+
+
Shares

सार्वजनिक जीवनबाट विश्राम लिनुअघि लन्डनमा ग्राण्डेको भावुक कन्सर्ट

लन्डनको मञ्चमा ग्रान्डेमा शारीरिक कमजोरी वा अस्वस्थताको कुनै संकेत देखिएन । यद्यपि, खुट्टामा लागेको चोटका कारण उनले आफ्नो पहिचान बनेका अग्ला स्टिलेटो जुत्ताको सट्टा घुँडासम्म आउने प्लेटफर्म बुट लगाउनुपरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एरियाना ग्रान्डेले मंगलबार राति लन्डनमा ‘इटर्नल सनसाइन’ टुर समापन गर्दै सार्वजनिक जीवनबाट केही समय टाढा रहने तयारी गरेकी छन्।
  • अन्तिम कन्सर्टमा उनले ‘वन लास्ट टाइम’ गाउँदै भावुक भइन् र प्रशंसकलाई धन्यवाद दिँदै भनिन्, ‘यो मेरो जीवनकै सबैभन्दा सुन्दर र असाधारण अनुभवमध्ये एक रह्यो।’
  • ग्रान्डेले स्वास्थ्य र शारीरिक स्वरूपबारे अड्कलबाजीपछि सार्वजनिक उपस्थितिबाट विश्राम लिने घोषणा गरेकी थिइन् र आगामी ‘सन्डे इन द पार्क विथ जर्ज’बाट नाम फिर्ता लिएकी छन्।

काठमाडौं । गायिका एरियाना ग्रान्डेले मंगलबार राति भावुक माहोलबीच आफ्नो ‘इटर्नल सनसाइन’ टुर समापन गरेकी छन् । यो टुर सकिएसँगै उनी सार्वजनिक जीवनबाट केही समय टाढा रहने तयारीमा छिन् ।

अन्तिम कन्सर्टका क्रममा ग्रान्डे केही क्षण भावुक हुँदै आँसु रोक्ने प्रयासमा देखिइन् । विशेषगरी ‘वन लास्ट टाइम’ प्रस्तुत गर्दा उनी निकै भावुक भइन् । यो गीतले सन् २०१७ को म्यानचेस्टर आतंकवादी हमलाबाट बाँचेकाहरूका लागि विशेष अर्थ बोकेको छ र उनीहरूको भावनासँग जोडिएको गीतका रूपमा स्थापित भएको छ ।

‘लन्डन, यसमा मलाई तिमीहरूको सहयोग चाहिन्छ’, उनले भनिन्, ‘गीत प्रस्तुत गर्ने क्रममा उनी घुँडा टेकेर दर्शकको नजिकै रहिन् ।’ ग्रान्डेले गत महिना आफ्नो स्वास्थ्य र शारीरिक स्वरूपबारे महिनौंदेखि भइरहेको व्यापक अड्कलबाजीपछि आगामी सबै सार्वजनिक उपस्थितिबाट विश्राम लिने घोषणा गरेकी थिइन् ।

त्यस निर्णयसँगै उनले आगामी गर्मीमा लन्डनको बार्बिकनमा मञ्चन हुने स्टिफन सोन्डहाइमको ‘सन्डे इन द पार्क विथ जर्ज’बाट पनि नाम फिर्ता लिएकी छन् । उक्त प्रस्तुतिमा उनी आफ्ना ‘विकेड’ सह–कलाकार जोनाथन बेलीका साथ देखिने तय भएको थियो । बेलीले पनि मंगलबार उक्त प्रस्तुतिबाट नाम फिर्ता लिए ।

तर लन्डनको मञ्चमा ग्रान्डेमा शारीरिक कमजोरी वा अस्वस्थताको कुनै संकेत देखिएन । यद्यपि, खुट्टामा लागेको चोटका कारण उनले आफ्नो पहिचान बनेका अग्ला स्टिलेटो जुत्ताको सट्टा घुँडासम्म आउने प्लेटफर्म बुट लगाउनुपरेको थियो ।

त्यसका बाबजुद उनी नर्तकहरूसँग ताल मिलाउँदै मञ्चभरि सक्रिय रूपमा प्रस्तुत भइन् । अग्ला हिल नलगाउँदा घटेको उचाइको प्रभाव मिलाउन उनी धेरैपटक खुट्टाको औंलाको टुप्पोमा उभिएर नाचिन् ।

कार्यक्रमको अन्त्यतिर दर्शकलाई सम्बोधन गर्दै उनले निरन्तर साथ दिएकोमा प्रशंसकलाई धन्यवाद दिइन् ।

‘यो मेरो जीवनकै सबैभन्दा सुन्दर र असाधारण अनुभवमध्ये एक रह्यो र म पूरै रुनुअघि नै आफ्नो कृतज्ञता व्यक्त गर्न चाहन्थें’ उनले भनिन् । ‘म यो अनुभवलाई सधैं सम्झिरहनेछु । संसारकै उत्कृष्ट प्रशंसकहरू मसँग छन् र सधैं थिए । तपाईंहरूले गर्नुभएको सबै प्रयास र यसलाई निरन्तर यति विशेष बनाइदिनुभएकोमा धन्यवाद ।’

