News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तका शव खोज्दै परिवारहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तस्वीर र शवगृहबीच भौंतारिइरहेका छन्।
- पोखरामा ल्याइएका १०२ शवमध्ये मंगलबारसम्म १६ जनाले पहिचान गरेर बुझेका थिए भने बुधबार केही थप शव पहिचान भएका छन्।
- डिकबहादुर कायस्थ, केदार पण्डित र सन्तोष चौधरीका परिवारले शव पहिचान गरेर लगेको बताएका छन्।
१६ भदौ, पोखरा । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएर पहिचान नभएका शव खाल्डो खनेर व्यवस्थापन गर्ने हल्ला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको थियो ।
पोखरा ल्याइएका शव पहिचानका लागि राखिएका तस्वीरहरूमा बाढीमा परी बेपत्ता भएका आफन्तको अनुहार खोज्दै परिवारका सदस्यहरू भौंतारिँदै थिए ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह नजिकै भने एउटा शव एम्बुलेन्समा हालिँदै थियो । आफन्तहरूले पहिचान गरेर लैजाँदै गरेको त्यो शव काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ का डिकबहादुर कायस्थको रहेछ ।
त्यहीँ नजिकै डिकबहादुरकी श्रीमती र सालो भाइ सुदीप कुमार थिए ।
डिकबहादुर अरनिको राजमार्गमा चल्ने गाडी चलाउँथे । काठमाडौंबाट रिजर्भमा केरुङ जाँदै गर्दा गाडीसहित उनी बेपत्ता भएका थिए । उनले चलाएको गाडी नै बाढीमा परेको डिकबहादुरका आफन्तले सुनाए ।
डिकबहादुरको खोजी गर्दै उनीहरू रसुवा पुगे । तर जिउँदो भेटिने आशा नभएपछि काठमाडौंको शिक्षण अस्पताल पुगे । त्यहाँबाट चितवनमा राखिएका शवहरूमा डिकबहादुरको अनुहार दाँज्दै हिँडे । त्यहाँबाट उनीहरू नवलपुरमा शव राखिएको ठाउँ पुगे, तर फेला पारेनन् ।
डिकबहादुरका आफन्तले शवहरू पोखरा पनि लगिएको थाहा पाए । त्यसपछि उनीहरू पोखरा आए । १४ गते डिकबहादुरको शव पोखरामा पहिचान भयो । त्यसपछि मनमा पीडा बोकेर शव खोज्दै हिँड्ने हैरानीबाट डिकबहादुरका आफन्तले मुक्ति पाएको महसुस गरे ।
‘बसका सबै मानिस बेपत्ता भएको भन्ने थियो तर बसमा कति मानिस थिए भन्ने मलाई थाहा छैन । बसमा साहुकै भाइ पनि हराएका छन् । तर मेरो भेनाको शव भेटियो,’ सुदीप कुमारले भने, ‘भेना १५–२० वर्षदेखि गाडी चलाउनुहुन्थ्यो । बाढीमा परेपछि यति भौंतारिएनौं । सास नपाए पनि लास पाइयो । यही पनि ठूलो कुरा भयो यो बेला ।’

कति मान्छेहरू अहिले पनि बेपत्ता नै रहेको, परिवारले लास खोज्दै हिँडिरहेको बताउँदै सुदीपले लास पाउँदा पनि खुसी हुनुपर्ने विडम्बना रहेको बताए ।
‘अचानक यस्तो घटना घट्यो । मेरो मात्रै होइन, सबैलाई पीडा छ । मन बुझाउनै पर्यो,’ उनले भने, ‘चितवनमा त शव गाडिसके । यहाँ पनि गाड्ने भन्ने हल्ला छ । त्यो भएपछि डीएनका हिसाबले कहिले हुने हो । अहिले यो लास पाउनु पनि ठूलो कुरा भयो ।’
०००
गोरखा पालुङटार नगरपालिकाबाट गाउँका धेरै मानिस जनैपूर्णिमामा गोसाइँकुण्ड जाने भएपछि श्रीमान् केदार र श्रीमती सरिता पण्डित पनि गए । ३८ जनाले रिजर्भ गरेर गएको ग२ख ११५२ नम्बरको बस भदौ १० गतेको रसुवा बाढीले बगाइदियो । ६ जनाले हाम फालेर ज्यान जोगाए पनि केदार र सरितासहित बेपत्ता भए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरैको अवस्था अहिले पनि अज्ञात भए पनि दाइ बद्रीले केदारको शव पहिचान गरे । उनको शव पनि एम्बुलेन्समा हालिँदै थियो र सँगै थिइन्, केदारकी आफन्त दिदी सकुन्तला । उनले अझै बुहारी सरिता बेपत्ता रहेको सुनाइन् ।
