News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान र व्यवस्थापनको सरकारी नीतिमाथि प्रश्न उठाएका छन् ।
- पोखरेलले डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने व्यवस्थापनप्रति पीडित परिवार सन्तुष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- एमालेले प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको छ ।
१४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीतिमा प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारले ध्यान पुर्याउनुपर्ने बताए ।
‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए परीक्षण पछाडि त्यसलाई पुन: उत्खनन गर्ने भन्ने हिसाबले शव व्यवस्थापन गरेको अवस्था छ,’ उनले भने, ‘यसमा पीडितहरूको दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूलाई चित्त बुझेको अवस्था छैन । त्यो सार्वजनिक प्रतिक्रियाहरू पनि आइराखेकै छन्, शव व्यवस्थापनका सन्दर्भमा अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।’
शवको डीएनए परीक्षणपछि पुन: उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।
एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिने छ ।
महासचिव पोखरेलले वाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया 4