News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका ३५ मध्ये २२ जना उपचारपछि डिस्चार्ज भएका छन्।
- शुक्रबार बिहानसम्म ट्रमा सेन्टरमा ९ जना उपचाररत छन्, जसमध्ये एक जना आईसीयू र दुई जना एचडीयूमा छन्।
- ट्रमा सेन्टरले अस्पताल परिसरमा अनावश्यक भीड नगर्न र घाइतेको अनुमति तथा समन्वयबिना अन्तर्वार्ता वा भिडियो फुटेज नलिन आग्रह गरेको छ।
१२ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो विवरणअनुसार शुक्रबार बिहानसम्म ९ जना बिरामी उपचाररत छन् ।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार उपचाररत ९ जनामध्ये एक जना सघन उपचार कक्ष (आईसीयू) र दुई जना एचडीयूमा उपचाररत छन् ।
एक जना बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये ६ वर्षदेखि ६० वर्षसम्मका बिरामी छन् ।
‘हाल उपचाररत घाइतेहरूमा टाउको, हातखुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचाररत बिरामीमध्ये केहीको अवस्था सामान्य तथा केहीको अवस्था स्थिर रहेको छ,’ निरौला भन्छन् ।
उनका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका घाइतेको उपचार तथा आवश्यक व्यवस्थापन भइरहेको छ ।
अस्पतालले घाइते तथा बिरामीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पताल परिसरमा अनावश्यक भीड नगर्नसमेत आग्रह गरेको छ ।
साथै, घाइते तथा बिरामीहरूको अनुमति तथा अस्पतालको समन्वयबिना अन्तर्वार्ता तथा भिडियो फुटेज लिन रोक लगाइएको सेन्टरले जनाएको छ ।


प्रतिक्रिया 4