+
+
Shares

जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभामा एमाले नेता प्रेम प्रसाद दंगालले भदौ १० को भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएको बताउँदै क्षतिपूर्ति माग गरे।
  • उनले नेपालले जलवायु न्यायका लागि हरित जलवायु कोषबाट क्षतिपूर्ति पाउनुपर्ने र सरकारले यो विषय अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने बताए।
  • उनले विकसित देशहरूले धेरै हरितगृह ग्यास उत्सर्जन गरेको भन्दै उनीहरूलाई विपद्को जिम्मेवार ठहर्‍याउनुपर्ने उल्लेख गरे।

१६ भदौ, काठमाडौं । नेकपा एमालेले जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएको छ ।

राष्ट्रिय सभामा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले यस्तो बताएका हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले यो विपद जलवायु परिवर्तनका कारणले भएको बताए ।

‘जलवायु परिवर्तन हुनुमा हाम्रो मुलुकको अत्यन्त न्यून भूमिका छ,’ उनले भने, ‘विकसित देशहरूले, औद्योगिक देशहरूले हरित इन्धनको व्यापक प्रयोग गरेर आफ्ना उद्योग धन्दाहरू संचालन गर्ने, यातायातहरू संचालन गर्ने, विकासका पूर्वाधारहरू संचालन गरेर व्यापक मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गरेका छन् ।’

व्यापक मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गरेका कारणले पृथ्वी तातिदै गरेको उनले बताए ।

उनका अनुसार कृषिको औद्योगीकरणका नाममा पनि मिथेन ग्यासको व्यापक प्रयोग भएको छ । मिथेन ग्यास समेत उत्सर्जन भएका कारणले ग्रीन हाउस तातिदो अवस्थामा रहेको भन्दै उनले विकसित देशहरूलाई विपद्को जिम्मेवार ठहर्‍याउन आवश्यक रहेको बताए ।

‘हामीले जलवायु न्यायका लागि हरित जलवायु कोषबाट क्षतिपूर्ति पाउन पर्दछ । यो विषयलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा सशक्त ढंगले उठाउन जरुरी छ’ उनले भने ।

हिमाल पग्लिदै गरेको र नेपालले ठुलो क्षति बेहोर्नु परेको विषयको अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको भन्दै उनले दोहोर्‍याएका छन्, ‘हामीले चाहिँ न्याय पाउन जरुरी छ ।’

विकसित देशहरूले जुन मात्रामा हरित गृह ग्यास उत्सर्जन गरिरहेका छन् सोही मात्रामा उनीहरूले कटौती गर्न जरुरी रहेको उनले बताए ।

‘उनीहरू ग्यास उत्सर्जन गरिरहने हामीले त्यसको मार सहिरहनु पर्ने यो अन्यायपूर्ण विषय हामीलाई सह्य छैन,’ नेता दंगालले भने, ‘हामी किमार्थ यस विषयमासहन चाहदैनौं । यो जलवायु अन्याय भइरहेको छ । त्यसैले जलवायु न्याय का लागि, दिगो विकासको अवधारणा अवलम्वन गरी यो पृथ्वीको रक्षा र मानव सभ्यताको रक्षा गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?