उनले थपिन्, ‘तपाईंहरूसँग सबैसँग बिताएको प्रत्येक मिनेट मैले मन पराएकी छु र म कति कृतज्ञ छु भन्ने कुरा व्यक्त गर्न चाहन्थें ।’

‘सीमाहरू तय गर्न आवश्यक छ’

ग्रान्डेले गत महिना विश्रामको घोषणा गरेकी थिइन्, त्यसको केही समयअघि उनको पछिल्लो सिंगल ‘पेटल’को म्युजिक भिडियो सार्वजनिक भएको थियो, जसपछि केही प्रशंसकले उनको तौललाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

एक प्रयोगकर्ताले एक्समा ३३ वर्षीया ग्रान्डे ‘यति दुब्ली भएकी छन् कि मानिसहरू साँच्चिकै चिन्तित छन्’ भनेर लेखेका थिए ।

त्यसको दुई दिनपछि ग्रान्डेका पब्लिसिस्टले ‘निरन्तर र कहिल्यै नसकिने सार्वजनिक निगरानी’का कारण उनले ‘सार्वजनिक दृश्यबाट पछि हट्ने’ निर्णय गरेको घोषणा गरे । पिपल म्यागजिनसँग कुरा गर्दै गायिकानिकट एक स्रोतले ग्रान्डेले ‘अत्यन्त शारीरिक परिश्रम आवश्यक पर्ने कार्यक्रम स्वस्थ र सफल रूपमा लगातार रातैपिच्छे उच्च स्तरमा प्रस्तुत गरिरहेकी’ बताएका थिए ।

ग्रान्डे स्वयंले त्यसको भोलिपल्ट प्रशंसकलाई आश्वस्त पार्दै आफ्नो निर्णय ‘सोचविचारसहित र आफ्नै नियन्त्रणमा रहेर गरिएको’ बताइन् । उनका अनुसार यो योजना ‘धेरै पहिल्यै’ बनाइएको थियो । ‘नकारात्मकताले मेरा लागि सबै कुरा बिगारिरहेको छ भनेर मेरा प्रशंसक चिन्तित भएको मैले सुनेँ, तर वास्तविकता त्यसको ठीक विपरीत छ,’ उनले सिकागोको मञ्चबाट भनेकी थिइन् ।

त्यो घोषणाअघि नै ग्रान्डेले अमेरिकामा जुनबाट सुरु भएको ‘इटर्नल सनसाइन’ टुरलाई ‘एउटा अन्तिम उत्सव’का रूपमा वर्णन गरेकी थिइन् । ‘विकेड’मा अस्कर मनोनयन प्राप्त अभिनयपछि आफू थप अभिनय भूमिकामा केन्द्रित हुन चाहेको उनले बताएकी थिइन् ।

यसको अर्थ लन्डनको ओटु एरिनामा आयोजित उनका १० वटा कार्यक्रम धेरै प्रशंसकका लागि उनलाई कन्सर्टमा हेर्ने अन्तिम अवसर हुन सक्थ्यो । उनलाई हेर्न चीन, अस्ट्रेलिया र युरोपका विभिन्न सहरसहित विश्वभरबाट प्रशंसक लन्डन पुगेका थिए । लन्डनका कार्यक्रममै मात्र २ लाख दर्शक सहभागी भए ।

दोस्रो रातको कार्यक्रममा ग्रान्डेले ‘विकेड’की सह-कलाकार सिन्थिया एरिभोलाई अचानक मञ्चमा बोलाएर दर्शकलाई चकित पारिन् । उनीहरूले फिल्मको युगल गीत ‘फर गुड’ सँगै प्रस्तुत गरे ।

समग्रमा टुरले सकारात्मक समीक्षा पायो

रोलिङ स्टोन म्यागजिनले ‘यसमा कुनै प्रश्न छैन, एरियाना ग्रान्डे आफ्नो पुस्ताकै उत्कृष्ट गायिकामध्ये एक हुन्’ भन्दै कार्यक्रममा उनी ‘संघर्ष गरिरहेकी वा त्यहाँ रहन नचाहेको कुनै संकेत’ नदेखिएको उल्लेख गर्‍यो ।

द टेलिग्राफले कार्यक्रमलाई ‘त्रुटीरहित’ भन्दै हलिउडबाट प्रभावित यसको मञ्च सजावट र बेलायतप्रति ग्रान्डेको ‘वास्तविक आत्मीयता’को प्रशंसा गर्‍यो ।

तर गार्डियनकी लेखिका केट सोलोमनले कार्यक्रमको आनन्द लिइरहँदा पनि ग्रान्डेका लागि आफू ‘वास्तविक चिन्ताले ग्रस्त’ भएको बताइन् । उनले भनिन्, ‘म साँच्चिकै आशा गर्छु, यो टुर गलत कारणले इतिहासमा दर्ज नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?