News Summary
Generated by OK AI. Editorially reviewed.- फोन पे पेमेन्टको भर्चुअल क्रेडिट कार्ड प्रयोगकर्ता २ वर्षमा ५० हजार पुगेका छन् भने सेवा ९ बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध छ।
- फोन पेका सीईओ दिवस कुमारले भर्चुअल क्रेडिट कार्डले सर्वसाधारण र साना व्यापारीलाई डिजिटल कर्जामा जोड्न मद्दत गरेको बताए ।
- लक्ष्मी सनराइज बैंकले करिब १५ हजार र सिटिजन्स बैंकले १० हजारभन्दा बढी भर्चुअल क्रेडिट कार्ड जारी गरेका छन्।
३१ भदौ, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्टले सुरु गरेको भर्चुअल क्रेडिट कार्डका प्रयोगकर्ता ५० हजार पुगेका छन् । फोन पेको नेटवर्कमा ९ बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध उक्त सेवा प्रयोग गर्ने ग्राहक दुई वर्षमै ५० हजार पुगेका हुन्।
वित्तीय क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले उपभोक्ता र व्यापारीको कारोबार धेरै सहज भएको छ । खातामा मौज्दात रहेको रकमबाट भुक्तानी गर्ने मात्र नभई कर्जा लिन समेत प्रविधिको प्रयोग बढ्दो छ । त्यसको उदाहरण हो ‘भर्चुअल क्रेडिट कार्ड’ । यो कार्ड प्रयोगकर्ताको तथ्याङक हेर्दा प्रयोगकर्ता पनि डिजिटलमैत्री भएको स्पष्ट हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई पनि प्रविधिमैत्री बनाउने सोच अनुसार भर्चुअल क्रेडिट कार्ड ल्याएको फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार बताउँछन् । मोबाइल एपभित्रै ‘क्रेडिट कार्ड’ व्यवस्था गरी स्क्यान गरेर भुक्तानी गर्न सकिने प्रणाली विकास गरेको उनले बताए ।
‘यसले सर्वसाधारण र साना व्यापारीलाई डिजिटल कर्जाको पहुँचमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ,’ दिवस कुमारले भने, ‘९ वटा बैंक तथा वित्तीय संस्था मात्र आबद्ध हुँदा त २ वर्षमै ५० हजार भर्चुअल कार्ड जारी भएको छ, सबै बैंक तथा वित्तीय संस्था सहभागी हुँदा खरिद बिक्रीको अधिकांश भुक्तानी नगदरहित हुन सक्छ ।’
समग्र वित्तीय क्षेत्रका भौतिक क्रेडिट कार्डको संख्या ३ लाख ४१ हजार मात्रै छ । त्यसका साथै भुक्तानी गर्न सकिने पीओएस मेसिनको संख्या पनि ३ लाख मात्र रहेको कुमारले बताए ।
व्यक्तिको क्षमता अनुसार क्रेडिट सीमा बैंकहरूले उपलब्ध गराउने र खरिद बिक्रीको भुक्तानी क्रेडिट कार्डबाट मात्रै गर्ने अभ्यासको विकास गर्ने लक्ष्य रहेको उनले सुनाए ।
अहिलेको समयमा क्रेडिट कार्ड मार्फत भुक्तानी पनि ‘स्क्यान एन्ड पे’ हुने भएकाले यो व्यवस्था देशभर गर्न सकिने कुमारले बताए ।
‘फोन पेका करिब २० लाख क्यूआर मर्चेन्ट भएकाले विगतको जस्तो सीमित स्थान तथा पसलमा मात्र भुक्तानी गर्नुपर्ने अवस्था रहेन,’ कुमारले थपे, ‘क्यूआर कोडका कारण सानादेखि ठूला सबै पसल र मर्चेन्टमा भर्चुअल क्रेडिट कार्ड चल्न थालेको छ, त्यसकारण ग्राहक पनि सन्तुष्ट पाएका छौँ ।’

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै तुरुन्तै आफ्नो कारोबार र खर्चको विवरण हेर्न सक्नेछन् । ग्राहक कर्जाका लागि योग्य भएमा मोबाइल बैंकिङ एपमा नै ‘के तपाईं क्रेडिट कार्ड लिन चाहनुहुन्छ ?’ भनेर नोटिफिकेसन आउने गर्छ । यसले गर्दा ग्राहक आफै बैंक जानुपर्ने झन्झट भएन ।
