+
+
Shares

सविनाको याचना: सरकारले सक्दैन भने श्रीमान् खोज्न आफैं जान्छु

८ दिनदेखि बेपत्ता श्रीमान्को खोजीमा त्रिवि शिक्षण अस्पतालदेखि प्रहरी र सरकारी कार्यालयसम्म धाइरहेकी सविनाको एउटै प्रश्न छ, ‘जंगलभित्र कोही जीवित छ भने उसलाई खोज्न सरकार त्यहाँसम्म किन पुग्दैन ?’

मनिषा थापा कौशल काफ्ले मनिषा थापा, कौशल काफ्ले
२०८३ भदौ १७ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पताल परिसरमा बाढीपछि बेपत्ता भएका आफन्तका तस्वीर टाँसेर परिवारले खोजी र जानकारीको माग गरेका छन् ।
  • सविना केसीले श्रीमान्‌ सोहित विक, देवर अमर विक र मामा नारायण विक ८ दिनदेखि सम्पर्कविहीन रहेको बताइन् ।
  • उनले माथिल्लो भेगका जंगल र खोंचमा ड्रोन, हेलिकप्टर वा आफन्तलाई लिएर खोजतलास गर्न सरकारसँग आग्रह गरिन् ।

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल परिसरमा झमझम पानी परिरहेको छ । अस्पताल भित्र र बाहिर मानिसहरूको बाक्लो आउजाउ छ । कोही ओत खोजिरहेका छन् त कोही मोबाइलमा कुरा गरिरहेका छन् ।

तर, त्यो भिडभित्र एउटा यस्तो मौनता छ, जसलाई झरीको आवाजले पनि छोप्न सकेको छैन ।

अस्पतालको चिसो भित्तामा दर्जनौं तस्वीर टाँसिएका छन् । कसैका सन्तान, कसैका श्रीमान्‌, कसैका दाइ, कसैकी दिदी, कसैका भाइ अनि कसैकी बहिनी र बुबाआमा ।

कसैले सोचेकै थिएन, कुनै दिन आफन्तका तस्वीर यसरी अस्पतालको भित्तामा टाँस्दै हिँड्नु पर्नेछ । तर तस्वीर टाँस्ने मानिसहरूलाई नै थाहा छैन, मुस्कुराइरहेको त्यो अनुहार अहिले कहाँ छ ?, जीवित छ कि मृत छ ?

यही प्रश्न बोकेर एउटी महिला तस्वीर टाँसिएको भित्ता अगाडि उभिइरहेकी छिन् । उनका आँखाले प्रत्येक तस्वीरमा पालैपालो हेर्छन् । मानौं, कुनै एउटा अनुहारले अचानक उनलाई बोलाउने छ, ‘सविना…।’

उनको नाम हो, सविना केसी । उनका श्रीमान्‌ सोहित विक बेपत्ता भएको आज ८ दिन बित्यो । श्रीमान्‌सँगै देवर अमर विक र मामा नारायण विकको अत्तोपत्तो छैन ।

एकै परिवारका तीन जना सम्पर्कविहीन छन् । सविनालाई अझै झिनो आशा छ, ‘कतै आफ्ना मान्छे जीवित छन् कि ।’

त्यही बोकेर सविना अस्पतालको भित्तामा टाँसिएका तस्वीरहरूबीच आफ्ना मान्छेको जीवित अनुहार खोजिरहेकी छिन् ।

अहिले उनलाई आड दिने घरका सदस्य कोही छैनन् । सासु विदेशमा, हराएका २३ वर्षीय देवरकी श्रीमती विदेशमा । यता श्रीमान्‌ हराएपछि उनी विदेशमै छट्पटाइरहेकी छिन् ।

श्रीमान्‌ बेपत्ता भएको तीन ३ दिनसम्म खबर नआएपछि सविना तीन–चार महिनाको दूधे छोरालाई घरमै छोडेर अत्तालिँदै यहाँ आएकी हुन् ।

