१४ भदौ, काठमाडौं । पोर्चुगलको लिस्बनमा रहेका चर्चित नेपाली सेफ टंक सापकोटाले आफ्ना चार रेस्टुरेन्टमा आयोजना हुने ‘च्यारिटी डिनर’ बाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
सेफ सापकोटाका अनुसार आगामी मंगलबार (१ सेप्टेम्बर) मा कासा नेपालेसा, कोम प्राइमा, इल मर्काटो र फोर्नो डिओरो रेस्टुरेन्टमा आयोजना हुने च्यारिटी डिनरबाट उठ्ने रकम रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने छ ।
नेपालमा हालै आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न चारै वटा रेस्टुरेन्टमा परोपकारी डिनर आयोजना हुन लागेको हो । यो पहलबाट १७ हजारदेखि २५ हजार युरो (३० लाख २५ हजारदेखि ४४ लाख ४९ हजार रुपैयाँ) बराबर रकम संकलन गर्ने अपेक्षा गरिएको सेफ सापकोटाले जानकारी दिए ।
तीन देशकदेखि पोर्चुगलमा बस्दै आएका सेफ सापकोटाले रसुवा बाढीबाट प्रभावित समुदायको अवस्थामा थोरै भए पनि सहयोग गर्ने उद्देश्यले च्यारिटी डिनरबाट प्राप्त सम्पूर्ण आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने छ ।
यस पहलको उद्देश्य रकम संकलन गर्नुमात्र नभई ती क्षेत्रको अवस्थाप्रति ध्यानाकर्षण गराउनु र पाहुना, साथीभाइ र साझेदारलाई एक सामूहिक एकताको भावनामा परिचालन गर्नु पनि रहेको सापकोटाको भनाइ छ ।
यसका साथै व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेलाई पनि संस्थाको वेबसाइट मार्फत सिधै योगदान गर्न प्रोत्साहित गरिएको उनले बताए ।
‘मेरो मातृभूमि नेपाल र तिब्बतमा धेरै मानिस पीडामा रहेको देख्दा दु:ख लागेको र म मौन बस्न सकिनँ, पोर्चुगलले मलाई खाना पकाएर जीवन निर्माण गर्ने अवसर दियो, आज खानामार्फत नै मद्दत गर्न चाहन्छु,’ सेफ सापकोटाले भने, ‘यो च्यारिटी डिनर धेरै गुमाएकाहरूसँग हामीलाई नजिक ल्याउने एउटा माध्यम हो ।’
प्रतिक्रिया 4