क्रेडिट कार्डको सही प्रयोग, फाइदा र दुरुपयोगबाट बच्ने उपायबारे ग्राहकलाई बुझाउने काम पनि सँगसँगै अघि बढाएको कुमारले बताए । ‘पहिले नै क्यूआर मर्चेन्टहरूको बलियो इकोसिस्टम बनिसकेको छ’ उनले भने ‘नयाँ भौतिक कार्ड र पीओएस मेसिन बाँड्नु धेरै खर्चिलो हुने भएकाले डिजिटल संरचनालाई अधिकतम प्रयोग गर्न भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेका हौं ।’
भर्चुअल कार्ड सुरु भएको २ वर्ष बितेको बताउँदै कुमारले थपे, ‘भर्चुअल क्रेडिट कार्ड मार्फ प्रवाह भएको कर्जामा डिफल्ट दर १ देखि २ प्रतिशत मात्र छ, ठूला र धितोमा आधारित कर्जाको तुलनामा नियमित आम्दानी र खर्च गर्ने साना ग्राहकलाई लक्षित गरिएकाले पनि भुक्तानी दर राम्रो भएको हो ।’
उनका अनुसार साना व्यापारी र ग्राहकलाई धेरै खर्चिलो नहोस् भन्ने उद्देश्यले २ हजारसम्मको भुक्तानीमा शुल्क लाग्दैन । सो भन्दा माथिको भुक्तानीमा कारोबार रकमको ०.६ शुल्क कायम गरिएको उनले बताए । तर अझै ठूला कारोबारहरू सुन वा इलेक्ट्रोनिक्स सामग्रीको खरिद बिक्रीमा व्यापारीलाई धेरै भार नपरोस् भनेर अधिकतम शुल्क ३ सय रुपैयाँ तोकिएको उनले जानकारी दिए । भौतिक क्रेडिट कार्डको हकमा यस्तो शुल्क कारोबार रकमको ३ प्रतिशत छ।
लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरै भर्चुअल क्रेडिट कार्ड जारी गरेको छ । ग्राहकको चाहना र प्राथमिकतालाई केन्द्रमा राखेर प्रविधि, नवीनता र डेटा एनालिटिक्सको प्रयोगलाई प्राथमिकता दिँदै आएको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले बताए ।
ग्राहकको व्यवहार, कारोबार तथा आवश्यकताको विश्लेषण र पहिचान गरी उपयुक्त डिजिटल प्रडक्ट तथा सेवा विकास गर्दै आएको शाहले बताए । ‘भौतिक क्रेडिट कार्ड र परम्परागत प्रक्रिया भन्दा पनि तत्काल, सहज, सुरक्षित अझ मोबाइलमा आधारित सेवा तर्फ ग्राहक केन्द्रित हुँदै गएको समयमा नै बुझेकाले पनि धेरै कार्ड जारी गर्न सफल भएका छौँ ।’

मोबाइलबाटै क्रेडिट सुविधा लिन, प्रयोग गर्न र व्यवस्थापन गर्न सकिने भएकाले विशेषगरी मोबाइलमा भर पर्ने ग्राहकका लागि आकर्षक विकल्प बनेको उनले बताए । उनका अनुसार बैंकले हालसम्म करिब १५ हजारको हाराहारीमा भर्चुअल क्रेडिट कार्ड जारी गरेको छ । स्मार्ट फोनको प्रयोग, डिजिटल पेमेन्ट र क्यूआरको विस्तारले डिजिटल क्रेडिटको अवसर सिर्जना गरेको शाहले बताए ।
यस्तो प्रडक्टमा विशेषगरी कर्जा जोखिम हुने गरेको बताउँदै शाहले भने, ‘कर्जा मूल्याङ्कन तथा व्यक्तिको कर्जा भुक्तानी गर्ने चक्र अझै विकासको क्रममा भएकाले ग्राहकको क्षमता पहिचान चुनौतिपूर्ण छ, त्यसैले जोखिममा आधारित कर्जा सीमा निर्धारण गर्ने गरिएको अवस्था छ ।’
आगामी दिन भर्चुअल क्रेडिट कार्डलाई डिजिटल कार्डको रुपमा नभइ तथ्याङक निर्देशित, व्यक्तिगत र जिम्मेवार कर्जा प्लेटफर्मका रूपमा विकास गर्न सकिने उनले बताए । कारोबार र कर्जा भुक्तानी विश्लेषणका आधारमा ग्राहक पहिचान गर्दा प्रयोगकर्ता बढाउने तथा जोखिम व्यवस्थापन गर्न सहज हुने उनले सुझाए ।
पछिल्लो समयमा भौतिक क्रेडिट कार्ड लिने ग्राहक निकै कम भएको सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृतले रोशन मानन्धरले बताए । सिटिजन्स बैंकले पनि भर्चुअल क्रेडिट कार्डको सुविधा आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।
धेरै भर्चुअल क्रेडिट कार्ड जारी गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सिटिजन्स दोस्रो स्थानमा छ । बैंकले १० हजार भन्दा माथि भर्चुअल कार्ड जारी गरेको छ । मोबाइल बैंकिङबाट ट्रान्सफर नहुने, भारत जाने अथवा अलि ठूला बिजनेस र होटलहरूमा जाने ग्राहकले भने भौतिक क्रेडिट कार्ड नै लिने गरेको मानन्धरले बताए ।