उनको अर्को पाँच वर्षको बच्चा छारे रोगले थलिएका छन् । बेलाबेला बेहोस हुन्छन् । ती बच्चा छिमेकीलाई जिम्मा लगाएर श्रीमान्‌को खबर बुझ्न आएको उनले अनलाइनखबरसँग बताइन् ।

कुराकानी गरिरहँदा सविनाका आँखामा आँसु टिलपिलाएको देखिन्छ । हातका औँलाहरू काँपिरहेका छन् । घरी हराएका मानिसका तस्वीर टाँसिएको भित्तातिर हेर्छिन्, घरी अस्पतालको ढोकातिर बढीरहेको एम्बुलेन्सतर्पm ।

‘मेरो बुढा र मामा जंगलतिर भागेका थिए’

मूल घर सुर्खेत भएको विक परिवार कामको सिलसिलामा स्याफ्रुबेसी पुगेको थियो । सविनाका श्रीमान्‌ परिवारसहित इमाडोल डेरामा बस्थे । चीनबाट सामान ढुवानीको काममा सोहित ड्राइभिङ गर्थे । उनी घरबाट निस्किएको चार–पाँच दिन मात्र भएको थियो ।

भोटेकोशीमा बाढी आउनुभन्दा एक दिन अगाडि उनीहरू स्याप्रुबेसीमै थिए । १० भदौमा बिहान ६ बजे सोहितका मामा–भान्जा सँगै हिँडे । रोङ्गा पुग्नै नपाउँदै ठूलो भेला आयो ।

त्यहाँ रहेका अन्य तीन जना आत्तिएर भाग्न थाले । तीन जनामध्ये एक जना भाग्दाभाग्दै बाँचेर स्याफ्रुमाथि पुगेका रहेछन् । ती व्यक्तिले सविनासँग भनेका थिए, ‘तिम्रो बुढा र मामा जंगलतिर भागेका थिए । बाढी आउँदाआउँदै भागेको मैले देखेको थिएँ ।’

उनले दिएको सूचना नै अहिले सविनाको आशाको सबैभन्दा ठूलो आधार हो ।

उनको मनमा बारम्बार एउटै कुरा घुमिरहन्छ, ‘मेरा मान्छेहरू जंगलमा कतै भोकै, तिर्खै तड्पिरहेका त छैनन् ?

उनका देवर अमर टिमुरेबाट गाडी लिएर आउँदै थिए । तातोपानी डाँडातिरबाट आउँदा एक जना दाइसँग उनको अन्तिम फोन सम्पर्क भएको थियो । उनले भनेका थिए, ‘चौकी पुगेको छु ।’ त्यसपछि अमर सम्पर्कविहीन भए ।

‘हामीलाई जान दिँदैनन्’

जंगलतर्फ भागेको सुनेकी सविनालाई आफ्ना श्रीमान्‌ र मामा भेटिने झिनो आशा छ । सुरुङमा खोजी र टिमुरेसम्म हेलिकप्टर गए पनि जंगलभित्र कोही नगएको उनको गुनासो छ । खोजी अभियानकर्ता सुरुङ र टिमुरेसम्म हेलिकप्टरमा पुगेको उनले सुनेकी छिन् । तर उनलाई लाग्छ, त्यो जंगलमा सरकार पुगेको छैन ।

‘मेरा श्रीमान्‌ सोहित र नारायण भागेको भनिएको जंगलतिर खोजी भएको छैन । न ड्रोन पुगेको छ, न हेलिकप्टर । न त परिवारले आफैं गएर खोज्न पाएको छ । खोजतलास त गर्नुपर्‍यो नि,’ उनी भन्छिन् ।

पीडितका मामाहरूले आर्मीसँग कुरा गरेर हेलिकप्टर लैजाने प्रयास गरेका थिए । तर अहिलेसम्म केही भएको छैन ।

हेलिकप्टरमा उनको परिवारको एक जना लैजाने भनिएको थियो, त्यो पनि भएको छैन । थकित स्वरमा उनी थप्छिन्, ‘मरे पनि, बाँचे पनि म आफैँ जान्छु भन्दा जान पाइँदैन रे ।’

