+
+
Shares

बाढी प्रभावित क्षेत्रका ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुर्‍याउन बाँकी : प्रधानमन्त्री

‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २०:५६

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका हुन् ।

‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘अन्य पूर्वधार पहिलेकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरूको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको छ ।’

पूर्वाधार पुनर्स्थापना विपद्मा परेका नागरिकहरूका लागि अर्को एउटा राहत रहेको आफूलाई थाहा रहेको उनले बताएका छन् ।

यस्तै, कृष्णभिरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको प्रधानमन्त्री बालेनले बताएका छन् ।  ‘आजदेखि रुख कटान र भित्ता काटेर ट्र्याक खोल्ने काम सुरु भएको छ । कृष्णभिरको समस्या दीर्घकालीन रूपमा समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे आवश्यक अध्ययन गरिनेछ,’ उनले भनेका छन् ।

त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गतको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइएको र बाँकी २ किलोमिटरमा काम जारी रहेको उनले जनाएका छन् । ‘क्षतिग्रस्त थप ३५ किलोमिटरमा काम गर्नका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

यस्तै, तादीमा बेलिब्रिज राख्न फाउन्डेसन निर्माण सुरु र भोलिसम्म बेलिब्रिज पुर्‍याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् । ‘बेत्रावतीमा बेलिब्रिज राख्न सर्भे भई फाउन्डेसन निर्माण सुरु भएको छ । त्रिशूलीमा सर्भे सकिएको छ । उक्त स्थानमा १२० मिटरको बेलिब्रिज आवश्यक देखिएको छ,’ उनले भनेका छन् ।

काठमाडौंस्थित बेलायती राजदूतावासलाई ७० मिटरभन्दा लामा र डबल लेन भएका १० वटा बेलिब्रिज अनुदानमा उपलब्ध गराइदिन अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?