१६ भदौ, काठमाडौं । बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो ।
परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पीआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि पनि बाढीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरुद्ध भएको थियो । बन्द भएको केन्द्र पीआईडीले मर्मत गरी पुन: सञ्चालनमा ल्याएको उनले बताए ।
प्रतिदिन तीन करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको केन्द्रको परीक्षण गत असार ३० गतेदेखि भइरहेको थियो ।
उक्त पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ओछ्याएकाले पाइपलाइन सफाइ र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।
पाइपलाइन सफाइको काम सुरु भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने बताउँदै सो अवधिसम्म प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्ने उनले जानकारी दिए ।
प्रतिक्रिया 4