+
+
Shares

६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त, कुनमा को ?

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा‍. डा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । शिवाकोटी त्रिवि शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ विश्वविद्यालयमा सम्बन्धित उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको छ ।
  • त्रिविको शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिए ।

१६ भदौ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा‍. डा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । शिवाकोटी त्रिवि शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. तारादत्त भट्ट नियुक्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयसाथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रार लगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताए ।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालय रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारी लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?