१९ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरको नयाँ सिरिजको ‘एटीआर७२-६००’ जहाजले आज शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ ।
आज बिहान दर्ता नम्बर ‘९एन-एओएस’ जहाजले काठमाडौंदेखि नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको छ । ६६ यात्रुसहित यो जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान गरेको थियो ।
बुद्ध एयरले उक्त जहाज २५ जुलाई २०२६ मा फ्रान्सको टुलुसबाट नेपाल ल्याएको हो । त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रङरोगन सक्न करिब एक महिना लागेको थियो ।
एटीआर७२-६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेको कम्पनीले उल्लेख गरेको छ ।
क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ । जहाजमा आरएनपी-एआर नेभिगेसन प्रणाली समेत जडान गरिएको छ, जसले आवश्यक मापदण्ड र प्रक्रिया अन्तर्गत कम भिजिबिलिटीको अवस्थामा पनि उडान तथा अवतरण थप सहज बनाउँछ ।
यो जहाजमा यात्रु सिट, ओभरहेडबिन पहिलेको सिरिजका जहाजमा भन्दा ठूलो रहेको कम्पनीले जनाएको छ । जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनि प्रदूषण पहिलाको सिरिजभन्दा निकै कम हुने पनि विज्ञप्तिमा छ ।
बुद्धले केही समयभित्र थप एक अर्को एटीआर७२-६०० सिरिजको जहाज भित्र्याउने तयारी गरेको छ । बुद्धसँग १४ वटा एटीआर७२-५०० र १ थान एटीआर७२-६०० जहाज छन् ।
कम्पनीले पछिल्लो पटक दुई थान ‘एटीआर४२-३२०’ जहाज उडानबाट बिदा गरिसकेको छ । त्यसैगरी एउटा एटीआर४२-३२० जहाजको थोरै उडान साइकल हुँदा पार्ट आउटका लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।
हवाई सेवा थप सहज र सरल बनाउने प्रतिबद्धता अनुसार बुद्धले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिका थप सुदृढ बनाउने कम्पनीले जनाएको छ ।
बुद्धले आन्तरिकतर्फ अहिले दैनिक १ सय ४० भन्दा बढी उडान-अवतरण गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी सातामा ३ दिन एवं कोलकाता सातामा ४ दिन उडान गरिरहेको छ । यसैगरी पोखराबाट भैरहवा तथा नेपालगञ्ज उडान पनि गरिरहेको छ ।
प्रतिक्रिया 4