News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङ उद्धारमा विश्वभर विशेषज्ञता र तत्कालीन प्रविधि नभएको बताएपछि विज्ञहरूले त्यो दाबी गलत भएको बताएका छन्।
- विज्ञहरूले भारत, चीन, पेरु र चिलीमा हिलो तथा ढुंगाले थुनिएका सुरुङबाट मानिसहरूको उद्धार भएको उदाहरण दिँदै आधुनिक प्रविधि पनि उपलब्ध रहेको बताए।
- नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले उद्धारमा ढिलाइ गर्नु अपराध भएको आरोप लगाउँदै सरकारको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए।
१७ भदौ, काठमाडौं । बाढीसँगै हिलो माटोले थुनिएका सुरुङमा फसेका मानिसहरुको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दाबी गलत रहेको विज्ञहरुले बताएका छन् ।
प्रतिनिधिसभामा आज बोल्दै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गरेका थिए, जसबारे विज्ञहरुले चासो राखेका हुन् ।
हिलो जमेको सुरुङबाट उद्धार गर्ने काम समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेषज्ञता नै नभएको भन्नु गलत हुने उनीहरु बताउँछन् ।
यसअघि भारत, चीन, पेरु, चिलीलगायत मुलुकमा जटिल किसिमले सुरुङमा फसेका मानिसहरुको उद्धार भएको र ती देशहरुमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि पनि भएको विज्ञहरुको भनाइ छ ।
के भनेका थिए, प्रधानमन्त्रीले ?
यो टनेल (सुरुङ)मा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरि पाइने एक्सपर्टहरु चाहिँ टनेलमा आउने पहिरोलाई पन्छ्याएर उद्धार गर्ने खालका हुन् । यस्तो एक्सपर्टिज चाहिँ विश्वभरि नै छ । तर यो चाहिँ फरक किसिमको किन हो भन्दा यो पहिरोले थुनिएको टनेल हैन । यी बाढी भित्र पसेर सँगसँगै हिलो माटोहरुले पूरै थुनिएका टनेलहरु हुन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरुसँग थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रहरुमा जति उद्धार भएका थिए, त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो ।’
त्यसभन्दा पनि अघि बढेर प्रधानमन्त्रीले जुनबेला पायक पर्छ, मौसमले साथ दिन्छ वा हिलो थोरै सुक्छ, त्यसपछि मात्रै उद्धार हुने आशयको अभिव्यक्ति पनि दिए । ‘जतिबेला अड्डिने ठाउँ हुन्छ, मान्छेहरु पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरु हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ । एउटा टनेलमा एकैचोटि चार–पाँच वटा २० वटा एक्स्काभेटर किन लाइएन भन्ने कुरा आएको थियो । त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुई वटाभन्दा धेरै एक्स्काभेटरले काम पनि गर्न सक्दैन । त्यसको एउटा सीमा छ त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्स्काभेटर लगाएर पनि गर्न सकिने थिएन ।

के भन्छन् विज्ञ ?
लामो समयदेखि नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेका इन्जिनियरिङ जियोलोजिस्ट सुवासचन्द्र सुनुवार ढुंगा तथा हिलोले थुनेको सुरुङबाट उद्धार गर्ने काम अलि ढिलो हुने भन्ने प्रधानमन्त्रीको भनाइ ठीक भए पनि विदेशमा हाम्रोभन्दा उन्नत प्रविधि र विशेषज्ञता नभएको भन्ने भनाइ चाहिँ सही नभएको बताउँछन् ।
‘खासगरी चिलिमे र माथिल्लो त्रिशुली थ्रीएको सुरुङ हेर्दा हिलो जमेको देखिछ, त्यसलाई हटाउँदै अघि बढ्नुपर्छ, त्यसमा समय लाग्ने नै भयो । ढुंगाले पनि बाटो छेकेको छ, एकैपटक स्वाट्टै जान मिल्दैन,’ उनले भने, ‘तर, त्यसको विकल्पमा विश्वमा अन्य प्रविधिहरु पनि विकास भएका छन्, त्यो प्रयोग गरेर उद्धार भएका छन् ।’
खासगरी पेरुमा सन् २०१२ मा सुरुङ पुरिएर दुई सय मिटर तल फसेका ९ जना श्रमिकलाई टनेल खोलेर उद्धार गर्न सम्भव नभएपछि माथिल्लो भागबाट सानो बोरिङ मेसिनले बोरिङ गरी उद्धार गरेको उदाहरण भएको उनले बताए ।
‘त्यस्तो सानो बोरिङ मेसिन नेपालसँग छैन, तर चीन तथा अन्य मुलुकसँग छन्,’ उनले भने ।

