरुपमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको पनि प्राधिकरणले उल्लेख गरेको छ । समुद्रटार- त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे-त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब- त्रिशूली ३ बी हब- मातातीर्थ २२० केभी प्रसारण लाइन, त्रिशुली-बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध रहेको पनि प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको केही टावर बाढीले बगाइदिएको प्राधिकरणले जनाएको छ ।

क्षति भएका विद्युत् आयोजना

रसुवागढी जलविद्युत् आयोजना – १११ मेगावाट

सालासुंगी (सान्जेन) जलविद्युत् आयोजना – ७८ मेगावाट

माथिल्लो सान्जेन जलविद्युत् आयोजना – १४.८ मेगावाट

सान्जेन जलविद्युत् आयोजना – ४२.५ मेगावाट

चिलिमे जलविद्युत् केन्द्र – २२ मेगावाट

लाङटाङ जलविद्युत् आयोजना – २० मेगावाट

माथिल्लो त्रिशूली- ३ ए जलविद्युत् आयोजना – ६० मेगावाट

माथिल्लो मैलुङ जलविद्युत् आयोजना – १४.८ मेगावाट

मैलुङ जलविद्युत् आयोजना – ५ मेगावाट

त्रिशूली जलविद्युत् केन्द्र – २४ मेगावाट

देवीघाट जलविद्युत् केन्द्र – १४ मेगावाट

नेपाल विद्युत् प्राधिकरण सोलार आयोजना – २५ मेगावाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?