‘४ वर्षकी छोरी र ९ वर्षका छोरा छन् । घरमा हजुरआमा हुनुहुन्छ । भाइको शव भेटियो, बुहारी अझै बेपत्ता छिन्,’ दिदी शकुन्तलाले भनिन्, ‘यति विक्षिप्त बनाएको छैन । तर के गर्नु ? शव मात्र पाउन पनि हामलाई युद्ध जिते जस्तो हुनुपरेको छ । कस्तो विडम्बना, कस्तो दिन आइहाल्यो हेर्नुस् त ।’ केदार र शकुन्तला शिक्षक थिए ।
यसैगरी, सप्तरीको खड्क नगरपालिका रञ्जिलपुरका २८ वर्षीय सन्तोष चौधरी गाउँमै ट्रक चलाउँथे । ट्रक बिग्रिएपछि हाइड्रोपावरमा काम गर्न आफन्तसँग रसुवा गएको १५ दिनमात्रै भएको थियो । तर रसुवा बाढीले उनको काम र परिवारको खुसी एकसाथ लुटिदियो ।
‘काम खोज्दै गएको छोरा बाढीमा परेको खबर आएपछि घरमा रुवाबासी चल्यो । त्यहाँ हजारौं मान्छे परेका छन् भन्ने सुनेपछि हामी मात्रै त होइन रहेछ भनेर सास नपाए पनि लास त पाइएला भनेर खोज्न निस्कियौं,’ सानीआमा चन्दा महतोले भनिन्, ‘सन्तोषकी आमा मुर्छित हुँदै एम्बुलेन्समा छोरा समाउँदै रोइरहेकी छन् । हामीले त कम्तीमा शवसम्म पायौं । अरू कतिले त यही पनि पाएका छैनन् ।’
उनीहरूलाई सप्तरीसम्म पुग्ने शवबाहनको व्यवस्था गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले गरिदिएको थियो भने अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले इन्धनको व्यवस्था गरिदिएको थियो । फिने गण्डकीले शव भेटिएर घर लैजान समस्या परेका परिवार आफन्तका निम्ति इन्धनको व्यवस्था गरिदिएको थियो ।
रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या बढिरहेको छ भने अहिले पनि धेरै जना बेपत्ता छन् । अस्पतालहरूमा धेरै शव पहिचानसमेत हुनसक्ने अवस्थामा छैनन् । सरकारले बेलैमा उद्धारसमेत नगरिँदा आफ्ना धेरै मान्छे जोखिममा परेको भन्दै आक्रोशसमेत उठिरहेको छ ।
शव भेटिएर पनि पहिचानका निम्ति परिवार र आफन्तहरू अस्पतालमा भौंतारिइरहेका छन् । शव मात्रै पाउन सके पनि मृत्यु संस्कार बेलैमा गर्न पाउने र परिवार पनि पीडा बोकेरै भए पनि जीविकोपार्जनमा लाग्न पाउने सालोको पहिचान भेटिने आशमा हिँडेका मात्रिका ढुंगाना बताउँछन् ।
२१ वर्षीय छोरा वीरबहादुर श्रेष्ठको शव भेटेपछि काठमाडौं जाँदै गर्दा भीमलाललाई शवबाहन चालकले अघिल्लो सिटमा बस्न भनेका थिए । तर उनी शवसँगै बसेर जाने बताइरहेका थिए ।

‘यो सँगै पूरै जीवन बिताउने मन थियो । तर नियतिले पूरा हुन दिएन । कम्तीमा काठमाडौंसम्म भए पनि सँगै जान्छु,’ उनले विक्षिप्त हुँदै बोले, ‘लास नै भए पनि पाउन त पाइयो, यही पनि पाइन्नँ कि भन्ने थियो ।’
कसैको सिंगो परिवार त कसैको जीवनको सहारा नै खोसिएका आफन्त अस्पतालहरूमा भौंतारिइरहेका थिए । देशमा आइपरेको ठूलो बिपत्तिले थुप्रै बेपत्ता र शवसमेत नपाइरहेका बेला पाउनेहरूले भने यसैलाई पनि ठूलो कुरा मानिरहेका थिए ।
पोखरामा ल्याइएका १०२ शवमध्ये मंगलबारसम्म १६ जनाले शव पहिचान गरेर बुझेका थिए भने बुधबार केही शव पहिचान भएका छन् । बाँकीको व्यवस्थापन भएको छ ।
‘जन्मदेखि मृत्यु संस्कारसम्म हाम्रो समाज जोडिएको छ । धर्म, संस्कृति जोडिएको छ । शव नै नपाएर सधैं तड्पिएर, अन्तिम पटक अनुहारसमेत हेर्न नपाएको दुःखेसो सधैंभरि लिएर पीडामा बाँच्न मान्छेले चाहँदैन,’ पश्चिमाञ्चल अस्पतालमा आफन्त खोज्दै आएका हरिकृष्ण पौडेलले भने, ‘यो बिपत्तिमा पीडा त सबैलाई भएको छ । मृत्यु संस्कारका निम्ति र आफ्नो प्रियजनलाई आफ्नै आँखा अगाडिबाट बिदा गर्न चाहन्छ मान्छे ।’
प्रतिक्रिया 4