त्यस्तै, भारतमै पनि तपोवन जलविद्युत र सिल्क्यारा जलविद्युतको टनेलमा हिमताल विस्फोटबाट आएको बाढीले पुरेपछि माथिबाट (भर्टिकल) सुरुङ खनी फसेकाहरुको उद्धार गरिएको थियो । तपोवन जलविद्युतको सुरुङमा २०२१ मा २० जना हराइरहेकामध्ये १२ जनाको उद्धार भएको थियो । सिल्क्यारा जलविद्युतमा २०२३ मा त्यसैगरी फसेका ४१ जनाको सफल उद्धार भएको थियो । यसमा पनि ढुंगा र हिलाको कारण एक्सेस टनेलबाट भित्र जान नसकेपछि ठाडो ड्रिलिङ, तेर्सो पाइप ज्याकिङ र अन्तिममा १२ मिटर मानिसले नै खनेर ‘र्याट होल’ बनाई सफल उद्धार भएको थियो ।
चीनसँग यस्तो उद्धारका लागि चाहिने मोबाइल डिवाटरिङ पम्प, माइक्रो टीबीएम मेसिनलगयात अत्याधुनिक उपकरणहरु रहेको विशेषज्ञहरु बताउँछन् ।
तर, सरकारले चीन र भारतका उद्धारकर्मीहरु चार दिनपछि मात्रै उद्धार अनुमति दिएको थियो । ती दुवै देशबाट थप उपकरण ल्याएर उद्धारको प्रयास भएको छैन ।
यस्तो अनुभव अन्य मुलुकहरुसँग पनि रहेको सुनुवार बताउँछन् । ‘सरकारले यस्तो काम गर्न नसकेपछि निजी उत्पादकहरु तथा विशेषज्ञहरुलाई तत्कालै बोलाएर प्लान ‘बी’मा जानुपर्थ्यो, हरेक आयोजनाका लागि फरक–फरक रणनीति हुन सक्थ्यो, ८ दिनसम्म पनि उद्धार नगरी बल्ल यस्तो कुरा गर्दा मानिसहरु रिसाउनु स्वाभाविक नै हो,’ उनी भन्छन् ।

निजी प्रवर्द्धकहरुलाई काम गर्न सात दिनपछि बल्ल पहुँच दिएको उनले बताए ।
‘समयका हिसाबले धेरै ढिलो भयो, टनेल पुरिएपछि त्यहाँ पुरै अँध्यारो हुन्छ, हिलोमा फसेको मान्छे बाँचेकै रहेछ भने पनि धेरै दिनसम्म जीवन बचाउन सकिँदैन, त्यसो हुँदा जतिसक्दो छिटो उद्धारको योजना बनाउनुपर्नेमा त्यसो भएन,’ उनी भन्छन् ।
अहिले माथिल्लो त्रिशुली थ्रीएको उद्धार कार्यमा फिल्डमै खटिएका जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपाने पनि प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउँछन् ।
‘यस्तो विनास अन्य देशमा भएको छैन । तर, सुरुङमा माटो सुकेपछि मात्रै उद्धार गर्न सकिन्छ, अहिले संसारमा कहीँ पनि उद्धारको प्रविधि छैन, विज्ञता छैन भन्नु गलत हो,’ उनले भने ।
सुरुद्ध उद्धारका लागि संसारमा अत्याधुनिक प्रविधि रहेको र त्यसो ल्याउने पहल नहुने दुखद भएको उनी बताउँछन् ।
‘उद्धार गर्ने प्रक्रिया बाहिर र नेपालमा एउटै हो, तर, प्रविधि र विशेषज्ञताले धेरै फरक पर्छ,’ उनले भने, ‘कुनै उपकरण कसैले हातैले बनाउँछन्, कसैले मेसिनले बनाउँछन्, यहाँ पनि त्यस्तै हो । आधुनिक उपकरण प्रयोग गरियो भने छिटो हुन्छ, पुरानो प्रक्रियाले ढिलो हुन्छ ।’
नेपालमा जुगाड गर्ने हिसाबले उद्धारको काम भइरहेको उनले बताए । ‘प्रधानमन्त्रीले बिलकुल गलत बोल्नुभयो, सुरुङमा कसरी हिलो भरियो भन्ने पो फरक हो त, हिलो भरिएको सुरुङबाट उद्धार गर्ने काम त संसारभरि एउटै हो, त्यो विशेषज्ञता र प्रविधि दुवै संसारमा उपलब्ध छ,’ उनले भने ।
प्रधानमन्त्रीले भनेजस्तो धेरैवटा एक्स्काभेटरले खन्न नमिल्ने अवस्था पनि नरहेको उनले बताए । ‘सुरुङ भित्रको काम गर्न एक्स्क्याभेटर छिराउन सकिँदैन । तर, सुरुङको मुख भेटाउन भने जतिसक्दो धेरै उपकरण प्रयोग गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने ।
नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष सुवासचन्द्र बराल संसारका हरेक इन्जिनियरिङको समाधान रहेको बताउँछन् ।
‘प्रधानमन्त्रीले संसारमै यस्तो विज्ञता छैन, पायक पर्ने बेलामा उद्धार गर्ने भन्ने जुन अभिव्यक्ति दिनुभयो, त्यो बिलकुल गलत र गैरजिम्मेवार अभिव्यक्ति हो,’ उनले भने ।
यसरी अनेक बहानामा उद्धारमा ढिलाई गर्नु पनि अपराध भएको उनको आरोप छ ।

