+
+
Shares

चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्ष उपस्थित भएकोप्रति एमालेले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १३:४५

२ असार, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानूनले नचिनेको व्यक्तिको उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् ।

सांसद बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्था अनुसार हाल आयोगको उपाध्यक्ष पद रिक्त रहेको र नयाँ उपाध्यक्ष छनोटका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समितिले प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा गिरी कसरी बैठकमा सहभागी हुनुभयो भनी प्रश्न गरे ।

बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित दीर्घकालीन महत्त्व राख्ने छात्रवृत्ति कार्यविधि समेत स्वीकृत गरेको उल्लेख गर्दै सांसद बरालले उक्त बैठक र निर्णय प्रक्रियालाई ‘अवैध’को संज्ञा दिए ।

‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको मान्छे उपाध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो,’ सांसद बरालले भने, ‘१० जनाले आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा श्रीकृष्ण गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभयो ? यो अचम्मको विषय हो ।’

सांसद बरालले यस्तो गैरकानूनी प्रक्रिया अविलम्ब बन्द गर्न र आयोगका गतिविधिहरूलाई विधिसम्मत ढंगले अगाडि बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?