News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा मंगलबारसम्म पनि प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
- मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली, भारतीय र चिनियाँ टोली कठिन भौगोलिक अवस्थामा निरन्तर टनेल रेस्क्यूमा खटिरहेको बताए।
- बाढी गएको ७ दिनसम्म चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ए र माथिल्लो त्रिशूली–३ बी आयोजनामा फसेकाहरुको उद्धार हुन सकेको छैन।
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् ।
उनका टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् । उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए ।
भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
‘टनेल रेक्स्युको लागी हाम्रो टिम पहिलेदेखी नै खटिइराखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ । त्यहाँको भुगोलको असहज अवस्था र कठिनाईलाई पन्छाउँदै उहाँहरुले दिनरात नभनी काम गरिरहनुभएको छ,’ उनले भने, ‘तर केही बेर अगाडीसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोगेस भएको भन्ने कुरा आएको छैन । उहाँहरु प्रयासरत नै हुनुहुन्छ ।’
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ ।
दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए ।
बाढी गएको ७ दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशुली–३ बी लगायतका आयोजनामा फसेकाहरुको उद्धार गर्न सकिएको छैन ।
प्रतिक्रिया 4