सविना पटकपटक दोहोर्‍याउँछिन्, ‘खोजतलास त गर्नुपर्‍यो नि । जिउँदो रहेको मान्छे पनि सरकारको लापरबाहीले मर्छ के ।’

सविना सरकारसँग रिसाएकी छिन् । टुटेकी छिन् । यत्रो दिनसम्म पनि माथिल्लो भेगमा सरकारले उद्धारमा तदारुकता नदेखाएकोमा उनको गुनासो छ ।

अस्पतालको भित्तामा तस्वीर छ, उद्धारको सूचीमा छैन

त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसिएका तस्वीरले सविनालाई झन् बेचैन बनाउँछन् । उनका दिदीहरूले आइतबार नै आएर तस्वीर टाँसिदिएका थिए ।

बेपत्ता भएको दुई दिनसम्म खबर नआएपछि तीन–चार महिनाका बच्चा छिमेकीलाई जिम्मा लगाएर उनी श्रीमान्‌को खोजीमा हिँड्न विवश छिन् ।

‘दिनभरि कोठामा रोएर मात्र के गर्ने ? बरु मेरो बुढो म आफैँ खोज्छु,’ उनले भनिन् । उनले प्रहरीको टोल फ्री नम्बर १०० मा पनि फोन गरेकी छिन् । आफ्नो टिकटकबाट बेपत्ता भएको जानकारी गराइरहेकी छिन् ।

सविना सम्बन्धित निकायमा बेपत्ता भएको निवेदन दिइसकेको बताउँछिन् । इमाडोल प्रहरी चौकीमा निवेदन दिएकी छिन् । आपतकालीन नम्बरमा पनि सम्पर्क गरेकी छिन् ।

तर, उनको अर्को गुनासो बेपत्ता व्यक्तिहरूको विवरण संकलन गर्ने प्रक्रियासँग सम्बन्धित छ । भन्छिन्, ‘जति ठाउँमा गए पनि फेरि नाम टिपिराख्छन् ।’ एक पटक नाम टिपिएपछि त्यो विवरण खोजीमा खटिएका सबै संयन्त्रसम्म पुग्नुपर्छ ।

‘एक पटक टिपिसकेपछि नाम सिस्टममा हुनुपर्‍यो नि,’ उनी थप्छिन्, ‘फेरि अर्को ठाउँमा गएर नाम टिपाइरहनुपर्ने अवस्था हुनु भएन ।’

बेपत्ता व्यक्तिको परिवारका लागि यो सामान्य प्रशासनिक प्रक्रिया होइन । हरेक पटक नाम सुनाउनु भनेको फेरि त्यही घटना सम्झिनु हो । हरेक पटक तस्वीर देखाउनु भनेको फेरि त्यही अनुहार सम्झिनु हो । हरेक पटक ‘अझै भेटिएको छैन’ भन्ने उत्तर सुन्नु भनेको आशामाथि अर्को चोट पर्नु हो । त्यसैले, सविना एउटा व्यवस्थित केन्द्रीय सूचीको माग गरिरहेकी छन् ।

श्रीमान्‌को खोजीमा एक्लै भौंतारिइरहेकी सविना एउटै कुरा बारम्बार दोहोर्‍याउँछिन्, ‘सरकार माथितिरका जंगल र खोंचभित्र पनि जानुपर्छ । जहाँ गाडी पुग्छ, जहाँ सुरुङ छ, त्यहाँ मात्र हेरेर भएन । सरकार त सबैतिर पुग्नुपर्‍यो नि ।’

उनी हात जोडेर आग्रह गर्छिन्, ‘यो कुरा सरकारसम्म पुगोस् । ड्रोन लगाएर भए पनि, हेलिकप्टर लगेर पनि सरकार पुग्नुपर्‍यो । सरकार जान सक्दैन भने आफन्तलाई जान देऊ । नभए, मेरो श्रीमान्‌ खोज्न म आफैं जान्छु ।’

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?