१३ भदौ, काठमाडौं । रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एकद्वार प्रणालीमार्फत राहत संकलन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै काठमाडौं जिल्लाभित्र रहेका संघ-संस्था, व्यक्ति, कम्पनी, क्लब वा नागरिकस्तरबाट उपलब्ध गराइने राहत सामग्रीहरू सीधै प्रशासन कार्यालयमार्फत मात्र संकलन गर्ने जानकारी गराएको हो।
बाढी पीडितका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वा अन्य घरायसी प्रयोजनका सामग्रीहरू उपलब्ध गराउन चाहने दाताहरूलाई प्रशासनमै सामग्री बुझाउन आग्रह गरिएको छ।
यसरी एकद्वार प्रणालीबाट संकलित सामग्रीहरू सम्बन्धित जिल्लाका सुरक्षा निकाय, उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा निर्देशनमा पीडितहरूसमक्ष पुर्याइने प्रशासनले जनाएको छ।
राहत सामग्री संकलन तथा व्यवस्थापनका लागि प्रशासनले प्रशासकीय अधिकृत सृजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकेको छ। इच्छुक दाताहरूले उनको मोबाइल नम्बर ९८४१७९८५४२ मा सम्पर्क गरी राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।
नगद सहयोग प्रधानमन्त्री राहत कोषमा मात्र
यसैगरी, प्रशासनले बाढी पीडितका लागि नगद सहयोग गर्न चाहने महानुभावहरूलाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी खिमराज भुसालद्वारा जारी सूचनामा नगद सहयोग गर्न इच्छुकले सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर वा क्यूआर कोडमार्फत मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारिएको छ।

प्रतिक्रिया 4