लस एन्जलस । अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डेले अमेरिकी प्रशासनको आप्रवासन नीतिको प्रचारका लागि आफ्नो गीत प्रयोग गरिएको भन्दै ह्वाइट हाउसको आलोचना गरेकी छन् ।
टिकटकमा सार्वजनिक गरिएको १४ सेकेन्ड लामो भिडियोमा आईसीई एजेन्टसहितका अधिकारीले मानिसलाई पक्राउ गर्दै हतकडी लगाएको दृश्य देखाइएको थियो । बीबीसीका अनुसार उक्त भिडियोमा ग्रान्डेको सन् २०२४ मा सार्वजनिक भएको गीत ‘बाय’ प्रयोग गरिएको थियो । पछि भिडियोबाट उक्त ध्वनि हटाइएको छ ।
भिडियोको क्याप्सनमा लेखिएको थियो, ‘बाय-बाय राष्ट्रपति ट्रम्पले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सुनिश्चित गरेका छन् ।’
बिहीबार ग्रान्डेले उक्त टिकटक भिडियोमा प्रतिक्रिया दिँदै लेखेकी थिइन्, ‘कृपया मेरो संगीतलाई यस प्रकारको बर्बर, अमानवीय र घृणित गतिविधिसँग जोडेर प्रयोग नगर्नुहोस् ।’ उनको उक्त टिप्पणी पछि लुकाइएको देखिएको छ ।
ग्रान्डेको प्रतिक्रियापछि ह्वाइट हाउसले सीएनएनलाई इमेलमार्फत प्रतिक्रिया दिएको थियो । ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले भनिन्, ‘हामी अन्तिम पटक यति मात्र भन्छौंः वास्तवमा बर्बर, अमानवीय र घृणित भनेका ती आपराधिक अवैध आप्रवासीहरू हुन्, जसले निर्दोष अमेरिकी नागरिकलाई घाइते बनाएका छन् र हत्या गरेका छन् ।’
फिल्म ‘विकेड’ की स्टार ग्रान्डेले यसअघि पनि आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै आएकी छन् । उनले जनवरीमा आयोजित गोल्डेन ग्लोब्स समारोहमा ‘आइस आउट’ लेखिएको ब्याज समेत लगाएकी थिइन् । सीएनएनले थप प्रतिक्रियाका लागि ग्रान्डेका प्रतिनिधिसँग पनि सम्पर्क गरेको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पनि चुनावी अभियानका कार्यक्रममा संगीत प्रयोग गरेको विषयलाई लिएर विभिन्न कलाकारको आलोचना खेप्दै आएका छन् । स्विडिस पप समूह एबीबीए, एडेल तथा जोन फोगर्टी लगायतका कलाकारले ट्रम्पको अभियानमा आफ्नो संगीत प्रयोग गरिएकोमा आपत्ति जनाएका थिए ।
संघीय अधिकारीले मानिसलाई पक्राउ गरिरहेको भिडियोमा आफ्नो संगीत प्रयोग गरिएको भन्दै कुनै चर्चित कलाकारले ट्रम्पको आलोचना गरेको यो पहिलो घटना भने होइन ।
मिडिया रिपोर्टका अनुसार ह्वाइट हाउस र अमेरिकी गृह सुरक्षा विभागका इन्स्टाग्राम खातामा सार्वजनिक गरिएको ‘अहिल्यै अमेरिका छोड्नुहोस् र स्वेच्छाले देश निकाला हुनुहोस्’ भन्ने सन्देशसहितको भिडियोमा ओलिभिया रोडिग्रोको गीत ‘अल अमेरिकन बिच’ प्रयोग गरिएको थियो ।
रिपोर्टअनुसार रोड्रिगोले उक्त पोस्टमा प्रतिक्रिया दिँदै लेखेकी थिइन्, ‘मेरो गीतलाई तपाईंहरूको जातिवादी र घृणायुक्त प्रचारका लागि कहिल्यै प्रयोग नगर्नुहोस् ।’ पछि उनको उक्त टिप्पणी हटाइएको थियो भने भिडियोबाट गीतको ध्वनि पनि हटाइएको थियो ।
प्रतिक्रिया 4