‘दैनिक कारोबार गर्ने ग्राहकले भर्चुअल क्रेडिट कार्ड नै लिनुहुन्छ,’ उनले भने, ‘भौतिकका हकमा कार्ड छाप्नु पर्यो, एक्टिभेट गराउनु पर्यो तर भर्चुअलका हकमा स्वीकृत हुने बित्तिकै सिधै मोबाइलमा देखिने र प्रयोग गर्न सकिने भएकाले ग्राहकको रोजाइमा परेको छ ।’
भर्चुअल क्रेडिट कार्ड सेवा छिटो, मोबाइलमै आउने, सरल र सहज भएकाले पछिल्लो समय लगभग ९०–९५ प्रतिशत ग्राहकको रोजाइमा परेको मानन्धरको अनुभव छ ।
भौतिक कार्ड मार्फत भुक्तानी गर्न पीओएस मेसिनको सीमितता कारणले पनि भर्चुअल रोजेको हुन सक्ने बताउँदै मानन्धरले भने, ‘भर्चुअल क्रेडिट कार्डबाट गरिने भुक्तानी क्यूआर मार्फत हो । देशका दुर्गम स्थान नामखा, सार्केगाड, सिमीकोट वा हुम्लाका विभिन्न स्थानमा समेत भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न सकिन्छ ।’
भर्चुअल कार्ड ग्राहकका अलवा बैंक तथा वित्तीय संस्थाका लागि पनि फाइदाजनक रहेको मानन्धरले बताए । यसले ग्राहक तथा बैंकको खर्च समेत घटाएको बताउँदै मानन्धरले भने, ‘यो प्रडक्टले बैंकको आम्दानीमा समेत राम्रै योगदान गरेको छ ।’
यसको प्रयोगका लागि सम्बन्धित बैंकको बैंक खाता हुनु आवश्यक पर्छ, मोबाइल बैंकिङ सुविधा लिएको हुनुपर्छ । मोबाइल बैंकिङमै क्रेडिट सिमा दिइने भएकाले प्रयोग सोही एपमार्फत गर्ने हो । जोखिमको दुष्टिकोणबाट पनि भौतिक कार्ड भन्दा सुरक्षित रहेको उनले बताए । यसबाट लिएको कर्जा समयमा भुक्तानी नभएको खण्डमा ऋणी कालोसूचीमा पर्ने र उ बैंकिङ कारोबारभन्दा बाहिर हुने भएकाले नेपालमा बस्नेले डिफल्ट नगर्ने उनको दाबी छ ।
हाल फेनपेको नेटवर्कमा सिद्धार्थ बैंक, कुमारी बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्स रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाका लागि क्रेडिट कार्ड जारी गर्न नियामकीय कर्जा नोक्सानी व्यवस्थाले पनि निरुत्साहित गरेको कुमारले बताए । नेपालमा भुक्तानी नभएको ९० दिनभित्रै शत प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने नियमले क्रेडिट कार्ड जारी गर्न बैंकहरू हिचकिचाउने उनको बुझाइ छ । यो प्रोभिजनिङको व्यवस्था लचिलो बनाएको खण्डमा क्रेडिट कार्डको बजार अझै फराकिलो हुने उनको भनाइ छ ।
भर्चुअल क्रेडिट कार्यको प्रयोगमा क्याआर मार्फत कारोबार गर्दा हुनेभन्दा थप जोखिम नहुने उनले बताए । फोन पेले विशेष गरी क्रेडिट कार्डका प्रयोगकर्ता बढाउन र साना तथा मझौला उद्याम/व्यापारलाई प्रवद्र्धन गर्ने लक्ष्य अनुसार भर्चुअल क्रेडिट कार्डमा काम गरिरहेको सीईओ कुमारको भनाइ छ । साथै साना तथा मझौला उद्यम/ब्यापार मार्फत अर्थतन्त्रलाई नै चलायमान बनाउन यसले मद्दत पुग्ने उनले बताए ।
कुमारका अनुसार भचुर्अल क्रेडिट कार्ड मार्फत प्रयोग गरिएको पैसा फिर्ता गर्न पनि धेरै विकल्पहरु रखिएको छ । तर, बैंकहरूले भने कर्जा बक्यौता रकमको १० र १०० प्रतिशत भुक्तानी गर्नु पर्ने व्यवस्था गरेका छन् ।
फोनपेको प्रणालीमा ३० प्रतिशत वा अन्य पनि व्यवस्था रहेको कुमारले जानकारी दिए । कार्ड मार्फत सामान खरिद गरेको पैसामा ४५ दिनसम्म ब्याज लाग्दैन । त्यो बीचमा शत प्रतिशत वा १० प्रतिशत रकम भुक्तानी दिनु पर्छ । त्यसपछि भने बक्यौता कर्जामा तोकिएको ब्याज र बिलम्ब शुल्क लाग्छ ।
प्रतिक्रिया 4