+
+
Shares
रसुवा बाढी :

आफन्त खोज्न हिंडेका एकै परिवारका ८ जना मैलुङको जंगलमा फसे

नेपाल प्रहरीका डीएसपी किशोर लम्साल भन्छन्- धेरै मान्छे आफन्त खोज्न जंगलैजंगल हिंडिरहेका छन् । उहाँहरू हेलिकप्टर उडाउन भन्नुहुन्छ कसरी उडाउने ? हेलि जति सबै व्यस्त छन् । कतै नजिकै गाउँमा गए हुन्थ्यो।

आदित्य नेपाल आदित्य नेपाल
२०८३ भदौ १८ गते १९:१७
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवास्थित मैलुङ बेसक्याम्पको जंगलमा बाढीपछि बेपत्ता जनकराज बोहोराका आठ आफन्त ३५ घण्टादेखि अलपत्र परेका छन्।
  • भदौ १० को बाढीले दुसान हाइड्रो कन्सट्रक्सनमा क्षति पुगेपछि कन्सट्रक्सन म्यानेजर बोहोरा सम्पर्कविहीन भएका थिए।
  • उद्धारका लागि सेना र प्रहरीलाई गुहारे पनि सहयोग नपाएको आफन्तको आरोप छ, भने डीएसपीले हेलिकप्टर व्यस्त रहेको बताएका छन्।

१८ भदौ, काठमाडौं । यतिखेर रसुवास्थित मैलुङ बेसक्याम्पको जंगलमा आठजना भौंतारिरहेका छन्। कहाँ जाने, के खाने र के पिउनेसम्मको ठेगान नभएपछि उनीहरू अतालिएका छन् । उनीहरू एकै परिवारका भएकाले झन् मानसिक दबाबमा छन् ।

भदौ १० गते आएको बाढीले रसुवास्थित दुसान हाइड्रो कन्सट्रक्सनमा भारी क्षति भएपछि कन्सट्रक्सन म्यानेजर जनकराज बोहोरा सम्पर्कविहीन भए ।

बाढी आएको खबर देशैभरी फैलिएपछि परिवारले उनलाई पटकपटक सम्पर्कको प्रयास गर्‍यो, तर सम्पर्क हुनसकेन ।

तीनै बोहोरालाई खोज्न उनका परिवारका आठजना मैलुङ आइपुगेका हुन् । तर बाटो बिराएर उनीहरू आफैं उद्धारको पर्खाइमा छन् । भदौको १७ गते बिहानै पुगेका उनीहरू जंगलको बीचोबीचबाट ३५ घण्टा बढीदेखि सरकारलाई गुहारिरहेका छन् । तर कहिकतैबाट उनीहरूको उद्धारका लागि पहल नभएको बोहोराका नातेदार विशाल रावलले जानकारी दिए ।

‘हिजोको रात ओडारमा कटायौं। आज कसरी बिताउने होला । पिउने पानी र अलिअलि भएको चाउचाउ सिद्धियो। वरिपरी एकजना मान्छे छैनन्,’ रावलले अनलाइनखबरसँग भने, ‘माथि हेलिकप्टर उडिरहेको छ। तल दुई खोलाको बीच सुनसान जंगलमा हामी छौं। पानी परिरहेको छ ।’

रावलका अनुसार उनीसँगै सन्दीप भण्डारी, सञ्जय भण्डारी, भुवन भण्डारी, मिनबहादुर बोहोरा, पारस बोहोरा, अनल ओकेरा र प्रकाश सेढाईं छन् ।

रसुवास्थित दुसान हाइड्रो कन्सट्रक्सनका कन्सट्रक्सन म्यानेजर जनकराज बोहोरा, जो बाढीपछि बेपत्ता छन् ।

सेना र प्रहरीले भन्यो- केही गर्न सक्दैनौं

जनकराज बोहोरा बेपत्ता भएदेखि नै उनको परिवार उनलाई खोज्न शुरू गरेका थिए । शुरूमा काठमाडौंमै रहेका दुसान हाइड्रो कन्सट्रक्सन कम्पनीमा गएर उद्धारको याचना गरे। तर कम्पनीले शुरूआतमा ‘हेलिकप्टरबाट तपाईंहरूलाई लान्छौं र उद्धारमा सहयोग गर्छौं’ भनेपनि पछि फोनै उठाउन छोड्यो ।

कम्पनीले नै बेवास्ता गरेपछि आफूहरू काठमाडौंबाट नुवाकोटको विदुर नगरपालिकास्थित सेना ब्यारेकमा गुनासो गरेको विशाल बताउँछन् ।

तर, सेनाले सम्पर्कमा आएका व्यक्तिहरूको नाम मात्रै टिप्ने कुरा गरेपछि आफूहरू आफैं मैलुङका लागि हिंडेको उनको भनाइ छ ।

‘काठमाडौंबाट विदुर नगरपालिकाको महवीर गाउँ पुग्यौं । त्यहाँ मोटरसाइकल राखेर हामी १२-१४ घण्टा जंगलैजंगल हिंड्दै कालिकास्थानबाट मैलुङ पुग्यौँ,’ विशालले भने, ‘तर यहाँदेखि अब बाटो पनि भेटेका छैनौं। दुवैतिर खोलाको बीचमा बन्धक बनेजस्तो भएका छौं। फोन चलेपनि इन्टरनेट छैन ।’

विशालका अनुसार उनले उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनालाई पटकपटक गुहारिसकेका छन् तर दुवै संगठनले आफूहरूलाई सहयोग नगरेको उनको आरोप छ। विभिन्न च्यानल हुँदै नेपाल प्रहरीका डीएसपी र सेनाका क्याप्टेनलाई जानकारी गराए पनि खासै वास्ता नगरेको उनी बताउँछन् ।

‘प्रहरीलाई सम्पर्क गरेर हेलिबाट उद्धार गरिदिनुस् भन्दा सरी सेनालाई भन्नुस् भन्नुभयो, विशाल सुनाउँछन्, ‘सेनालाई उद्धार गरिदिनुस् भन्दा सरी हामी सक्दैनौं प्रहरीलाई भन्नुस् भन्नुभयो। यही कारण हामी यहाँ विचल्लीमा परिसक्यौं ।’

विशालले सम्पर्क गरेका डीएसपीसँग अनलाइनखबरले वास्तविक कुरा के हो बुझ्दा डीएसपी किशोर लम्सालले भने, ‘उहाँहरू आफन्त खोज्न आएको र आफैं हराएको सूचना आएको थियो । उहाँहरूले हेलिकप्टर उडाउन भन्नुहुन्छ कसरी उडाउने ? हेलि जति सबै व्यस्त छन्,’ लम्साल अनलाइनखबरसँग भने, ‘यस्ता धेरै मान्छे आफन्त खोज्न जंगलैजंगल हिंडिरहेका छन् । हिजोमात्रै ७-८ जना लाई सेनाले उद्धार गर्नुपर्‍यो । उहाँहरू जहाँ कहीं हुनुहुन्छ त्यहाँ नजिकै कतै गाउँ त होला नि। त्यतै गएर बाटो पत्ता लगाए राम्रो हुन्थ्यो ।’

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?