News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले बगाएको नुवाकोट बेत्रावतीको घरभित्र ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि सकुशल भेटिइन् र उनलाई काठमाडौं लगिएको छ।
- चण्डिकाका छोराहरूले कुशको शव बनाएर दाहसंस्कार गरेपछि काजकिरियामा बसेका थिए, तर आमा भेटिएपछि पुरोहितले विधि पुर्याएर फुकुवा गराएका छन्।
- स्थानीयले बाढीले बगाएका घरहरूमा पनि खोजतलास गर्न सरकारसँग माग गरेका छन्, किनकि चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठ अझै बेपत्ता छन्।
२० भदौ, काठमाडौं । दुईवटै छोराहरू (आशिष र अनिश) काठमाडौंमा थिए । नुवाकोटको बेत्रावतीमा बुढेसकाल लागेका बुवा–आमा बस्थे ।
१० भदौमा हजारौंका परिवारजस्तै यो परिवारमा पनि नसोचेको विपत्ति आइलाग्यो ।
भोटेकोशी बाढीले बुवा–आमासहित घर बगायो । ८ दिनसम्म परिवारै मिलेर खोजी पनि गरे ।
अन्तत: नभेटेपछि तीन दिन अघि कुशको शव बनाएर दाहसंस्कार गरियो । गत बिहीबारदेखि दुवै छोराहरू आमा–बुवा फर्कने आशा मारेर काजकिरियामा बसे ।
तर, शनिबार बिहान एकाएक नसोचेको खबर आयो– नुवाकोटको बेत्रावतीमा घरभित्रै एक महिला सकुशल भेटिइन् । त्यो नाम थियो– ६४ वर्षीया चण्डिका श्रेष्ठ ।
किरियाघरमा बसेका छोराहरूलाई पत्याउनै असहज भयो ।
केहीबेरमै लगातार फोन आउन थाले । सबैको खबर थियो– आमा सकुशल भेटिनुभयो ।
चण्डिकाकी भतिजी रिसिका श्रेष्ठका अनुसार, बाढीले बगाएको दिनबाट गणना गरेर आज ११ औँ दिनको काम भइरहेको थियो ।
आमा भेटिएपछि अहिले चण्डिकाको काजकिरिया पुरोहितले विधि पुर्याएर फुकुवा गराएका छन् ।
बेत्रावती लाखे क्लबको अध्यक्ष शशी डंगोलले पनि काजकिरिया फुकुवा गरिएको बताए ।

‘कुशको शव बनाएर संस्कार गरिएको थियो । तर उहाँ (चन्डिका)को सकुशल उद्धार भएको छ,’ उनले भने, ‘भेटिएपछि विधिपूर्वक फुकुवाइएको हो ।’
चण्डिकाका छोराहरूले शनिबार नै किरियाघर छाडेका छन् ।
वडाध्यक्ष डंगोलले बताए अनुसार, चण्डिकाको स्वास्थ्यमा सुधार भएपछि मात्र श्रीमान् आनन्द श्रेष्ठ नभेटिएमा काजकिरिया गर्ने तयारी परिवारको छ ।
‘अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको श्रीमान् नभेटिएमा फेरि काजकिरिया गर्ने भनिएको छ,’ उनले भने, ‘अहिलेलाई फकाइयो ।’
चण्डिकाका श्रीमान् पनि बाढीपछि बेपत्ता छन् । उनीसँग पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
घरसहित बगेकी थिइन् चण्डिका
पुरिएको घरबाट उद्धार गरिएकी चण्डिकालाई बाढीले घरसहित बगाएको थियो ।
स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर बाढीले बगाएर उनको घरभन्दा थप ५० मिटर पर बगाएर पुर्याएको थियो । सोही बगाएको घरबाट उनको उद्धार भएको हो ।
‘बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो । मेरो घर घडीघरसँग जोडिएको छ । आज उद्धार भएको उहाँ (चन्डिका) को घर मेराभन्दा ७० मिटर पछाडि थियो,’ डंगोलले अनलाइनखबरसँग भने, ‘बाढीले बगाएर मेरो घर भएको ठाउँबाट ५० मिटर पर पुर्याएको छ । त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो ।’

विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो ।
‘उहाँको श्रीमान् भेटिनु भएको छैन । अब एक पटक खोजतलास गर्नुपर्ने भयो । भत्किएको घरमा मान्छे जीवितै भेटिन थालेको छ,’ क्लबका अध्यक्ष डंगोलले भने, ‘उहाँलाई हेलिबाट उपचार गर्न काठमाडौं लगिएको छ ।’
बेत्रावतीमा नेवार सुमदायको मात्र २३० बढी घर थिए । कतिलाई बाढीले बगायो भन्ने यकिन विवरण अझै आएको छैन ।
बाढीले बगाएको घरमा ११ दिनपछि पनि मानिस जीवितै भेटिएपछि स्थानीययले सबै घरमा खोजतलास गर्न सरकारसँग माग गरेका छन् ।
‘भोलिबाट बेत्रावतीको प्रत्येक घरमा खोजतलास हुनुपर्यो,’ अध्यक्ष डंगोलले भने । बाढीले बगाएपछि सम्पर्कमा नआएकाको अधिकांशको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरियामा बसेका छन् ।
प्रतिक्रिया 4