+
+
Shares

बाढीबाट ध्वस्त त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौधरी फाउन्डेसनले बाढीले क्षतिग्रस्त नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन आपत्कालीन सहयोग गर्ने भएको छ।
  • फाउन्डेसनले स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर, इन्टरनेट, फर्निचर, स्कुल ब्याग र स्टेसनरी उपलब्ध गराउने जनाएको छ।
  • विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए, र वैकल्पिक भवनको व्यवस्था भएपछि पठनपाठन सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ।

१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ ।

भदौ १० गते आएको बाढीले विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई वैकल्पिक भवनमार्फत पठनपाठनमा फर्काउन फाउन्डेसनले आपत्‌कालीन सहयोग गर्न लागेको हो । विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए ।

फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ । त्यस्तै, कक्षाकोठाका लागि आवश्यक फर्निचर काठमाडौंमा तयारी अवस्थामा रहेका सामग्रीबाट विद्यालयमा पुर्‍याइनेछ ।

विद्यार्थीलाई आवश्यक पर्ने स्कुल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ । भवन व्यवस्थापन भएपछि फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।

विद्यालय सञ्चालनका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो । सोही छलफलअनुसार फाउन्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको हो ।

चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको पढाइलाई निरन्तरता दिन विद्यालय जतिसक्दो छिटो सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।

प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले वैकल्पिक भवनको व्यवस्थापनको काम अघि बढिसकेको र भवन तयार भएपछि फाउन्डेसनबाट भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?