‘उहाँहरुलाई उद्धारबारे जानकारी भएन, तयारी गर्न सक्नुभएन, चुक्नुभयो, अनि दोष अरुमाथि थोपर्दै हुनुहुन्छ,’ उनी भन्छन् ।
बाढी गएको दिनदेखि नै आफूहरुले नेपाल तथा विदेशमा भएका विज्ञता र उपकरणहरु ल्याएर उद्धार थालिहाल्न पहल गरे पनि सरकारले बिल्कुलै नसुनेको आरोप उनले लगाए ।
‘उहाँहरु आफूले जे गरेको छ, त्यो ठीक छ भन्नुहुन्छ, अरुको मद्दत नै माग्नुपर्दैन भन्ने मानसिकता छ । यसरी आफ्नो गल्ती छोप्न गैरजिम्मेवार बन्दा निकै दु:ख लागेको छ,’ उनी भन्छन् ।
प्रधानमन्त्री बालेनले सुरुङमा उद्धार भएन भनेर आलोचना गर्नुभन्दा सरकार र सेना–प्रहरीलाई प्रोत्साहन गर्नुपर्ने पनि बताए । ‘यो काम भएन त्यो काम भएन भन्दा पनि उद्धारमा खटिरहेका उहाँहरुलाई प्रोत्साहन गर्नेतर्फ चाहिँ हाम्रो सम्पूर्ण निकायहरु लाग्नुपर्छ,’ उनले भने ।

यति धेरै जलविद्युत् विकास भएको देशमा बसेर युवा प्रधानमन्त्रीले यस्तो कुरा गर्नु गलत भएको लाङटाङ जलविद्युत् आयोजनाका प्रवर्द्धक विजयमान भट्टराई बताउँछन् । ‘हामीसँग छैन भन्न मिल्यो, हाम्रालागि नयाँ हो, हामीले सिक्यौं भन्न मिल्छ । तर संसारमै यस्तो प्रविधि छैन भन्नु बिलकुलै गलत हो । संसारमा यस्तो प्रविधि पर्याप्त छ,’ उनले भने ।
आज सात–आठ घन्टामा आफ्नो प्राविधिक टोली र सेनाको सहकार्यमा मानिसहरु फसेको ठाउँसम्म पुग्ने गरी पेनस्टक पाइप काटिसकेको उनले बताए ।
यो जलविद्युत् आयोजनामा २५ जना कामदार सुरुङमा फसेको अनुमान छ । ‘अब नेपाली सेना भित्र छिरेर ती मानिसको अवस्था कस्तो छ भनेर बुझ्न सक्ने भएको छ, सायद भोलि दिउँसोसम्म स्थिति पत्ता लाग्छ होला,’ उनले भने ।
प्रतिक्रिया 4